© २०२३
यहि असोज १९ गतेदेखि बुटवलमा संचालन हुन लागेको तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको प्रवेशद्धार काठमाडौंको रानी पोखरी मन्दिरको स्वरूपमा निर्माण गरिने भएको छ । राजधानी काठमाडौंमा अवस्थित रानीपोखरी एतिहासिक धरहरासँगै सटेर रहेको छ । आफ्नो माईलो छोरा चक्रवलेन्द्र मल्लको मृत्युमा शोकाकुल रानीलाई खुसी पार्न तत्कालिन राजा प्रताव मल्लले यो मन्दिर इ.सं. १६६२मा निर्माण गर्न लगाएका थिए । राष्ट्रिय सम्पदामा सुचिकृत यो मन्दिर दुईपटक सम्म भूकम्पको चपेटामा परेको छ । वि.सं.१९९० को भूकम्पले यो मन्दिरमा क्षति भएपछि जुद्ध समसेरले अहिलेको संरचनामा पुन निर्माण गरेका थिए । वि.सं. २०७२ को भूकम्पमा क्षतीग्रस्त यो मन्दिर पुुन निर्माणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको एक वर्ष पछि सिलन्यास भएको थियो । यो मन्दिर तिहारको भाई टिकाको दिन मात्र सर्वसाधारणको लागि खुल्ला गरिन्छ ।
काठ, कपडा, वास लगायतका कच्चा पदार्थ पयोग गरी यो मन्दिरको स्वरूपमा प्रवेशार निर्माण शुरु गरिएको मूल आयोजक समितिका सचिवालय व्यवस्थापन समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवलका महासचिव केशव श्रीसले जानकारी दिए । उनका अनुसार २० जना दक्ष कालिगढले एक साता भित्र यो प्रवेशद्वार निर्माण सम्पन्न गर्नेछन । एतिहासिक रानी पोखरी मन्दिरबाट प्रवेश गरी स्टल घुमेर धरहरामा चढ्न सकिने गरी संरचनाहरू तयार गरिएको प्रदर्शनीका संरक्षक एवं संघका निवर्तमान अध्यक्ष खेम श्रीसले जानकारी दिए । स्टल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ भने झण्डै ८२ फूटको धरहरा निर्माणकार्य धमाधम भइरहेको छ ।
परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक प्रविण पाठकले बताए । विभिन्न पेभिलियन गरी ४ सय भन्दा बढि स्टल रहने छ । पूर्व मेचीदेखि पश्चिमका विकट पहाडी जिल्लाहरूबाट समेत स्टल दर्ता गराउन उद्योगी व्यवसायीहरू बुटवल मण्डपमा आएका छन् ।
मेला भित्र प्रवेश गर्दा दशैं तिहार आएको झल्को दिने गरी संरचनाहरू तयार गरिएको मेला प्रचार–प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए । तयारी स्वरूप पत्राचार तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसंग भेटघाट तथा अन्तरक्रियालाई तिव्रता दिइएको छ ।
बिहीवार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेट गरी प्रदर्शनीको तयारी लगायतको सन्दर्भमा जानकारी गराएको संयोजक पाठकले जानकारी दिए । मुख्य मन्त्री पोखरेलले प्रदर्शनीलाई व्यवस्थित रूपमा सम्पन्न गराउन प्रदेश सरकारले गर्न सक्ने सहयोग र सहकार्य गर्ने बताएका थिए । उनले घरेलु तथा साना उद्योगबाट उत्पादित उत्पादनलाई प्राथमिकता दिन सुझाव दिँदै सांस्कृतिक कार्यक्रमलाई मर्यादित बनाउन सुझाव दिएका थिए ।
à