© २०२३
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सुखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी
भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको छ ।
निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताउँदै निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने जनाइएको छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सक्ने छन् ।
मुख्यमन्त्रीद्वारा तीजको शुभकामना व्यक्त
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले हिन्दु नारीहरूको पर्व हरितालिका (तीज) को अवसरमा शुभकामना दिएका छन् ।
पोखरेलले मंगलबार शुभकामना सन्देश दिँदै तीज पर्वले सामाजिक र राजनैतिक जागरण ल्याउन ठूलो भूमिका खेलेको बताएका छन् ।
जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाहरूले गरेको संघर्ष यो अवसरमा स्मरण गर्दछु – शुभकामना सन्देशमा भनिएको छ ।
जनाधिकार कुन्ठित भएको ती कठिन दिनमा महिलाहरूले तीज गीतमार्फत तत्कालीन राज्यव्यवस्था विरुद्ध जनमत बनाउन महत्वपूर्ण भूमिका खेलेको सबैका सामु छर्लङ्ग रहेको भन्दै विगतका तीज पर्वमा गीतमार्फत राजनैतिक जागरण ल्याएर आन्दोलनलाई उत्कर्षमा पु¥याइएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहिले उत्तिकै ध्यान दिन आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निर्माणको अभियानमा सबै जुट्न अपील गर्दछु–मुख्य मन्त्री पोखरेलले भनेका शुभकामना सन्देशमा भनेका छन् । हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व रहेको भन्दै पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत पुग्ने र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेको जनाउँदै समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा एकजुट भई अघि बढ्न म हार्दिक अपिलगर्दछु –भनिएको छ ।