© २०२३
नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत पुग्न थालेका छन् । जिल्ला अदालत दाङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै वितेको नौ दिनको अवधीमा पाँचजना पुरुषले मुद्दा दर्ता गराएको दाङ देउखुरी जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत दाङका तहसिलदार (फैसला कार्यान्वयन अधिकारी) भुपाल भण्डारीका अनुसार भदौ एक गते देखि नौ गतेसम्म जिल्ला अदालत दाङमा नौवटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा दर्ता भएका नौ वटा मुद्दामध्ये पाँचजना पुरुषले महिलासंग र चारजना महिलाले पुरुषसंग सम्वन्ध विच्छेद गरी पाउँ भन्ने बारेमा रहेको भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार विगतका वर्षहरूमा पुरुषहरू सम्वन्ध विच्छेद गर्नका लागि आउँदैनथे । तर नयाँ बनेको मुलुकी ऐनले पुरुषहरूले पनि सम्वन्ध विच्छेद गर्न पाउने बताएपछि आउन थालेको उनको भनाई छ । “विगतका वर्षमा पुरुषहरू सम्बन्ध विच्छेदको मुद्धा लिएर अदालतमा खासै आउदैनथे तर अहिले महिलाभन्दा पुरुषहरू नै सम्बन्ध विच्छेदका लागि आउन थालेका छन्” भण्डारीले भने । दाङ देउखुरी जिल्ला अदालतले दिएको जानकारी अनुसार गत वर्ष साढे ६ सय सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । त्यसमा पनि सवै महिलाहरूले नै मुद्धा दायर गरेका थिए । नयाँ मुलुकी संहिता ऐनको प्रयोग गरेर पहिलो पटक पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद मागेको हुनुपर्ने भण्डारीको तर्क छ ।
जिल्ला अदालत घोराहीमा अहिले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराउने पुरुषको मुद्दा नयाँ र पहिलो बनेको छ । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्वन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने ब्यबस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो । पहिलेको ऐनमा पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा सिधै अदालती प्रकृयामा जान पाउने ब्यबस्था नरहेको जिल्ला अदालत दाङका तहसीलदार भण्डारीको भनाई छ । सम्वन्धविच्छेद गर्न चाहने पुरुषले स्थानीय तहमार्फत सिफारिस लिएरमात्रै सम्बन्ध विच्छेदको लागि अदालतसम्म पुग्ने कानुनी ब्यवस्था रहेको थियो । अहिले श्रीमानको मन्जुरी विना श्रीमती तिन वर्ष बाहिर बस्यो भने श्रीमानले सिधै अदालतमा गएर सम्बन्ध विच्छेद गर्न पाउने ब्यवस्था नयाँ बनेको मुलुकी ऐनले गरेको छ । पहिला पुरुषहरूले चाहेर सम्वन्ध विच्छेद गर्नका लागि केही झन्झटिलो व्यवस्था पहिलाको मुलुकी ऐनमा थियो भन्छन् जिल्ला अदालतका न्यायाधीश हेमन्त रावल । अहिलेको मुलुकी एनेले केही खुकुलो बनाई पुरुषहरूले पनि चाहेमा सम्वन्ध विच्छेद गर्न पाउने भएपछि अहिले महिला भन्दा पुरुषहरू नै बढि आउन थालेको उनको भनाई छ ।
दाङ देउखुरी जिल्ला अदालतमा लेनदेन, जालसाचीको मुद्धा पनि नयाँ ऐन अनुसार दर्ता भएका छन् । नयाँ मुलुकी ऐन लागु भएदेखि अदालतमा परेका मुद्दा संख्या निकै कम रहेको छ । हरेक दिनमा सरदर १२ वटासम्म मुद्दा दर्ता हुने गरेकोमा नयाँ मुलुकी ऐन लागु भएपछि निकै कममात्र मुद्धा दर्ता हुने गरेको जिल्ला अदालत दाङले जनाएको छ ।