© २०२३
बुटवलको मुख्य बजारलाई नमुना र रात्रीकालिन बजार बनाइने भएको छ । अमरपथ, रामन्दिरलाइन र संगम पथलाई पहिलो चरणमा र दोश्रो चरणमा अस्पतालदेखि उत्तर हाटबजारदेखि दक्षिणको बजारलाई रात्रीकालिन बनाउने योजना बुटवल उपमहानगरपालिकाले बनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा समेत रात्रीकालिन बजारलाई प्राथमिकता दिएको छ ।
उपमहानगरपालिकाले नीति कार्यक्रममा सुरक्षा प्रबन्ध सुलभ शौचालय, स्वच्छ पिउने पानी र यातायातको व्यवस्था सहित रात्रीकालिन बजार संचालन व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्यन गर्न पहल गर्ने स्पष्ट उल्लेख गरेको छ । नगरप्रमुख शिवराज सुवेदीले बिकास र सुबिधाको प्रत्याभूति दिलाएर व्यवसायीलाई कर तिरेको पत्तो नै नहुने गरी कर संकलन गर्ने र बुटवललाई नमुना बजार क्षेत्रमा परिणत गर्ने सोच आफनो रहेको बताए । त्यही सोच अनुसार बुटवलका सडकमा सौर्य लाइट र रात्रीकालिन बजारको अवधारणा अघि ल्याएको पनि बताए ।
१० बज्दा नबज्दै बुटवलका होटल बन्द गराउन प्रहरीले दवाव दिने गरेको होटल व्यवसायीहरूले गुनासो गरीरहेको अवस्थामा रात्रीकालिन बजारको अवधारणा आउनु स्वागतयोग्य भएको व्यवसायीहरूले बताएका छन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले बुटवलमा रात्रीकलिन बजारको माग संघले लामो समयदेखि गर्दै आएपनि सुरक्षा तथा अन्य व्यवस्थापनका दृष्टिले सम्भव नभएकोमा उपमहानगरपालिकाले समेत यसलाई अघि सारेपछी सम्भव हुनेमा आशावादी छन् ।
रात्रीकालिन बजारसंगै मुख्य बजार क्षेत्रमा पार्कि· व्यवस्थापनलाई उपमहानगरपालिकाले ध्यान दिनुपर्ने हमाल बताउँछन ।
उपमहानगरपालिकाका वडा नम्वर ४ का अध्यक्ष तथा आर्थिक समितिका संयोजक टंक प्रसाद पराजुलीले बुटवल उद्योग वाणिज्य संघसंग बिस्तृत छलफल तथा भ्यापर लाइट, सौर्य लाइट तथा सडक मर्मत जस्ता पुर्वाधार तयार गरी यसै आर्थिक बर्षको अन्त्यसम्ममा रात्रीकालिन बजार सुरु गर्ने बताए ।
अमरपथको प्रहरी बिटदेखि राममन्दिर, संगम पथ हुदै टाफिक चोक प्रहरी बिटसम्मको क्षेत्रलाई पहिलो चरणमा रात्री बजार सुरु गर्ने प्रारम्भिक खाका बनाएको पराजुलीले बताए ।
उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा अहिलेपनि दिउसोमा ठुला गाडी प्रवेशमा रोक लगाएको छ । मुख्य बजार क्षेत्रमा टाफिक व्यवस्थापनका लागि उपमहानगरपालिकाले वसपार्कको दक्षिण तर्फको खाली ठाउँ वा लुम्विनी अञ्चल अस्पतालको उत्तर पट्टि टहरा भएको स्थानमा अल्पकालिन पार्कि· बनाउने तयारी गरेको छ । सबै सरोकारवालाहरूसंग बृहत्त छलफल र सहमति गरी पार्किगंको समस्या समाधान गर्ने प्रमुख सुबेदीले बताए ।
उनले बुटवलको मुख्य वजारलाई सकेसम्म पैदल हिँडेरै सामान किन्ने नमुना बजार बनाउने त्यो सम्भव नभए उपभोक्ताका साना सवारीलाई मात्र प्रवेश दिएर व्यवस्थित बनाउने बताए ।à