© २०२३
जितपुर, २५ साउन ।
वाणगंगा ४ गजेहडाकी जितमाया थापा सहितका २३ जना महिलाहरू कागजका झोला बनाउन व्यस्त छन् । यी महिलाहरू बिहान १० बजे देखि साँझ ५ बजे सम्म एकै थलोमा बसेर विभिन्न प्रकारका झोला बनाइरहेका छन् । सात दिनदेखि निरन्तर यही काममा लागिरहेका उनीहरूले १ हजार कपडाका झोला, ४ सय एक्स–रे खाम र सानो साइजको ३ सय व्याग बनाईसकेका छन् । उनीहरूले १५ दिनको तालिम लिएर यो काम सुरु गरेका हुन् । विभिन्न साइजको खाम, कार्ड, पेन होल्डर, गहना व्याग, रेकर्ड फाइल र पेय पदार्थ बोक्ने व्याग बनाउने योजना समेत रहेको जितमायाले बताइन् ।
३ वटा समूह बनाएर काम गरिरहेका महिलाहरूले समूहमा काम गर्दा धेरै सजिलो भएको टोली नेता लिला आचार्यले बताइन्। ‘एक्लै काम गर्दा गाह्रो भएपनि समूहमा काम गर्दा कार्यक्षमता बढ्छ उनले भनिन’–‘८ जना महिलाहरूले मिलेर अलग अलग चरणमा काम गर्दै जाँदा अन्ततः झोला तयार हुन्छ ।’
गजेहडाकी पवित्रा गिरीले खुशी व्यक्त गर्दै समुहमा काम गर्दा उत्साहित भएको बताइन् । परिश्रमको मोल पाउनुपर्ने कुरामा जोड दिँदै भनिन्, ‘रोजगार र मेहनत अनुसारको उपलब्धी पाउने आशामा छौं । हामीले गरेको मेहनतले समाजमा सकारात्मक सन्देश दिएर २-४ पैसा आम्दानी हुने गरेको छ ।
बाणगंगा चम्कीपुरकी युवती रोशनी थारुले तालिम पाएर सीप सिक्न पाएकोमा खुशी व्यक्त गरिन् । ‘यो तालिमले जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताइन् । तालिम पाएर उपलब्धी आएको छ, संस्थाको लगानी खेर गएको छैन, संस्था र हामी सवैलाई राम्रो हुन्छ’ उनले भनिन् ।
उनीहरूले बनाएका सामानहरूको बजार व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने माग गरेका छन् ।‘हामीले बनाएको चिजहरू बिक्री गर्न नगरपालिकाले सहयोग गर्नुपर्छ’, रोशनीले भनिन् । महिलाहरूको अनुभवले घरमा बसेर काम गर्न असम्भव भएकोले समूहमा बसेर काम गर्दा धेरै सजिलो भएको बताउँछन् । कागजका झोलाको बजारीकरणमा जुटेका महिलाहरू मेहनतको फल पाउने आशामा छन् ।
महिलाहरूको यो समूह सामाजिक अभियानको हिस्सामा जोडिएको छ । उनीहरूले घरबाट बाहिर निस्केर काम गर्दा उत्साहित हुँदै आयआर्जन हुनेमा विश्वस्त छन् । हामीलाई संस्थाले सहयोग गरेझै अन्य निकाय पनि आएर हौसला दिनुपर्छ, पवित्रा गिरीले भनिन् । उनीहरूको मुख्य चिन्ता मेहनत अनुसारको पैसा नपाइने होकी भन्ने छ । पानी खान जाँदा वा अन्य काममा जादा पनि काम छुट्छ कि भन्ने डर सहभागीहरूको मनमा छ । महिलाहरूले कागजको झोलाको बजार खोज्न आवश्यक रहेको बताए । हामीले जति पनि काम गर्छौ, बजार पाउनुपर्छ, उनीहरूले आफ्नो लगानी लगाएर पनि काम गर्न सक्ने उत्साह देखाएका छन् ।
‘हामी एक दुई महिना संस्थालाई सहयोग गर्न तयार छौं’,’ गिरीले अन्त्यमा भनिन् । यिनीहरूको मेहनत र समर्पणको प्रतिबद्दता, हरेक मेहनती मानिसका लागि प्रेरणाको स्रोत बन्न सक्छ। यस कार्यले उनीहरूलाई आत्मनिर्भर र उधमी बनाएको छ र आर्थिक रूपमा सबल बनाउन मद्दत पु¥याएको देखिन्छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक उद्यमशीलताको अवधारणालाई अघि बढाउँदै कागजको झोला उत्पादनको काम सुरु गरेको छ । संस्थाले विभिन्न क्षेत्रको अध्ययन र अवलोकनपछि कागजको झोलाको प्रयोगले वातावरण संरक्षणमा टेवा पु¥याउने विश्वासका साथ यो अभियान थालेको हो ।
संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीले सामाजिक उद्यमशीलता सामाजिक अभियानको महत्वपूर्ण हिस्सा भएको बताउँदै यो कार्यमा सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । ‘स्थानीयस्तरमा महिलाहरूलाई उद्यमशीलतामा जोडेर, स्वरोजगार बनाउँदै आर्थिक उपार्जनमा सक्रिय बनाउने हाम्रो उद्देश्य हो’, अध्यक्ष शाहीले भनिन् ।
वाणगंगा नगरले आगामी दिनमा नगरपालिकालाई प्लास्टिक मुक्त नगर घोषणा गर्न यो अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । स्थानीय सरकारले यस अभियानलाई साथ दिनुपर्छ, जसले गर्दा हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, उनले भनिन् । ‘सामाजिक उद्यमशीलता मार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने र वातावरण संरक्षणमा योगदान पु¥याउने यो पहलले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।