© २०२३
बुटवल, २८ पुस ।
वातावरण चिसो हुनुका साथै वायू प्रदुषण हुँदा मानिसमा स्वस्थ्य समस्या बढेको छ । हाम्रो वरपर पूर्वाधार निर्माण, सवारी साधनबाट निस्कने प्रदुषण मिसिएका वायूमा मसिना कणहरु भएको र यसले मौसममा प्रभाव पार्ने हँुदा यसबाट जोगिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल श्वाश्वप्रश्वासका बिरामीहरु बढेको बताउँछन् । ‘बालबालिका र वृद्धवृद्धाहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ’—उनले भने ।
मौसम पूर्वानुमान गर्ने विभिन्न साईडहरुमा हावाको गुणस्तर ईण्डेक्सले बुटवल क्षेत्रको खराव अवस्था देखाएको छ । सामान्यतया मानिसले लिने हावाको मापदण्ड १९ एयर क्वालिटी ईन्डेक्स (एक्युआई) लाई उत्कृष्ट मानिने चिकित्सक बताउँछन् । अहिले एक्युवेदर (मौसम पूर्वानुमान गर्ने अनलाईन एप) मा बुटवल आसपासको हावाको प्रदुषण मापन २५१ एक्युआई देखाएको छ । यो आम मानिसका लागि घातक हो । यही हावाको गुणस्तर ईन्डेक्समा १९८ एक्युआईसम्म भए धेरै अस्वस्थकर, ४४ भए सामान्य र १९ सम्मलाई उत्कृष्ट मानिन्छ । जनघनत्वसंगै सवारी साधनको संख्या वृद्धि, निर्माण कार्यहरुका कारण वातावरण प्रदुषण हुने क्रम बढेको डा. पोखरेल बताउँछन् ।
हावामा रहेका २.५ माइक्रोमिटरभन्दा कम व्यास भएका प्रदूषक कणहरु (फाइन पार्टीक्युलेट म्याटर) मानिसको फोक्सो र रक्तप्रवाहमा प्रवेश गरेर गम्भीर स्वास्थ्य समस्याहरु निम्त्याउन सक्ने उनले बताए । ‘यसले सबैभन्दा गम्भीर असर फोक्सो र मुटुमा पर्छ’—उनले भने । खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने, दम बढेको र दीर्घकालीन श्वासप्रश्वास रोगको समस्या उत्पन्न गर्ने उनको दाबी छ । बुटवलमा चिसोसंगै घ्यारघ्यार हुने, रुघाखोकी लाग्नेजस्ता श्वासप्रश्वासका समस्या भएका बिरामी अस्पतालमा बढेका छन् । यस्तो समयमा सकेसम्म घरबाहिर ननिस्कनु उपयुक्त हुने उनी बताउँछन् ।
कोरोना भाईरस सामान्यतया हावाबाट संक्रमितबाट अर्कोमा सहजै सर्ने भएपनि अन्य रोगका भाईरस भने संक्रमितहरुसंग २० मिनेट बढी समय सँगै सम्पर्कमा बस्दा सर्ने गर्दछ । प्रदर्शनी, नयाँ वर्षको मेलाहरु, जहाँ भिडभाड हुन्छ त्यो ठाउँमा जानेहरुमा बढी रोग सरेको भेटिएको उनले बताए ।
जाडोमा कोल्ड डाईरियाको भाईरसका कारण बिरामी भएर उपचारमा आएको उनले बताए । धुलो उडेका भिडभाडमा राखिएको खानाहरु, फुल्की, चटपटे जस्ता खान्कीले रोटाभाईरस सर्ने र उल्टी हुने, ज्वरो आउने, झाडाबान्ताको समस्याहरु देखिएको उनले बताए । अघिल्लो वर्षभन्दा बिरामीको चाप बढेको उनले बताए । यो वर्ष दम बल्झने, रुघाखोकी जस्ता श्वासप्रश्वासको समस्या बालबालिका र वृद्धबृद्धाहरुमा बढी देखिएको उनी बताउँछन् ।
निमार्णजन्यस्थल वातावरणमैत्री बनाउन सके जोखिम न्युनीकरण हुने देखिन्छ । यसैगरी वातावरणको विषयमा मापदण्ड पूरा नगर्ने निर्माण ब्यवसायीहरुलाई ठेक्का नदिने जस्ता कडा कानुन ल्याउनुपर्ने हुन्छ । विकासको नाममा विनास हुने प्रवृत्तिलाई रोक्न जरुरी रहेको छ ।
स्वस्थ्य सावधानी अपनाउन सुझाव
-अनिवार्य स्वस्थ्य सामग्रीको प्रयोग गरौं
–अहिलेको वातावरणमा बाहिर कम निस्कने, निस्कन पर्ने अनिवार्य भए अनिवार्य स्वस्थ्य सुरक्षा सामग्री प्रयोग गर्ने । विशेष गरी मास्क लगाउने, न्यानो भएर मात्र हिंड्नुपर्छ ।
–तातो र झोलिलो खाना खाने गरौ ।
–शरीरलाई तातो बनाउने र खानामा झोलिलो बढी प्रयोग गर्नुपर्दछ ।
–उर्जा खपत हुने सवारी साधन कम चलाउने
–सम्भव भएसम्म कम हिंड्ने, साइकल चलाउने वा सार्वजनिक यातायात छनौट गर्ने । उत्सर्जन कम गर्न विद्युतीय वा हाइब्रिड सवारी साधनहरू प्रयोग गर्ने
फोहोर व्यवस्थापनमा जोड
उत्पादन भइरहेको फोहोरको मात्रा सीमित गर्ने, पुनः प्रयोगमा जोड, ब्याट्रीहरू र इलेक्ट्रोनिक फोहोरहरू जस्ता खतरनाक सामग्रीहरूलाई उचित रूपमा विसर्जन गर्ने, ल्यान्डफिल्ड गर्दा वायु प्रदूषित हुनबाट जोगाउने ।
सचेतना, जागरुकता र कारबाही गर्ने
वायु प्रदूषणको कारण र प्रभावहरु बारे आफू र अरूलाई शिक्षित बनाउने, वायु प्रदूषण विरुद्ध लड्न र बलियो नियमहरुको वकालत गर्न काम गर्ने संस्थाहरुलाई समर्थन गर्ने ।