© २०२३
हत्या र बलात्कारका अभियुक्त रामबहादुर बम्जम प्रहरी हिरासतमा परेसँगै उनीबाट करोडौँ रकम बरामद भएको खबर पनि छ । यस्तो रकमको कुनै बैधानिक स्रोत पनि छैन । यतिमात्र होइन, उनीबाट काठमाडौंमा घर, करोड पर्ने गाडी र अन्य सवारीसाधनहरू पनि पाइएको छ । तपस्वी भनिने एक साधकसँग कसरी यति धेरै सम्पत्ति रह्यो ? यति धेरै सम्पत्ति थुपार्ने मान्छेलाई कसरी तपस्वी भन्न सकिएला ? यावत प्रश्नहरू छन् ।
यो घटना नेपाली समाजमा धार्मिक आवरणमा हुने स्वार्थनिहीत कार्यहरूको एक प्रतिनिधि घटना मात्र हो । खास गरी नेपाल र भारतमा खुलासा भएका र कतिपय अझै रहस्यमा रहेका तपस्वी, साधक, योगी, गुरु वा यस्तै अन्य आवरणमा रहेका व्यक्तिहरूका विषयमा यस्ता घटनाहरू धेरै छन् । यस्ता आवरण बोकेका व्यक्तिहरूबाटैै मानिसको आस्थामाथि चोट पनि पुगिरहेको छ । त्यसैले अब हाम्रो समाज र खास गरी मिडिया यस्ता प्रवृत्तिहरूबाट सचेत हुनु आवश्यक छ ।
को हुन् बम्जम ?
रामबहादुर बम्जन वीरबहादुर बम्जन र मायादेवी तामाङको सन्तान हुन् । उनी सामान्य परिवारका थिए । उनले कक्षा दुईसम्म स्थानीय विद्यालयमा पढेका थिए भने त्यसपछि दुई वर्ष देहरादुनमा गुम्बामा अध्ययन गरेका थिए । बारा जिल्लाको एकान्त बनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बम्जनले वि.संं २०६१ सालमा एकाएक चर्चाको विषय बन्न पुगेका थिए । १४ वर्षको उमेर बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । सेतो रङको पातलो कपडा लगाएका उनी ध्यानमा लीन थिए । सो अवस्थाको उनको त्यो तस्वीरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यान केन्द्रित गर्न सफल भएको थियो ।
वि.सं २०६२ फागुन २७ का दिन उनी एकाएक हराएका थिए । बम्जनले आफू ६ वर्षमा फर्कने आश्वासन दिएका थिए तर, वि.सं २०६४ को साउनमा काठमाडौबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको नेपालको हलोरी जङ्गलमा अनुयायीहरूको एक विशाल भीडलाई सम्बोधन गर्ने क्रममा पुनः देखा परेका थिए ।
सञ्चार माध्यमले जब पहिलो पल्ट ‘लिटिल बुद्ध’ को पगरीसहित राम बहादुर बम्जमलाई प्रकासित ग¥यो, तब साराको ध्यान उनीमाथि तानियो । निराहार ध्यान गरेको, ध्यान गर्न पीपलको रुखमुनि बसेको, आमाको नाम पनि मायादेवी भएको, गर्भमा हुँदा आमालाई माछामासु खान मन नलागेको, जस्ता अनेक तत्थ्यहरूको हवाला दिँदै समर्थकहरूले बम्जमलाई बुद्धको सङ्घ्या दिएका थिए ।
उनको दर्शन गर्न कोशौँबाट मानिसहरू आउन थाले । उनको ख्याती देश विदेशसम्म फैलदै गयो । व्यापारी, उद्योगी, समाजसेवी तथा केही राजनैतिकज्ञहरू समेत उनीबाट प्रभावित भए ।
सुरुका दिनहरूमा उनलाई ‘लिटिल बुद्ध’ उपनामले चिनिन थालिए पनि उनले पछि आएर आफू बुद्ध नभएको स्वयम् स्विकारेका छन् । पछिल्लो समय उनले ‘बोधी श्रवण धर्म’को स्थापना गरेर आफूलाई तपस्वी बम्जमको रुपमा परिचित गराएका थिए ।
बम्जमका असमान्य क्रियाकलाप
बम्जमको कतिपय क्रियाकलापहरू रहस्यमयी छन् । निराहार तपस्या गरेको भनिने उनी बेलाबेला तपस्यास्थलबाट गायब हुन्थे । तर, कहाँ जान्थे उनी र उनका नजिकका समर्थकबाहेक अरुलाई थाहा छ्रैन । गडीमाईको बली रोक्ने दाबी गरेका उनले आफ्नो क्षमताले नसकेको भनी एक महिलासँग आफूलाई बास दिन अनुरोध गर्छन् । लामो समयसम्म बसेपश्चात् उनैसँग बिहे गर्ने पनि भन्छन् । तर, बिहे गर्दैनन् । पछि आश्रममा ती महिला पुग्छिन् तर, त्यहीँबाट गायब हुन्छन् । बम्जम आफूलाई तपस्वी मान्छन् र धर्मको प्रणेता पनि ठान्छन् तर, सुटुक्क विहे पनि गर्न भ्याउँछन् । यहाँसम्म कि अहिले उनका सन्तान पनि भइसकेका छन् । घर, सम्पत्ति जोड्दै गरेको, गृहस्थी जीवन पनि विताउँदै गरेको र यौनप्रति आकृष्ट व्यक्ति कसरी बुद्ध बन्न सक्छ ?
लिटिल बुद्ध र बम्जमको भ्रामक आवरण
हाम्रो समाज कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने प्रवृत्तिको छ । कागको पछि दुगुनुभन्दा अगाडि आफ्नो कान छाम्नुपर्ने कुरासमेत विर्सन्छ समाजले । यही कारणले केही मानिसहरू भ्रममा पर्दछन् । बम्जम आफूले पाएको ज्ञान गौतम बुद्धले पाएको ज्ञानभन्दा बढी भएको दाबी गरेका थिए । एक कार्यक्रममा उनले भनेका थिए ‘धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गर्ने एउटा अदृश्य सत्यतथ्य तत्व हो । धर्म ज्योति हो जुन सर्वप्रकाशवान महातेज छ।’ उनको खास दर्शन छैन । शिक्षा पनि नयाँ छैन ।
बिना भोजन लामो समय ध्यानमा बसेकै आधारमा बम्जमलाई ‘लिटिल बुद्ध’ भनी चिनाउने काम मिडियाले ग-यो । जबकि यसलाई बुद्धले दुश्करचर्या मानेका छन् र यसबाट बोधी लाभ नहुने पनि ज्ञान हासिल गरे । बम्जमकोे आमाको नाम पनि माया नै भएको भन्दै गौतम बुद्धसँग जोड्न खोज्नु, अवतार भन्नु र ‘लिटिल बुद्ध’ भनी प्रस्तुत गर्नुले नेपाली संचार क्षेत्र बुद्ध र बौद्ध दर्शनबारे कुन हदसम्म अनभिज्ञ रहेछ भन्ने कुरा प्रष्ट पार्दछ । साथै त्यसैको पछि लाग्नेहरूको बौद्धिकताको उजागर गर्दछ ।
सिद्धार्थ गोतमले निरराहार बसेर दुश्चकरचर्याबाट ध्यानमा बस्दा बोधी लाभ नहुने कुरा अनुभवबाट ज्ञान पाए । यसबाट शरीरलाई कष्ट मात्र हुने कुराको बोध भयो । त्यसैले उनले मध्यमार्गी धार अपनाएर सुजाताको खीर दानलाई सहज स्विकारे । सोही खीर खाएर बुद्धत्व प्राप्त नगरेसम्म ध्यानबाट नहट्ने प्रण पनि गरे । परिणामतः सोही रात उहाँलाई बुद्धत्व लाभ भयो । सिद्धार्थ बुद्ध बन्नुभयो । अर्काेतिर बुद्धले अनुचित र असफल ठानेको दुश्करचर्या अर्थात् निराहार बसी ध्यान गरेर बुद्ध बनेको दावी बम्जन र उनका समर्थकले गरे । निराहार बसेर ध्यान गर्दैमा प्रज्ञा लाभ हुने होइन । बोधी लाभ हुने होइन । त्यसैले ध्यानबाट ज्ञान प्राप्त भएको भन्ने बम्जमको कुरा खोक्रो आवरण मात्र ठान्न सकिन्छ ।
बुद्ध जस्तोसुकै वाधकलाई पनि साधक बनाउनु हुन्थ्यो । उहाँमा त्यो प्रज्ञा र क्षमता थियो । अंगुलिमाल जस्तो हिंशकलाई पनि बुद्धले आफूलाई मार्न आउँदा प्रज्ञाको आभाले सत्मार्गमा हिड्न सिकाउनु भयो । हतियारको बाटो रोज्नेलाई ज्ञान र ध्यानको बाटो देखाउने क्षमता बुद्धमा थियो । जबकि बम्जमले स्थानीयले तपस्यामा बाधा पु¥याएको हुँदा उनीहरूलाई दण्डित गरिएको भनी स्थानीयलाई कुटपिट गरिएको घटना बाहिर आएको थियो । एक पटक बम्जम एक्लै जङ्गलमा फेला पर्दा उनीसँग तरवार पनि भेटियो । पत्रकारहरूलाई उनले त्यो हतियार आफ्नो सुरक्षाको लागि राखेको बताएका थिए । तर बुद्धले हतियारको विरोध गर्नुभएको थियो । उहाँले कहिले पनि हतियार उठाउनु भएन । अरुलाई पनि उठाउन हतोत्साहित गर्नुभयो ।
सिद्धार्थ आफ्नो सारा श्रीसम्पत्ति वैभव, राजकाज र आफन्त त्याग गरेर सन्यासी भएका थिए । तर बमजमलाई प्रहरीले समात्दा उनीबाट करोडौं बरामद भएको थियो । तपस्वी भएपछि बमजमले दीपशिखा नाम गरेकी केटीसँग विवाह गरेका थिए । काठमाडौँमा घर खरिद गरी पारिवारिक जीवन पनि व्यतीत गरेका थिए । यसरी सांसारिक मोहमा रमाउने मान्छे कहिले पनि बुद्ध बन्न सक्दैन । बुद्ध धर्ममा तृष्णालाई दुःखको मूल कारण मानिएको छ । धन, दौलत, घर, परिवार, यौन जस्ता कुराहरूको तृष्णाले वम्जमलाई आम मानिसको चौघेराबाट माथि उठाउन सकेन । बरु अनैतिक र गैरकानुनी कार्य गरेकाले निकृष्ट व्यक्तिको रपमा उभ्याइदियो ।
बुद्धमा महाकरुणा थियो । संसारको उद्दारको लागि सुमेध ऋषी बोधिसत्व सिद्धार्थको रुपमा जन्म लिनु भयो । दिपंकर बुद्धबाट सुमेधलाई ‘बुद्ध बन्नेछौ’ भनी पूर्व घोषणा गरिएको थियो । सारनाथमा बुद्धत्व प्राप्त गरेपश्चात् बुद्धले पञ्चवर्गीय भिक्षुलाई धर्मचक्र पर्वतन गर्नु भयो । भिक्षुहरूलाई सबै एकलाएक्लै धर्म प्रचारको लागि आम मान्छेसम्म पुग्ने अभियान पनि चलाउनु भयो । त्यसैले बुद्धले सम्पूर्ण मानवजातीको कल्याण चाहनु भयो । साथै बुद्धले बौद्ध शिक्षालाई धर्म भन्नु भएन र आफूलाई धर्म प्रवर्तक पनि ठान्नु भएन । बरु आफ्ना शिक्षाहरूलाई एक पटक आफै जाँच्नु पर्ने र ठीक भएमा मात्र त्यसलाई स्विकार गर्नुपर्ने कुरा बताउनु भयो ।
बम्जमले आफूलाई ‘बोधी श्रवण धर्म’को संस्थापक घोषणा गरेका थिए । यहाँ सम्मकि बौद्ध मार्गीहरूलाई पनि बुद्ध धर्म त्यागेर आफ्नो धर्ममा आउन उत्प्रेरित गरेका थिए ।
बौद्ध धर्ममा अब आउने बुद्धको पनि चर्चा गरिएको छ । अबका बुद्ध मैत्रेय बुद्ध हुन् । उनी मित्रको रुपमा व्यवहार गर्दै आउने कुरा बौद्ध साहित्यमा उल्लेख छ । जब बुद्ध शिक्षा ओझेलमा पर्छ, हराएर जान्छ र बुद्ध शासन खतम हुन्छ । अर्थात् सिद्धार्थ गौतम बुद्धको समयको ४००० वर्षपछि मैत्रेय बुद्ध आउने कुरा उल्लेख गरिएको छ । त्यसैले मैत्रेय बुद्ध आउने समय पनि भैसकेको छैन । त्यसैले पनि लिटिल बुद्धको अवधारणा गलत छ । बम्जम बुद्ध होइनन् । बरु धर्मको आवरणमा पद, पैसा, पावर प्राप्त गरी भित्रभित्रै वदमासी र कानुन विपरीतका कामहरू गर्ने एक भ्रामक हुन् ।
चार आर्य सत्य, दुःख निरोधको आर्यअष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पाद जस्तो वैज्ञानिक शिक्षा दिएर मानव जगतलाई दुःख मुक्तिको मार्ग बताउनु भयो बुद्धले । अनित्य, अनात्म र दुःखको सिद्धान्त जस्तो जीवन दर्शन बुद्धले नै दिनु भयो । समग्रमा बुद्धको शिक्षा मध्यमार्गी, सरल र मानव कल्याणमा आधारित छ । यस्तो महान दार्शनिक, महामानव एवम् युगु पुरुषका अघि समकालिक चिन्तक एवम् दार्शनिकहरू पनि ओझेलमा परेका थिए । यस सन्दर्भमा केही समय पीपलको रुखमुनि ध्यानमग्न देखिँदैमा बम्जमलाई ‘लिटिल बुद्ध’को पगरी भिडाउने, तपस्वीको सङ्घ्या दिने र ‘बोधी श्रवण धर्म’का पर्वतक मान्ने नेपाली समाज र खास गरी नेपाली मिडिया मात्र नभएर अन्तर्राष्ट्रिय मिडियाहरू पनि बौद्ध शिक्षाबारे सेचत हुनु पर्ने देखिन्छ ।