© २०२३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत अहिले विदेश भ्रमणमा हुनुहुन्छ । विदेश भ्रमणका क्रममा दुवैजनाले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्वोधन गर्नुभएको छ । सम्वोधनका क्रममा नेपालको उही पुरानै ‘भीख माग्ने’ प्रवृत्ति उहाँहरूले पनि दोहो¥याउनु भएको छ । प्रधानमन्त्री होस वा मन्त्री विदेश भ्रमणमा गएपछि सुरु हुन्छ– विदेशीका अगाडि हात फैलाउने प्रवृत्ति । बर्षौदेखि चलिआएको हात फैलाउने प्रवृत्ति अहिले झनै बढेको छ ।
प्रधानमन्त्रीले त नेपाल आर्थिकरूपमा कमजोर रहेकोले सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ निकायको ध्यानाकर्षण गर्नुभयो । उहाँले नेपालमा लगानीको आह्वान पनि गर्नुभयो । उता अर्थमन्त्रीले पनि उही पारा देखाउनु भयो– जसरी हुन्छ नेपाललाई भिखारीतुल्य देखाएर सहयोग ल्याउने । के अव नेपालले केही गर्नु नपर्ने हो ? सत्तामा बसिरहेकाहरूले विदेशीसंग मागेर ल्याएको सहयोगले मात्रै मुलुक चल्छ ? के नेपाललाई आत्मनिर्भर बनाउनु पर्दैन ? पर्छ भने अव भीख माग्ने होइन, आफ्नै पौरख देखाएर नेपाललाई आत्मनिर्भर बनाउने हो । त्यसको लागि सत्तामा रहेकाहरूले नेतृत्व गर्ने र जनतालाई उत्साहित बनाउने हो । अव गर्ने यही हो । नेपाल र नेपालीलाई सधैको मगन्ते बनाउने प्रवत्ति हटाउ ।
बैदेशिक सहयोग नआएपनि मुलुकलाई आत्मनिर्भर बनाउन सक्छौं भन्ने दह्रो इच्छाशक्ति अव देखाउने बेला आएको छ । त्यसतर्फ नेपालका राजनेताहरूको ध्यान जान्छ कि ? होइन भने नेपाललाई भिख मागेर चलाउने यही प्रवृत्ति रहिरह्यो भने मुलुक कहिल्यै अघि बढ्नेछैन । जब संकट पर्छ तव एउटा निकास पनि निस्कन्छ । हो अव नेपालले संकटबाट पार पाउन केही न केही गर्नुपर्नेछ । त्यसको लागि सवैभन्दा पहिला मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ प्रयास होस् । त्यसको नेतृत्व नेताहरूले गरुन । जनताले पौरख गरेर आफै बाँच्न सक्षम हुनेछन् । बैदेशिक सहायताकै कुरा गर्दा चालु आर्थिक वर्षको भदौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । त्यसैपनि पछिल्ला वर्षहरूमा नेपालमा व्यावसायिक लगानीको अवस्था गत वर्षहरूभन्दा थप खराब बन्दै गएको देखिएको छ । विश्व बैंकको रिपोर्टमा नेपालमा लगानीयोग्य व्यावसायिक वातावरणको अभाव उल्लेख गरिएको छ ।
विश्ववैंकको यो प्रतिवेदनले खस्कँदो नेपालको अवस्थाले आन्तरिक र बाह्य दुबैथरी लगानीकर्ताहरूलाई निराश र हतोत्साही बनाएको छ । एकातिर प्रधानमन्त्री विदेश सयरमा लगानीको आग्रह गरिरहने अर्कोतीर लगानीको वातावरण नै नभएको रिपोर्ट आईरहनुले नेपालको कुटनीति कति अपरिपक्व छ भन्ने स्पष्ट हुन्छ । नेपालमा व्यवसाय शुरु गर्ने वातावरण, निर्माण अनुमति सम्झौता, विद्युत् उपलब्धता, सम्पत्ति दर्ता प्रक्रिया, साना लगानीकर्ताहरूको सुरक्षा, कर भुक्तानी, सीमापार व्यवसाय गर्ने अवस्था, व्यवसाय सम्बद्ध कानुन र ऐननियम मिलाउनै वर्षौं लाग्छ । यो हिसावले नेपालमा लगानीको वातावरण बिगार्ने काम भैरहेको छ । मुलुकले खुला बजार अर्थतन्त्रको नारा दिईरहेको छ । जबकी एउटा उद्योग वा कम्पनी दर्ता गर्न नेपालमा महिनौ के बर्ष दिन लाग्छ । अनि विदेशमा गएर दाता गुहार्नुको औचित्य के ? पहिला देशमै थिती बसाल अनि विदेशमा गएर गुहार गर्नुको औचित्य होला । अहिलेसम्म देश विदेशको सहयोगबाट चल्छ भन्ने भ्रम पालेर बसियो । त्यो क्रम अहिलेपनि यथावत छ । अव नेपाललाई आत्मनिर्भर बनाउने हो भने विदेशको धन होइन, श्रम गर्ने बानी बसालौं । आफ्नै पाखुरीको पौरख देखाउने बेला आएको छ । देशको आर्थिक अवस्था कमजोर भयो भन्दै दाता गुहार्ने प्रवृत्ति अन्त्य होस् । यसमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरोस् । अव भीख माग्ने होइन, पौरख देखाउने बेला आएको छ ।