© २०२३
बुटवल, ३ असोज । विभिन्न कारणले मृगौलामा समस्या आएर डाईलाईसीस गर्ने विरामीहरूको संख्या प्रत्येक बर्ष थपिदै गएको पाइएको छ । लुम्बिनी प्रदेशमा मृगौला समस्या समस्या भएका विरामीहरूको संख्या प्रत्येक बर्ष २ हजार देखि २ हजार ५ सयको दरले बृद्धि हुदै जाँदा मृगौला सम्बन्धी समस्या एउटा जटिल सामाजिक समस्याको रूपमा समेत देखिने आंकलन गर्न थालिएको छ ।
लुम्बिनी प्रदेशमा मृगौला तथा मुटुको समस्या भएक विरामीहरूको पक्षमा काम गर्दै आएको मृगौला तथा मुटुपिडीत सरोकार समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रमेश केसीका अनुसार मृगौलाको समस्या लिएर आउने विरामीहरूको संख्या बढ्दै गएको छ । सोही अनुसार डाईलाईसीस गर्ने विरामीहरूको समेत संख्या बढ्दै गएको हो । लुम्बिनी प्रदेशमा १० स्थानमा मृगौलाको डाईलाईसीस हुदै आएको छ । सरकारले यसको लागि निःशुल्क व्यवस्था गरेको छ ।तर औषधी भने विरामीले किन्नुपर्दछ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, क्रिमसन अस्पताल, सिद्धबाबा अस्पताल, सिद्धार्थनगर सिटी अस्पाल भैरहवा, युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवा, दाङ जिल्ला अस्पताल, घोराही अस्पताल, कोहलपुर मेडिकल कलेज मा मृगौलाको डाईलाईसीस हुदै आएको छ । मृगौला तथा मुटु पिडीत सरोकार समाज नेपालका उपाध्यक्ष कृष्ण मल्लका अनुसार डाईलाईसीस सेवा सरकारले निःशुल्क गरे पनि विरामीको अवस्था अनुसार रगतको मात्रा बढाउने औषधी महिनामा ४ वटा प्रयोग गर्नुपर्ने हुन्छ । सिरिन्जबाट दिने औषधी विरामीले बाहिर किन्नु पर्दा १२ सय रूपैयाा लाग्ने गर्दछ । महिनामा ४ पटक अनिवार्य रूपमा डाईलाईसीस गराउनुपर्ने हुन्छ ।
सबै अस्पतालमा बिमा सुविधा लागू नगरिएको कारण मृगौला पिडीत विरामीहरू थप पिडामा रहेको सरोकार समाजका उपाध्यक्ष मल्लको भनाई रहेको छ । उनी भन्छन्–‘बिमा लागू गरिएको अस्पतालमा पनि मृगोलाका विरामीलाई कुनै पनि सुविधा छैन, लामो लाईन बसेर सेवा लिनुपर्ने बाध्ययता छ ।’
सरोकार सामाजका अध्यक्ष रमेश केसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै स्वाथ्य विमा लागू गरिएको छ । विरामीले विमा गरेका हुन्छन् । तर विमा बापत निःशुल्क पाउनुपर्ने औषधको रूपमा रहेको मृगौलाका पिडीत विरामीले प्रयोग गर्ने औषधी समेत लुम्बिनी प्रादेशिक अस्पताल उपलब्ध गराउन आनाकानी गर्दै आएको छ । ‘विरामीलाई ४ वटा सम्म आवश्यक परेको हुन्छ जम्मा एउटा पनि मुस्कीलले दिन्छन्, अरू बाहिर किन्नुपर्ने बाध्याता रहेको छ ।’ उनी भन्छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल उपलब्ध गराउने र बाहिर किन्ने औषधी उही भएपनि औषधीको मुल्य प्रादेशिक अस्पतालमा बढि रहेको पाइएको हो । बाहिर अर्थात विमा बाहेक औषधी खरिद गर्दा १२ सय रूपैयाँ पर्ने उक्त रिसीन्ज औषधीको मुल्य बिमा बापत उपचार गर्दा २ हजार लिने गरेको पाइएको सरोकार समाजका अध्यक्ष केसीको भनाई रहेको छ । मृगौलाका विरामीहरूको लागि छुट्टै व्यवस्था गर्नुपर्नेै माग उनको रहेको छ ।
राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क अनुसार नेपालमा २६ लाख मानिसमा मृगौलाको समस्या रहेको छ । ती मध्य दुई लाख ६० हजारमा गम्भीर समस्या रहेको तथा २६ हजारको मृगौला बिग्रिएको केन्द्रले जनाएको छ । मृगौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मानिसको शरीरमा मृगौलाले एक फिल्टरको काम गर्छ । रगतमा भएको रेनल फङसन, सोडियम, पोटासियम, युरिया र क्रियटिनाईन समय समयमा जाँच गर्नाले मृगौला रोगबाट हामी टाढा रहनसक्छौं ।
मृगौला रोगबाट कसरी बच्ने ?
१) प्रशस्त पानी पिउने
नियमित रूपमा प्रशस्त पानी नपिउनाले सबैभन्दा पहिलो खराब प्रभाव मृगोलामा पर्छ । पानीको अभावले मृगौलाले रगत सफा गरेर अनावश्यक फोहोर शरीरबाट फ्याँक्न गाह्रो गर्छ जसको परिणाम शरीरमा विषाक्त तत्व जम्मा भई स्वास्थ्य बिर्गाने काम गर्दछ ।
२) नुनको कम प्रयोग
अत्यधिक नुनको प्रयोगले रक्त्तचाप वढाउनुका साथै मृगौलामा नराम्रो दबाब पार्छ। दिनमा ५ ग्राम भन्दा वढी नुनको प्योग स्वास्थ्यको लागि हानिकारक सावित भएको छ ।
३) धुम्रपान र मदिरा त्याग्ने
धुम्रपान र धेरै जाँड रक्सी सेवनले मृगौलामा थप नकारात्मक असर पार्छ । कुलतको बाटो छाडी स्वस्थ रहन सिकौं ।
४) मासुको बढी प्रयोग
नियमित रूपमा बढी मासु खाने व्यक्तिको मृगौलामा नराम्रो असर पर्छ । अत्यधिक मासुको प्रयोगले थप अन्य रोगहरू निम्त्याउने गर्दछ ।
५) चिया कफीको वढी सेवन
चिया कफीले शरीरमा क्याफिनको मात्रा वढाउँछ जसले मृगौलालाई भार पर्छ । यस्ता पेय पदार्थको कम सेवन गर्ने बानी बसाल्नु नै मृगौलालाई स्वस्थ राख्नु हो ।
यसैगरी जथाभावी आर्यूवेद वा एलोपेथिक औषधी, पेनकिलरको प्रयोग नगर्ने र दैनिक ब्यायाम गर्नु नै स्वस्थ र निरोगी जीवन बिताउने सुत्र हो ।
मधुमेह र उच्च रक्त्तचाप भएका बिरामीको लागि मृगौलाको रोग सबैभन्दा ठूलो शत्रु हो । मनलाई शान्त र आनन्द महसुस गराउन एकदम धेरै जरुरी छ ।