© २०२३
झिमरुक गाउँपालिका ५ ओखरकोट ढाँड प्यूठानकी चन्द्रकुमारी रायमाझीले २०६४ साल जेठ १३ गतेको घटना झलझली सम्झिन्छिन् । हुर्कदै गरेको १३ वर्षिय छोरा अनिल खड्का घर छेउँकै विद्यालयमा ६ कक्षामा पढ्दै थिए । जेठको महिना रोपाइँको चटारो थियो । सवै जना त्यसैमा व्यस्त थिए ।
साथीसँगै छोरा अनिलको खोला तर्दै गर्दा बगेर मृत्यु भयो । साथीहरु खोला तरेपनि उनी तर्न नसक्दा बगेर अकालमै मृत्युको मुखमा परे ।
रोपाइँको खुसीयालीमा व्यस्त चन्द्रकुमारी र उनको परिवारमा बज्रपात प¥यो । त्यही घटना खड्का परिवारमा अझै पनि ताजै छ । दुःखेको घाउँ अझै सेलाएको छैन् । तीन छोरी र दुई छोरामध्ये अनिल कान्छो छोरा हुन् ।
‘खोला तर्दा मेरो छोराले अकालमै ज्यान गुमायो’,चन्द्रकुमारीले भनिन्,‘मेरो त छोरो गुम्यो, गुम्यो, अरुका छोराछोरीहरुलाई खोलाले नबगाओस् ।’ पक्की पुल बनाउन धेरै माग गरेका बताउँदै उनले यसपाली पुरा हुँदा हर्षित छिन् ।
पुल बनेपछि उनले टेलिफोनमा हर्षका आँशु झारिन् । संयोगवस उनीसँग टेलिफोनमा कुरा गर्दा छोरालाई खोलाले बगाएर मृत्यु भएको दिन एउटै थियो । हजुरको छोरालाई खोलाले बगाएको कहिले हो ? जिज्ञासामा उनले जवाफ फर्काइन,‘हो ! २०६४ जेठ १३ गतेकै दिन हो ।’
यही स्थान जुन ठाउँमा खोलाले बगाएर आठ जनाले ज्यान गुमाइसके । नेपाल प्रहरी, विद्यार्थी र मेलापात गर्ने किसानहरु अकालमै बगेर मृत्युको मुखमा पुग्नुप¥यो । हुर्कदै गरेका छोराछोरी खोला तर्दा गुमाउँनुको पीडा भोग्ने बुवा आमाहरुलाई मात्र थाहाँ होला । झिमरुक गाउँपालिका क्षेत्रका नागरिकहरुले ढाँडस्थित झिमरुक नदीमा पक्की पुलको माग वर्षौदेखि राख्दै आएका हुन् ।
गाउँपालिकाको ५, ७ र ८ नम्वर वडालाई जोड्नका लागि ढाँड–स्याउलीघारी पक्की पुल बनाउन गरेको माग यसवर्ष पुरा भएको छ । आँखै अगाडी खोलाले बगाएर मृत्यु हुनेहरुको पीडा देखेका यहाँका नागरिकहरु आँखै अगाडी पक्की पुल बनेको देख्दा गुमेको खुसी फर्किएको अनूभुति गर्छन् ।
नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विष्णु बहादुर महतरा डेढ वर्ष अघि घरपरिवार भेट्न घर गएका थिए । वडा नम्वर ७ तुषारा निवासी उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत थिए । परिवारलाई भेटेर खुसीका साथ कर्मथलोतर्फ फर्कदै गर्दा उनको पनि खोलाले बगाएर मृत्यु भयो । जागिरका लागि जानका लागि घरबाट निस्केको पन्ध्र मिटेनटमै उनलाई खोलाले बगायो । झिमरुक गाउँपालिका–८ लिवाङ टिमुरचौरकी निर्मला गिरी, दारीमचौरका रेकम खत्री, सोही ठाउँका भक्त बहादुर खत्री, तुषारा गोव्दीका मोहनसिँह बस्नेत, ओखरकोटका मिन बहादुर जिसी र एक जना पहिचान नखुलेका यूवाको यही स्थानमा बगाएर मृत्यु भएको छ ।
सर्वसाधरणलाई झिमरुक खोला त्रासको मार्ग बनिरहेको थियो । गाउँपालिका कार्यालय भ्यागुते सहित जिल्लाको प्रमुख बजार पुग्नका लागि खोला तर्नैपर्ने बाध्यता छ । दर्जनौ गाउँका नागरिकहरु पक्की पुल बनेको देख्दा खुसी छन् । झिमरुक गाउँपालिका, नौवहिनी गाउँपालिका, गौमुखी गाउँपालिका सहित छिमेकी जिल्ला गुल्मी, अर्घाखाँचीका केही नागरिकहरु पुल बनेपछि लाभांवित भएका छन् ।
बीचमा रोकिँदै बन्दै गरेपनि यसवर्ष पुलको अन्तिम निर्माण कार्य सकिएको छ । निलगिरी/आँशु जेभी प्यूठानले पुल निर्माणको जिम्मा पाएको व्यवसायी बालाजु श्रेष्ठले बताए । ‘कोरोनाले गर्दा औपचारिक उद्घाटन भएको छैन्’,उनले भने,‘उद्घाटन पछि होला तर अहिले गाडी चलाउन मिल्छ ।’ निर्माण कार्य सकिएपनि भ्याट सहित झण्डै २ करोड अझै भूक्तानी लिन बाँकी रहेको उनले सुनाए । सम्वन्धित निकायको उनले यसतर्फ ध्यानाकर्षण गराए ।
साविक जिल्ला प्राविधिक कार्यालयहुँदै पुल निर्माणको थालनी गरिएको थियो । यस बीचमा थुप्रै कार्यालय प्रमुखहरु फेरिएपनि पुल नबन्दा सवैलाई टाउँको दुखाईको विषय बनेको थियो । हाल उक्त पुल निर्माणको कार्यसम्पादन सडक पूर्वाधार विकास कार्यालय रोल्पाले गरेको छ । निमित्त कार्यालय प्रमुख दिपक खड्काका अनुसार ४ करोड २ लाख ७८ हजार १ सय २ रुपैयाँमा पुल निर्माणको सम्झौता भएको हो । निर्माण व्यवसायीलाई दिनुपर्ने अपुग रकम माग गर्नका लागि पहल भइरहेको उनले बताए । शसर्तको बजेटमा केन्द्रिय योजना अन्तर्गत पुल निर्माण भएको हो ।
उक्त पुल कार्यालयको प्रतिष्ठासँग जोडिएको विषय बनेको समेत सुनाए । माटो परिक्षण गर्दा बीचौ भागमा दलदल भेटिएपछि निर्माण कार्य रोकिएको थियो । पूनः परिक्षण गरेपछि मात्र निर्माण व्यवसायीले काम थालेका हुन् । पुलको लम्वाई १ सय २ मिटर र चौढाई ५ दशमलव ४५ मिटर छ । २०७२ असोज २७ गते पुल निर्माणको सम्झौता भएको थियो ।
बर्खाको बेला यस क्षेत्रका नागरिकहरु स्थानीय छिपछिपे सामुदायिक बनको अप्ठ्यारो बाटोहुँदै बजार आउजाउ गर्ने बाध्यता अब हटेको छ । बालशिक्षा मावी, गौमुखी क्याम्पस, नेश्नल, गौमुखी इंग्लिङ बोर्डिङ स्कुलमा गरी झण्डै पाँच सय विद्यार्थीहरु प्रत्यक्ष लाभावित भएका छन् ।