© २०२३
दाङ,४ असार । घोराही उपमहानगरपालिका – १० नारायणपुरमा गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । निशुल्क जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी शिविरमा परिक्षणका लागि पुगेको ४ सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ ।
स्क्रिनिङ गरिएका ४ सय १२ जनामध्ये करीव १० प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका गरिएको स्वास्थ्य कार्यालय दाङले बताएको छ । स्क्रिनिङ गर्दा ४ जना पुरुष र ३७ जना महिलामा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल हुने आयोजकले जनाएको छ ।
समुदायमा सिकलसेलकै कारण उपचारका क्रममा ठूलो धनराशी खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत सक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न थालिएको हो ।
यसअघि जिल्लाको ७ वटा पालिकाहरु घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र दंगीशरण गाउँपालिकामा रगत परीक्षण गरिएकोमा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएका थियो । कुल दुई हजार ८ सय २ जनाको परिक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरमा ४ सय ५४ जनाको परिक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा ४ सय ५२ जनाको परिक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको थियो । लमही नगरपालिकामा ४ सय १६ जनाको परिक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । राप्तीमा ४ सय १८ जनाको परिक्षण गर्दा ५४ जना, गढवामा ४ सय २१ जनाको परिक्षण गर्दा ४१ जनामा यो समस्या देखिएको छ ।
यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परिक्षण गर्दा १० जना, दंगीशरणमा ४ सय ५ जनाको परिक्षण गर्दा ६६ जना, जिल्लाका सबै पालिकाका वडा वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ हुनुपर्ने देखिएको स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवरले बताए ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले रोग लुकाएर बस्न नहुने र आउने पुस्ताका लागि स्वास्थ्य परिक्षण अनिवार्य भएको बताए । रोग लुकाउदाँ आफ्नै सन्तानलाई सर्ने देखिने भएक कारण सबैले समयमा परिक्षण गर्नुपर्ने बताए । सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिती नहोस् भन्ने उद्देश्यका साथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले सिकलसेल एनिमिया भएका बाबु आमाबाट जन्मने बच्चामा यो रोग देखिएको बताए । विवाह गर्नु पूर्व परिक्षण गरेमा कम हुने उनको धारणा छ ।।।