© २०२३
बाँके , जेठ- बाँकेको जानकी गाउँपालिका–३ मानपुरका हरिसिंह राठौरको घरको आगन सडकमा प¥यो । पछाडी भागमा जग्गा भएपनि अगाडी आगन बनाउने ठाउँ बचेन । आगननै नभएपछि उनको परिवारलाई सकस भयो ।
यही सकसकाबीच उनका नातेदार समेत पर्ने भोलासिंह राठौरले केही महिना अघि ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’मार्फत करिब आठ मिटर पछाडी घर सारिदिए । अब राठौर परिवारलाई आगन पनि ठूलै बचेको छ भने सारिएको घरमा कुनै समस्या देखिएको छैन ।
मानपुरकै अर्का रामकुमार सिंह राठौरको घर सडकले फाल्ने अबस्थामा थियो । ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’मार्फत पछाडी सारेर घर जोगाइएको छ । त्यही देखेर नेपालगन्ज–४ का लोकबहादुर सुनारले होचो भएका कारण वर्षेनी पानीले भरिने घरलाई ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’ गराएका छन् ।
नेपाल सरकारका उपसचिव रहेका सुनारले भने,–‘वर्षेनी तल्लो तलामा सिमेन्ट भर्दाभर्दा वाक्क भइसकेको थिए । अहिले यो प्रविधि आएको सुनेपछि घर उचाईमा उठाउने काम भएको छ । सुरुमा बिश्वास गर्न नसकेपनि अहिले भने राम्रै भएको पाए ।’ हो, धेरैका लागि अचम्म लाग्ने यो प्रविधि नेपालगन्जमा भर्खरै भित्राएका छन् भोलासिंह राठौरले ।
नेपालगन्जकै स्थानीयबासिन्दा रहेका केडब्लुजी बिल्डिङ्गका संचालक राठौर खासमा भारतमा काम गर्थे । यो भारतीय प्रविधि नै हो उनले भारतमै काम सिकेका हुन । राठौरले भारतका बिभिन्न ठाउँमा ‘लिफ्टीङ्ग सिफ्टीङ्ग’को काम गरिरहेका छन् । मानपुरमा आफन्तको घर सार्नुपरेपछि उनी आफ्ना प्रशिक्षिक कामदार सहित नेपालगन्ज आएका हुन । राठौर भन्छन्–‘भारतमा त यो प्रविधि सामान्य हो, नेपालमा भने नौलो रहेछ । नेपालगन्जमा केही एक दुईवटा काम गरेपछि चासो प्रकट भइरहेको छ ।’
राठौरका अनुसार, एक तलादेखि पाँचतलाको घर यसरी सार्न र उठाउन मिल्छ ।
सार्न र उठाउँदा कुनै ठूला मेशिनको प्रयोग नहुनु अर्को आश्चार्यजनक कुरा हो । कामदारहरुले स–साना औजार प्रयोग गरेर सामान्य तरिकाले नै काम फत्ते गर्छन । राठौरका अनुसार त झ्यालका सिसा समेत नफुट्ने गरी काम गरिन्छ । उनी भन्छन्–‘कुनै प्रकारको क्षती भए व्यहोर्छौ र शतप्रतिशत ग्यारेन्टी दिने गरेका छौं ।’ घरको तल्लो भागलाई पहिलेको भन्दा बलियो बनाइन्छ, खर्च पनि कम लाग्ने गरेको राठौर बताउँछन् । उनी भन्छन्–‘भत्काउँदा एक करोडको सम्पत्ति नोक्सान हुन्छ भने यो प्रविधि प्रयोग गरेर घर सार्दा वा माथी उठाउँदा बढिमा २० लाख खर्च हुन्छ ।’ अहिले सबैतर्फबाछ चासो प्रकट भएकाले नेपालमै निरन्तर काम गर्ने राठौर बताउँछन् ।