© २०२३
बुटवल, ४ चैत ।
तिलोत्तमाको शंकरनगरस्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यू टावरको उदघाटन गर्दैगर्दा तत्कालीन नगरप्रमुख वासुदेव घिमिरेले अव यो टावरले वर्षेनी ३६ लाख आम्दानी दिने घोषणा गरेका थिए । भूयू टावर उदघाटन भएको एक वर्षभन्दा लामो समय व्यतित भैसकेको छ, अर्थात तत्कालीन मेयर घिमिरेको भनाईलाई आधार मान्दा एक वर्षको संभावित ३६ लाख नगरपालिकाले गुमाएको छ ।
अव अर्को वर्ष पनि थप ३६ लाख आम्दानी गुम्ने छ, किनकी यसको सञ्चालन र आम्दानीको मोडालिटीबारे कुनै योजना बनेको छैन । यसमा गरिएको लगानीको प्रतिफल कहिलेदेखि उठ्छ भन्ने कुराको अझै अन्यौल छ ।
२०७४ साल चैत १५ गते शिलान्यास भएको भ्यू टावरको २०७८ साल चैत १५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका थिए । तिलोत्तमा नगरपालिकाले आन्तरिक आम्दानीको स्रोतका निम्ति ठुलै आशा देखेर ११ तला अग्लो भ्यू टावरको निर्माण गरेको थियो । यसको उचाइ १३४ फिट छ । १२ जना मानिस अट्न सक्ने क्षमतासहितको लिफ्ट जडान भएको छ । काठमाडौँको नयाँ निर्माण गरिएको धरहरापछि यसलाई सबभन्दा सुविधा सम्पन्न टावरका रूपमा चर्चा गर्ने गरिन्छ । नगरपालिकाका इन्जिनियर प्रदीप वनका अनुसार कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा यो भ्यू टावर बनेको हो ।
भ्यू टावर सञ्चालनको जिम्मा अनुपम निर्माण सेवाले पाएको छ । उसले १० वर्षका लागि लिजमा सञ्चालनको सम्झौता गरेको छ । उक्त कम्पनीका सञ्चालक टोपबहादुर रायमाझीले भवनको सम्पूर्ण काम सकिएपनि गार्डेन लगायतका संरचना निर्माणको काम ठेकेदार कम्पनीले नसकेकाले सञ्चालनबारे अन्यौल रहेको बताए । “कहिलेदेखि सञ्चालन हुन्छ, यसै भन्न सकिन्न, बाहिरी संरचना निर्माण नभएसम्म भ्यू टावर सञ्चालन हुँदैन”–उनले भने ।
यो टावर जम्मा २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । यसको भुईँ तला ३ हजार ५९५ वर्ग फिट क्षेत्रफलमा छ । त्यहाँ ८ वटा अट्याच्ड बाथरुमसहितका सुविधाजनक कोठा छन् । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू शान्त जङ्गलमा दृश्यावलोकन गर्दै पारिवारिक वातावरणमा बास बस्न सक्ने सुविधा परिकल्पना गरेर यस्तो संरचना बनाइएको नगरपालिकाले जनाएको छ ।
टावररूपी यो भवनभित्र विभिन्न विषयमा अनुसन्धान गर्ने रिसर्च सेन्टरसमेत स्थापना गरिँदै छ । तल्लो तलामा व्यावसायिक प्रयोजनका लागि शोरुम राखिएको छ । ‘भुईँ तलादेखि सातौँ तलासम्म व्यावसायिक प्रयोजनमा लगाइनेछ, त्यसभन्दा माथि चाहिँ पर्यटकले हिँड्दै घुम्दै दृश्यावलोकन गर्न सक्ने गरी भवन बनाइएको छ,’ इन्जिनियर प्रदिप वनले भने, ‘रेस्टुरेन्टदेखि स्विमिङ पुल, बाल उद्यान र अन्य थुप्रै रमणीय स्थल त छुट्टै छँदै छन् ।’ उनले बाहिरी संरचना निर्माणका लागि पर्यटन मन्त्रालयबाट बजेट नआएका कारण ढिलाइ भएको बताए ।
दुई बिघा क्षेत्रफलसहितको ठाउँमा निर्मित टावरसँगै अन्य पूर्वाधारसमेत निर्माण हुँदै छन् र ती काम सम्पन्न भएपछि नगरपालिकाले थप योजना बनाएको छ । त्यो हो, व्यावसायिक प्रयोजनका लागि शोरुम राखिएको ठाउँमा स्थानीय कृषि उपज पनि राख्ने । त्यसले यहाँको कृषि उपजको बजारीकरणसँगै किसानलाई प्रत्यक्ष लाभ दिने छ । होटेल, रेस्टुरेन्ट, कफीसप, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी लगायतका संरचना त टावरभित्र नै तयार हुँदै छन् ।
तिलोत्तमा नगरपालिकाको नाममै एउटा फरक विश्वास छ । पवित्र तथा प्राचीन नदी तिलोत्तमाबाट यसको नामकरण गरिएको हो । समुद्र सतहबाट १६० देखि १७५ मिटरको उचाइमा अवस्थित तिलोत्तमा नगरपालिका पूर्वमा रोहिणी नदी र देव दह नगरपालिका, पश्चिममा तिनाउ नदी र सियारी तथा शुद्धोदन गाउँपालिका, उत्तरमा बुटवल उपमहानगरपालिका एवं दक्षिणमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका बीचमा छ । १२६.२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकाको जनसंख्या १ लाख २४ हजार छ । र, यो जनसंख््याले आशा गरेको संरचना बनेको छ, बहुउद्देश्यीय टावर ।