© २०२३
बुटवल,३० फागुन । ब्याज दर घटाउन माग गर्दै उद्योगी व्यवसायीले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन्।
चरणबद्ध सडक आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरूले मंगलवार बालुवाटारस्थित नेपाल राष्ट्रबैंक अगाडि आन्दोलन गरेका हुन्।
आन्दोलनमा सहभागी व्यवसायीहरूले बैंकिङ आतंक बन्द गर, ब्याजदरमा स्थिरता कायम गर, चालू पुँजीकर्जा मार्ग निर्दशन स्थगन गर,ब्याजदर हामीलाई चर्को भो,गरिखान गाह्रो भयो,उच्च सेवा शुल्क बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका छन्। उद्योगी व्यवसायीहरूले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समय समेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका हुन्।
देशभरका उद्योगी व्यवसायीले राष्ट्रबैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण समेत गरेका छन्। विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा सुनाउन राष्ट्रबैंक आएको बताए।
उनले अर्थतन्त्रमा आएका समस्याका कारण उद्योगको उत्पादन कमी, रोजगारी कटौती र बजारको मागमा कमी भएको अवस्थामा समेत बैंकले चर्को ब्याजदर दिएको बताए। उनले यो विषयमा सरकारले तत्काल समाधान दिन आवश्यक रहेको बताए।
उनले व्यवसायीहरूको व्यापार सुस्त भएको अवस्थामा उच्च ब्याज दिनसक्ने अवस्था नभएको बताए। उनले सरकारले व्यवसायीहरूसँग छलफल गरी समाधान गर्न आग्रह गरे।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकको चर्को ब्याजदर सरकारले नघटाएसम्म व्यवसायीहरूको आन्दोलन निरन्तर चल्ने बताए। उनले प्रधानमन्त्रीले चासो देखाएर बैंकको ब्याजदर एकल अंकमा ल्याउन पहल तत्काल गर्नुपर्ने बताए।
उनले ब्याजदर कायम गर्ने विषयमा नीतिगत स्थायित्व आवश्यक रहेको बताए। उनले अर्थतन्त्र एकदमै संकटमा रहेकाले व्यवसायीले चैत महिनामा पनि ब्याजदर र किस्ता तिर्न नसक्ने बताए।
त्यसैगरी नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बारम्बार व्यवसायीहरू बैंकविरुद्ध सडक आन्दोलन गर्दा समेत नेपाल सरकार र सम्बन्धित निकाय समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए।
उनले पछिल्लो समय बैंकको चर्को ब्याजदर लगायत दादागिरीका कारण व्यवसायी मर्कामा परेको बताए। उनले बैंकहरूले उद्योगी व्यवसायीलाई सुकुमवासी बनाउने काम गर्न लागेको बताए।
विगत एक वर्षदेखि व्यवसायीहरू बैंकको ज्यादतीविरुद्ध आन्दोलनमा रहे पनि राष्ट्रबैंकले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर केन्द्रीय बैंक सामु प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरूले बताए।
आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ लगायतका केन्द्रीय महासंघहरूसँग आबद्ध वस्तुगत संघहरू आन्दोलनमा उत्रिएका छन्।