© २०२३
बुटवल, २८ फागुन ।
बुटवल औद्योगिक क्षेत्र स्थित नेपालको पहिलो ठूलो धागो कारखाना बुटवल धागो कारखानामा १६ वर्षअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । भ्रष्टाचारका कारण कारखाना निरन्तर घाटामा गएपछि २०६४ साल फागुनमा उत्पादन रोकी मेसिनमा लगाइएको ताला अझै सम्म खुल्न नसकेको हो ।
नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा उक्त कारखाना संचालनमा ल्याउने घोषणा गरेकोमा आर्थिक वर्षको अन्तिम हुन लाग्दासम्म संचालनमा ल्याउन पहल गरेको छैन । कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्माले मेसिनमा ताला लगाएको १६ वर्ष भएको बताए । “मेसिनमा ताला लागेको १६ वर्ष भयो”–शर्माले अगाडि भने –“खियाले मेसिनको उत्पादकत्व घट्दै गएको छ, भवनहरु जीर्ण बन्दै गईरहेका छन् ।”
कारखाना बन्द हुने र खुल्ने क्रम चलिरहेपछि सरकारले २०६४ सालमा कारखाना बन्द गर्ने अप्रिय निर्णय लिएको थियो । कारखाना बन्द भएको दुई वर्ष सम्म कारखाना फेरि संचालनमा ल्याउने उद्देश्यले कारखाना व्यवस्थापनले मजदुर कर्मचारीहरुलाई पारिश्रमिक दिएर राखेको थियो । तर कारखाना फेरि संचालनमा ल्याउन कठिन भएपछि २०६६ असोज १ गते सबै ४ सय जना मजदुर कर्मचारीलाई कुल ४७ करोड रुपैयाँ प्रदान गरी विदावारी (पेअफ) गरिएको थियो । त्यसयता १४ वर्ष सम्म नेपाल सरकार कारखाना पुनः संचान गर्ने या विघटन गर्ने भन्ने विषयमा अनिर्णयको बन्दी बनेको छ ।
अब सरकारले कारखाना विघटन गर्ने या पुनः संचालन गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिनुपर्ने भन्ने भनाई कारखानाका निमित्त महाप्रबन्धक शर्माको छ । २०३९ सालमा स्थापना भई २०४७ सालमा परीक्षण उत्पादन र २०४८ सालमा व्यावसायिक उत्पादन गरेको यो कारखाना नेपालको पहिलो ठूलो धागो कारखाना हो । यसको उद्घाटन २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
लामो समयदेखि कारखाना बन्द रहँदा एकातर्फ खियाले मेसिनको उत्पादकत्व घटिरहेको छ भने अर्कोतर्फ स्थिर सम्पत्तिको मूल्य पनि दिनप्रतिदिन घटिरहेको छ । कारखानाका भवनहरु जीर्ण बन्दै गईरहेका छन् । वर्षायाममा छतबाट पानी चुहिएर मेसिनहरु डुवानमा पर्ने गरेका छन् । कारखानाको रेखदेखको लागि ५ जना कर्मचारी राखिएको छ । जसमा मासिक सवा लाख रुपैयाँ खर्च छ । वार्षिक १२ लाख रुपैयाँ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई भाडा तिर्नुपर्छ । सरकारलाई बार्षिक साढे ३ करोड रुपैयाँ व्याज रकम तिर्नुपर्ने हुन्छ ।
कारखानाका निमित्त महाप्रबन्धक शर्माका अनुसार कारखानाले नेपाल सरकारलाई तिर्नुपर्ने ऋण रकम १ अर्ब ५५ लाख रुपैयाँ साँवा छ भने त्यसको व्याज ४८ करोड रुपैयाँ पुगेको छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजुले बुटवल धागो कारखाना देशको गहना भएको चर्चा गर्दै यथाशीघ्र पुनः संचालनमा ल्याउनु पर्ने माग गरे ।
राजा विरेन्द्रले यस क्षेत्रका भूपू सैंनिकका परिवारहरुलाई काममा लगाई गुणस्तरीय धागो उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले २०३९ सालमा उच्च स्तरको चिनिया प्रविधिको उक्त कारखाना स्थापना गराएका थिए । उक्त कारखानाको उत्पादनको ९० प्रतिशत भारत निर्यात हुन्थ्यो । उत्पादन अघि नै धागो बिक्री भइसकेको हुन्थ्यो । बजारको समस्या थिएन । यसले कटन, पोलिष्टर, टेरिकटन र मिक्स धागो उत्पादन गथ्र्यो ।