© २०२३
चन्द्रौटा, ५ फागुन । कपिलवस्तुको चन्द्रौटामा चर्को बैंक व्याजदर, लघुवित्त र मिटर व्याजको विरुद्ध विरोध प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेकपा कपिलवस्तु जिल्ला समितिको आयोजनामा शुक्रबार विरोध प्रदर्शन गरिएको हो ।
बैंकको चर्को ब्याजदर नियन्त्रण गर, मिटर व्याजीलाई कारवाही गर, लघु वित्तीय शोषण अन्त्य गर, १ अंकको व्याजदर लागू गर, लघु वित्तीय ज्यादति अन्त्य गर र राष्ट्रिय उद्योगी व्यवसायीलाई राहत दे भन्दै नाराबाजी गरिएको नेकपाका जिल्ला सचिव बिनोद लुइटेलले जनाए ।
पोलिट व्युरो सदस्य सञ्जिब झाक्रीले चन्द्रौटामा कोणसभा लाई सम्बोधन गर्दै उद्योग कलकारखाना विस्थापित भएका कारणले मजदुरहरुको रोजगारी गुमेको बखत चर्को ब्याजले समस्या निम्ताएको बताए ।
हातमुख जोड्न समस्या भइरहेको अवस्थामा चर्को ब्याज र लघुवित्तका कारण आत्माहत्या गर्ने बाध्य भनाइरहेको बताए । एमसीसीले चालेको कदम नेपाल र नेपालीको हितमा नरहेको समेत सदस्य झाक्रीको भनाइ छ ।
यसैबीच पार्टीका केन्द्रीय सदस्य हेमन्त चौधरीले आम नागरिकको हकहितका लागि बैंक, लघु वित्तीय लगायत संस्थाले व्याजदर सुधार गर्नुपर्ने चेतावनी दिए । यदि सम्बन्धित निकायले नियमन नगरे थप आन्दोलनको कार्यक्रम अघि सार्ने बताउँदै ज्यादती गरेको पाइए कानुनी कठघरामा ल्याउन समेत पछि नपर्ने उनले दावी गरे ।
पार्टीका जिल्ला सचिव लुइटेलले स्वतन्त्रपूर्वक जिउने अधिकार सबैलाई रहेकोले सम्मानजनक तरिकाले बाच्न पाउनुपर्ने बताए । कुनै पनि बैंक, वित्तीय संस्थाले ज्यादती गरेको छ भने नेकपाको सम्पर्कमा आउन आग्रह समेत उनले गरे ।