© २०२३
रम्भा गाउँपालिका—२, फोक्सिङ्गकोट पाल्पामा सुरक्षित गर्भपतन सेवा शुरु भएको छ । सुरक्षित गर्भपतन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी फोक्सिङकोट स्वास्थ्य चौकीलाई सुरक्षित गर्भपतन सामग्री हस्तान्तरण भएपछि सेवा शुरु भएको हो । आईपास नेपाल पाल्पाकी जिल्ला संयोजक राधिका नायजूले फोक्सिङकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष उमानसिं सारु तथा स्वास्थ्य चौकी प्रमुख हजारीलाल पटेललाई सुरक्षित गर्भपतन सेवा सम्बन्धी परामर्श सामग्री हस्तान्तरण गरेकी हुन् ।
रम्भा गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय आईपास पाल्पाको प्राविधिक सहयोगमा संचालित कार्यक्रम अन्तर्गत सुरक्षित गर्भपतन सेवा शुरु गरिएको आईपास पाल्पाकी राधिका नायजूले बताइन् । सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० को दफा ३ को उपदफा ३ बमोजिम तालिम प्राप्त सुचिकृत स्वास्थ्यकर्मी राधा कुमारी पंगेनी मार्फत कानुन बमोजिम ९ हप्ता सम्मको गर्भपतन सेवा स्वास्थ्य चौकीबाट उपलब्ध हुनेछ ।
जिल्लामा हालसम्म १६ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ । कार्यक्रममा संयोजक नायजूले सुरक्षित गर्भपतनको परिभाषा, नेपालमा गर्भधारण तथा गर्भपतनको अवस्था, सुरक्षित गर्भपतन सम्बन्धी कानूनी व्यवस्था, महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका बारे अभिमुखीकरण गरेकी थिइन् । à