© २०२३
नेपालको शिक्षित पुस्ता विदेशमा श्रम गरिरहेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले शिक्षित युवाहरूलाई स्वदेशमै फर्काउन युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै पर्यटन, कृषि, पशुपालन र जलविद्युत्मा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
एबिसी टेलिभिजन प्रदेश व्युरो कार्यालय बुटवलले आयोजना गरेको समृद्ध नेपालका लागि प्रदेशको भूमिका विषयक अन्तत्र्रिmया बोल्नेहरूले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा संवोधन गर्दै प्रदेश नम्बर पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश संरचना नयाँ भएकोले केही अन्यौलता भए पनि प्रदेश अगाडि बढेको बताए । उनले प्रदेशसभाले धमाधम कानून बनाएको बताए । कार्यक्रममा प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश पाँचमा पर्यटनको प्रचुर सम्भावना भएको बताए ।
नेपाली कांग्रेस प्रदेश नं. ५ की सचेतक निर्मला क्षेत्रीले दलहरू बीच सहकार्य गरेर विकास र समृद्धिको मुद्दामा एक भएर लाग्नुपर्ने बताइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाश श्रेष्ठले प्रदेश सरकारले योजनाहरू निर्माण गर्दा नीतिगत रूपमै ढिलासुस्ती हुने हुँदा पनि पुर्वधारको विकास नभएको भन्दै त्यसको सुधार आवश्यक रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूले निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने सके नेपाली वस्तु बाहिर निर्यात गर्न सकिने बताए । रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले सरकारले उद्योग सञ्चालनको अनुमती दिँदा नै ६ महिना लगाउने भन्दै उद्योग स्थापना, त्यसको नियमन र नीतिगत सुधार गर्दै उद्योगीलाई प्रोत्साहन सरकारले गरे औद्योगिक विकासबाट पनि मुलुक समृद्धि बन्ने बताए । सरकारले औद्योगिक क्षेत्रको स्थापना गरेर भाडा उठाउने मात्र ध्यानमा लाग्नुभन्दा उद्योगीलाई व्यवस्थित गर्दै करको नियमन गर्नुपर्ने बताए । रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले खुल्ला सिमानाका कारण भारतीय सामानहरू नेपाल भित्रिँदा नेपाली बस्तुहरूले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै यसको नियमन जरुरी रहेको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालले प्राकृतिक स्रोत, साधनको उपभोग, पर्यटकीय गन्तव्यको प्रचार, प्रसार र अत्याधुनिक कृषिबाट समृद्ध नेपाल बन्न सक्ने बताए । प्रदेशभित्रका ऐतिहासिक, पुरातात्विक, मल्लकालीन, लिच्छिविकालीन सम्पदाहरूको संरक्षण गर्दै प्रचार प्रसार गर्न सकेमा विश्वको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल आएपनि पर्यटकबाटै समृद्ध मुलुक बन्न सक्ने बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै प्रध्यापक बुद्धबहादुर थापाले स्रोतको परिचालन, सरकारको नियन्त्रण र क्षमता वृद्धि गरेमा समृद्धि हासिल गर्न सकिने बताए ।