© २०२३
बाँके, २८ कार्तिक ।
‘जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि आउँछन् की भन्ने आश लाग्छ । – यी भनाइ हुन् बारबर्दिया नगरपालिका –६ की ६८ वर्षीया फिरिया थारूको ।
अतीतका दिनहरू सम्झदै थारू भन्छन ‘देशमा भएको सशस्त्र युद्धमा राज्य र माओवादी बीचको द्वन्द्व थियो । तर सो युद्धले मेरो परिवार भताभुङ्ग पा¥यो । मेरो सपना भताभुङ्ग पा¥यो । मेरो चाहना भताभुङ्ग पा¥यो । मबाट युद्धले सबैथोक लुट्यो । मैले आड, मेरो भरोशा, मेरो बुढेसकालको सहारा युद्धले लुट्यो । मैले मेरो पति युद्धको समयमा राज्यले बेपत्ता पा¥यो ।’
त्यो काल रातको अझै पनि सम्झना छ, २०५९ साल साउन २६ गते बेलुका ९ बजे झरी परेको रात थियो । आफ्नो परिवार खाना खाएर सुतेको मलाई याद छ । रम्मापुर ब्यारेकबाट आएका सेनाले घरमा आएर पति ४८ वर्षीय जंगु थारूलाई सेनाले लिएर गएको थारूले बताईन ।
भोलिपल्ट गाउँका केही व्यक्ति सहित पतिको बारेमा बुझ्न बारबर्दियामा रहेको रम्भापुर ब्यारेकबाट बुझ्न जाँदा सेनाले पतिलाई नल्याएको दाबी गरेको थारूको भनाइ छ । त्यो समय बन्दुक थियो । त्यसकारण प्रतिवाद गर्न सक्ने सयम थिएन । चुपचाप घर फिर्ता हुनु परेको थारू बताईन । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा बर्दियामा २ सय २० जना नागरिकहरू द्वन्द्वरत पक्षहरूबाट बेपत्ता भएको अभिलेख छ । दुवै पक्षबाट बेपत्ता पारिएका नागरिकको अवस्था हालसम्म सार्वजनिक हुन सकेको छैन । सशस्त्र द्वन्द्वको समयमा फिरिया जस्तै पति बेपत्ता भएका कयौँ महिलाहरू पति आउने आशामा छन् । उमेर क्रमश ढल्दैछ तर पति द्वन्द्वमा बेपत्ता पारिनु भएको पति फर्कि आउने आशमा छिन फिरिया । उनी भन्छिन – ‘पति आउने दिनहरू कुर्दाकुर्दै कयौँ दिनहरू बिते । महिनाहरू बिते । वर्षहरू बिते । तर आफ्नो पति पक्कै आउनु हुनेछ भन्ने आशमा छिन उनी । उनले अझसम्म पनि आश मारेकी छैनन् । पति पक्कै आउनु हुनेछ भन्ने प्रतीक्षा गरिरहेको उनले उल्लेख गरिन ।
दाहसंस्कार गर्न हजुरआमा मान्दैनन्
बेपत्ता पारिएका थारूका नाति २७ वर्षीय सुमित थारू भन्छन – ‘हजुरबुबाको परम्परा अनुसार अन्तिम दाहसंस्कार गर्नुपर्छ भन्दा हजुर आमा मान्दैनन् । हजुरआमाले अझै पनि हजुरबुबा आउनुहुन्छ भनी बाटो पर्छिराखेछन । हजुरबुबा बेपत्ता हुँदा सुमित ६ वर्षको थिए । सुमितको हजुरबुबा बेपत्ता भएको पनि २१ वर्ष पुरा भएर २२ वर्षमा लागेछ ।’ हजुरबुवा बेपत्ता हुँदा खासै केही नबुझ्न सुमित अहिले धेरै कुरा बुभ्ने भएका छन । उनी भन्छन – ‘मेरो हजुरआमाले पति गुमाउनु भयो । मेरो बुबा काका र फुपुहरूले अभिभावक गुमाउनु भयो । मेरो परिवारले संरक्षक गुमाउनु प¥यो । मैले मेरो हजुरबुबा गुमाएँ । हाम्रो परिवारले खुसी गुमाए । सबथोक गुमाए । अब गुमाउन के नै बाँकी छ र ? युद्धले दिएको निको नहुने घाउ हो । जिन्दगीभर यस्तो घाउ लिएर बस्नु बाध्यता हाम्रो परिवारको रह्यो ।’
सामान्य किसान परिवारमा जन्मिएका जंगु थारूको दुई ओटा पत्नी छन् । जेठी पत्नी फिरिया थारुबाट छोराहरू सर्जु प्रसाद थारु, राम प्रसाद थारु, घनश्याम थारू र छोरी सुभरानी थारू र अनरकली थारू तथा कान्छी पत्नी रामकुमारी थारुबाट छोरा बिनय थारु, छोरी सरिताको जन्म भएको थियो । बेपत्ता पारिएको जग्गुको परिवारले राज्यसँग परिवारले थारूको अवस्था सार्वजनिक हुनपर्छ भन्दै पटक पटक ‘कि सास देउ की लास देउ’ भनेर माग गर्दा पनि राज्यले कुनै सुनुवाइ गर्न सकेको छैन ।
राज्यले बेपत्ता पारिएको हजुरबुबाको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने थारूको माग छ । उनी भन्छन– ‘बेपत्ता पारिएको हजुरबुवाको अवस्था सार्वजनिक नहुँदा हाम्रो परिवार वर्षौँदेखिको भोग्दै आएको शारीरिक र मानसिक यातना र पीडा भोग्दै आएको छ । हजुरबुबाको अवस्था सार्वजनिक हुन सकेको भए केही राहत हुने थियो । राज्यले बेपत्ताको अवस्था सार्वजनिक गरी बेपत्ता परिवारलाई पनि शहीद परिवारलाई जस्तै राज्यले सेवा सुविधा प्रधान गर्नुपर्छ ।’ राज्यले प्रदान गर्दै आएको एकल महिला भत्ताको सेवा सुविधाबाट समेत हजुरआमाहरू वञ्चित हुनुपरेको छ । पति बेपत्ता पारिएको महिलालाई राज्यले एकल महिलाको मान्यता दिएको छैन । राज्यले बेपत्ता परिवारलाई १० लाख सहयोग गरेको छ । तर १० लाखले बेपत्ता परिवारलाई केही सहयोग भयो । त्यसले मात्र पर्याप्त हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा भनेको बेपत्ताको अवस्था सार्वजनिक गरिनु पर्ने कुरा रहेको थारूको धारण रहेको छ । सरकारले अहिले टिआरपसी विधेयक ल्याएको छ । सरकारले ल्याएको टिआरसी विधेयक के के छन् त्यो थाहा नभएपनि बेपत्ता परिवारको स्वास्थ्य, शिक्षा र रोजगारीको ज्ञारेन्टी राज्यले गर्नुपर्ने माग समेत थारूले गरे ।