© २०२३
बाँके, ०४ कार्तिक ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र पार्कको अवस्था दिनानु दिन बिग्रदै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रबिन्दु महेन्द्रपार्कको उचित व्यवस्थापनको अभावमा पार्क अस्त, व्यस्त बनेको हो ।
नेपालगञ्जको मुटुमा रहेको ऐतिहासिक सम्पदा महेन्द्र पार्कको अवस्था मात्रै बिग्रेको छैन । सपरिवार उत्तः पार्कमा घुम्न सक्ने अवस्था समेत छैन किनकि पार्क भित्र युवा, युवतीको जोडिहरूको अस्लिलता बढेर गएको छ ।
२०१८ सालमा स्थापना भएको महेन्द्र पार्क (मिनि जु) सानो चिडियाखानालाई पहिलो पटक मेयरको रूपमा निर्वाचित भएपछि डाक्टर धवल शमशेर राणाको पालामा पार्कलाई व्यवस्थित गरिएको थियो । सो पार्क बिचमा लथालिंग अवस्थामा पुगेको थियो । २०७४ मा पुनः मेयरको रूपमा निर्वाचित भएका राणाले पार्कलाई थप व्यवस्थित बनाउँदै पार्क भित्र धरहरा निर्माण गरेका थिए । उनको कार्यकालमा पार्क व्यवस्थित भएता पनि अहिले पार्क उजाड बन्दैछ ।
उक्त एैतिहासिक पार्क भित्र रहेको चिडिया खानालाई ब्यवस्थापन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले जनशक्ति खटाएको छ भने भने पार्कमा आउने पर्यटकहरूलाई टिकट देखी बाल उद्यानलाई ब्यवस्थापन गर्न शुभ एनएस कन्ट्रक्सनलाई ठेक्का दिएको छ । नेपालगञ्जको मनोरम स्थलका रूपमा परिचित महेन्द्र पार्क भित्र हाल फोहोरको डंगुर थुप्रिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाबाट शुभ एनएस कन्ट्रक्सनले बार्षिक ५ लाख ५१ हजारमा प्रत्येक बर्ष १० प्रतिशत रकम बढ्ने शर्तमा १० बर्षका लागि महेन्द्र पार्कलाई ब्यवस्थापन तथा सञ्चालन गर्न ठेक्का लगेको सो कन्सट्रक्सनका निम बहादुर थापा बताउँछन् । पार्क भित्र बाल उद्यान तथा मनोरञ्जनको लागि बनाईएका संरचनाहरू बिग्रिएका छन्, पार्क भित्र बिभिन्न ठाउँमा फोहोरको डङ्गुर थुपारिएको छ, त्यहाँ भित्र रहेका चरा, चुरुंगि, पशुहरू हिलोमा बस्न बाध्य छन् ।
उद्यान भित्र रहेका बिभिन्न संरचनाहरू बिग्रेर बर्षौं देखि थन्किदा समेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन । व्यवस्थापन फितलो हुँदा घुम्न आउनेहरूको संख्या घटेर दैनिक ४०/५० मा सिमित भएको छ ।
पार्कको अर्को मुख्य आकर्षणको रूपमा रहेको चिडियाखानाको अबस्था पनि खस्किदै गईरहेको छ पार्क सञ्चालन गर्ने ठेकेदार कम्पनीका अनुसार चिडियाखानामा हाल पशु, पंक्षीहरूको संख्या पनि घटेर गएको छ । तिनवटा गोही, एउटा बाँदर, पैतिस वटा खरायो, अठार वटा चाईनिज मुसा, दुई वटा निल बिरालो, अठार वटा परेवा, तिन वटा सुगा, आठ वटा अस्ट्रिच, एउटा सारस, चार वटा मयुर, सात वटा रतुवा, उन्नीस वटा, बाईस वटा लवर्ड रहेका छन् ।
पशु, पंक्षी बस्ने बास स्थानको भने समस्या रहेको छ । चराचुरुङ्गी देखी बिभिन्न जनावरहरू लाई राखेका खोरहरूको अबस्था हेर्दा लाग्छ उनीहरूलाई यातना दिन राखिएको छ । भएका संरचनाहरू खिया लागेर भाचिएका छन् भने पानी परेका बेला तिनलाई ओत लाग्ने ठाउँ नरहेको प्रष्टै देख्न सकिन्छ ।
बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म खुल्ने पार्कमा प्रबेश शुल्क बिद्यार्थीलाई दस रूपैया र अन्यलाई पच्चिस रूपैयाँ शूल्क लाग्ने उक्त पार्कमा पैसा तिरे अनुसार भित्र घुम्न लायक कुनै चिज नभएको पार्क भ्रमण गरी फर्कन लागेकी बर्दिया घर भएकी रूपा थारू बताउँछिन् ।
नेपालगञ्जको बिकास सँगै बिभिन्न ठाउँमा अन्य पार्कहरू स्थापना भए पनि यो पार्क ऐतिहासिक पार्क भएकाले यसको संरक्षणका लागि स्थानीय सरकारले बिशेष ध्यान दिनुपर्ने थारूले बताउँछिन् । आफ्नै वडामा रहेको पर्यटकिय स्थल महेन्द्रपार्कको ब्यवस्थापनका बारे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष बिबेक बाजपेयी पार्कलाई राम्रो व्यवस्थापन गर्न नसकेकेो बाउछन् । उपमहानगरले पार्कको लागि बजेट नछुट्याने भएकोले त्यसको संरक्षण गर्न नसकेको अध्यक्ष बाजपेयीको गुणासो छ ।