© २०२३
बाँके, २३ असोज ।
हेर्दा कसैले विश्वास गर्दैनन् । विद्यालय जाने उमेरमा अधिकांश बालबालिकाको दिनचर्या मोबाइल बनेको छ । तर मधुवन नगरपालिका–१ मा रहेको त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीहरूको दैनिकी भने फरक छ । विद्यालय जाने आउने दैनिक काम जस्तै विद्यार्थीहरू नै वन्यजन्तुको संरक्षणमा लागेका छन् भन्दा धेरैलाई अनौठो पनि लाग्न सक्छ । तर उनीहरू नयाँ मान्छेलाई वन्यजन्तुको बारेमा सजिलै बताउन सक्छन् । यो विद्यार्थीले प्रत्यक्ष रूपमा सिकेको ज्ञान भएकोले पनि अरूलाई सजिलै बुझाउन सक्छन् । सिकाईलाई सधैँ कक्षामा मात्र सीमित राख्नु हुदैँन भन्ने मधुवन नगरपालिका–१ पत्थरबोझीका आदित्य बिकको मान्यता रहेको छ ।
आफ्नो पढाईलाई कुनै असर नपर्ने गरी साँझ बिहानको समयमा बोटबिरुवा सिजनमा रोप्ने र रोपेको बोटबिरुवाको रेखदेख गर्ने कुनै मान्छेहरूसँग वन्यजन्तुको चराचुरुङ्गी संरक्षकको बारेमा बताउने आदित्य उमेरले सानो भएपनि एक परिपक्क व्यक्ति झै कुरा गर्छन । उनि भन्छन्– ‘ मेरो घरको आँगन, मैले खेल्ने चौर र बाटोबाट हात्ती, गैँडा बाघ, मृग, जरायो, रतुवा लगायतको जनावर सजिलै देख्न पाइन्छ । यो संसारको मान्छेको लागि अनौठो विषय हुन सक्छ । त्यसैले होला यहाँ धेरै पर्यटक हेर्न पनि आउँछन् । जसले गर्दा मेरो गाउँको परिचय फेरिएको छ । कयौँले रोजगारी पाउनु भएको छ । त्यसकारण पनि प्राकृतिक सम्पदाको महत्व बुझेका छौ । कतिपय विद्यार्थीले पढेको वा भिडियोको माध्यमबाट हेरेका जनावर हामी प्रत्यक्ष देख्न पाउँछौ । तर कहिलेकाँही जनावरले मान्छे मारेको खबर सुन्दा नराम्रो लाग्छ । प्रकृति सबैको साझा घर हो भन्ने बुझ्न भएको आदित्य भन्नुहुन्छ, ‘हप्ताका कहिलेकाँही ५÷६ पटकसम्म बाघ देख्छौं । यो एक साहसिक पल हो जस्तो लाग्छ ।
त्यसैगरी इको क्लबमा सदस्य मञ्जु चौधरीले वन्यजन्तु संरक्षणमा जोडिएपछि वन्यजन्तु र प्रकृतीको महत्व बुझेको बताउनु हुन्छ । हिजोसम्म वन्यजन्तु, चराचुरुङ्गी, बोटबिरुवा सामान्य हुन भन्ने लाग्द्थ्यो । तर प्रकृतिमा मानिस बोटबिरुवा वन्यजन्तुको सम्बन्ध कस्तो हुन्छ भन्ने बुझ्न थालेको बताए ।
एनले भने, ‘वन्यजन्तु संरक्षणको अभियानमा जोडिए पछि विभिन्न कार्यक्रममा सहभागी हुन पाउँदा मेरो बोल्न सक्ने बानीको समेत बिकास भएको छ । भने बैठकहरू जादाँ धेरै कुरा सिक्ने अवसर पाएकी छु । वन बिनाको जिन्दगीको परिकल्पना पनि गर्न सकिदैन भन्ने बुझ्न थालेपछि बृक्षरोपण गर्नेदेखि लिएर वन्यजन्तुको संरक्षणमा लागेको छु ।’
बर्दिय राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार रामले चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानले वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण योगदान रहेको बताए । उनले भने – ‘निकुञ्जभित्र चोरी किसार गर्ने आउने मान्छेलाई पक्राउ गर्ने अधिकार नभएपनि युवा परिचालन अभियानमा आवद्ध रहेका युवा र विद्यार्थीहरूकोे दिने सूचनाले चोरी सिकारको नियन्त्रणमा महत्वपूर्ण योगदान रहेको छ ।’
उनले समुदायले नै वन्यवजन्तुको चोरी सिकार नियन्त्रण र संरक्षणमा जोडिएको पनि वन्यजन्तुको संरक्षणमा समुदायको योगदान रहेको बताए । । निकुञ्जले युवा परिचालन अभियानलाई आर्थिक रूपमा कुनै सहयोग नगरे पनि युवाहरू संरक्षण अभियानमा जोडिएको कुरा सकात्मक रहेको बताउछन् ।
आदित्य र मञ्जु झैँ मधुवन नगरपालिका १ की मेलिना पनि वन्यजन्तुको संरक्षणमा जोडिन पाउनु एक सुखद अनुभव भएको बताउछन् । उनि भन्छन् – ‘पहिला कसैले नचिनेको मेरो गाउँको परिचय फेरिएको छ । त्यो वन्यजन्तुको सरक्षणको कारण नै हो । त्यसकारण पनि वन्यजन्तुको संरक्षण गर्नु जरुरी छ । वन्यजन्तुलाई संरक्षण गर्न सकेमा पर्यटकहरू हेर्न आउँछन् । आम्दानीको स्रोत बुद्धि हुन्छ । अनि हाम्रो जीवन चलाउन पनि सजिलो हुन्छ । त्यसैले पनि वन्यजन्तुको संरक्षण गर्न जरुरी रहेको छ । बन जगंल वन्यजन्तुको घर हो । तर हामी उनीहरूको घरमा जाँदा आफ्नो सुरक्षाको लागि पनि वन्यजन्तुले आक्रमण गर्छ । त्यसकारण वन्यजन्तुको जानु हुदैन ।’
मध्यवती क्षेत्रका तीन हजार भन्दा बढी युवा चोरी सिकार नियन्त्रण परिचालन युवा अभियानमा आवद्ध रहेका पाइएको छ । निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा हुने चोरी सिकार नियन्त्रण र वन्यजन्तुको संरक्षण गर्नका लागि तीन हजार भन्दा बढी युवा चोरी सिकार नियन्त्रण परिचालन युवा अभियानमा आवद्ध रहेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र एक सय २० वटा हात्ती, एक सय २५ बाघ र ३८ एकस्रिँगे गैडा, ९१ बाह्रसिगै र पाँच सय १३ प्रजातीको चरा लगायतका जनावर रहेको बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
वन्यजन्तु संरक्षण चोरी सिकार नियन्त्रण परिचालन युवा अभियान र विद्यालयमा रहेको इको क्लबको महत्वपूर्ण भूमिका रहेको संरक्षण अधिकृत पुरुषोतम वाग्ले बताए । उनले भने– ‘युवा परिचालन अभियान जस्तै बिद्यालयमा इको क्लब गठन गरिएको छ । इको क्लब आवद्ध रहनु भएको विद्यार्थी, शिक्षकलाई निकुञ्जले तालिम दिने गरेको छ । इको क्लबमा आवद्ध हुनु भएका विद्यार्थीहरू पनि संरक्षण लाग्नु भएको छ । निकुञ्जले पनि इको क्लबमा आवद्ध रहनु भएका विद्यार्थीलाई विभिन्न अवसरमा निकुञ्जमा समेत घुमाउने गरेको छ ।’ विद्यार्थीलाई वन्यजन्तुको बारेमा नजिकबाट बुझ्न र विद्यार्थीले नै संरक्षणको अभियानमा जोडिने विषय सकारात्मक भएको अधिकृत वाग्लेले बताए । युवा र विद्यार्थीले संरक्षण गतिविधिका जोडिएकोले पनि पछिल्लो समयमा समुदाय समेत सकारात्मक बन्दै गरेको संरक्षण अधिकृत वाग्ले धारणा रहेको छ
वन्यजन्तुको संरक्षणको लागि नेपाली सेना, निकुञ्जका वन रक्षक, युवा तथा विद्यार्थीले सयुक्त रूपमा गस्ती गर्ने गरेको पाइएको छ । सामुदायिक बनभित्र हुने अवैध गतिबिधि रोक्न ५०/६० जनाको समूह बनाएर सयुक्त गस्ती गर्ने गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान रहेको सूर्यपटुवा उपसमितीका अध्यक्ष गोबिन्द थारुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाँही इको क्लबका सदस्यलाई सामुदायिक वनमा गस्ती गर्न लैजाने गरेको छौ । जसले गर्दा बिद्यार्थीहरूले प्रत्यक्ष देखेर र भोगर पनि धेरै कुरा सिक्न सक्छन् । समुहमा हिँड्ने भएकोले जोखिम हुदैँन् । बिद्यार्थीहरूले वन्यजन्तुको बानी व्यवहार बुझ्न सक्छन् । यात्रामा क्रममा फरक अनुभव पनि गर्ने भएकोेले पनि इको क्लबका विद्यार्थीलाई लैजाने गरिएको छ ।
मानिस प्रकृतीसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा नै जोडिएको छ । तर प्राकृतिक सम्पदा अत्याधिक विनाले गर्दा पछिल्लो समयमा ठूला–ठूला प्राकृतिक विपत्तीको मानिसहरूले सामान गरिरहनु परेको छ । प्रकृतिको बिनाश पनि गर्ने मानिसले नै हुन । तर विद्यार्थी जीवनबाट नै प्रकृतिको संरक्षण र प्रवद्र्धनमा जोडिएको आदित्य, मन्ञु र मेलिना जस्ता विद्यार्थीहरूले प्रकृतिको संरक्षणमा गरेको योगदान अमूल्य छ । विद्यार्थीहरू नै संरक्षण जोडिएको विषय संसार कयौँ देशका लागि नयाँ र नवीन हुन सक्छ ।