© २०२३
पाल्पा ।
पाल्पा जिल्लाको सदरमुकाम जोड्ने पुर्व दक्षिण क्षेत्रका हजारौ जनता आवतजावत गर्ने सालघारीको गोरेटो बाटो हराएको छ । उत्तर–दक्षिण जोड्ने नुनमार्गको मस्यामदेखि रानीठाटी हँुदै हार्थोक देखि खुत्तङ हुदै रिडी पुग्ने गोरेटो बाटो पनि हराएको छ । मोटरेवलको विकास नहँुदै जुन शव दहन गर्ने दक्षिण उत्तरको बाटो पनि हो ।
माडी फाँटदेखि लामडाँडा सिद्धार्थ राजमार्ग जोड्ने गोरेटो बाटो हराएको छ । यस बाटोमा पुर्व र दक्षिण क्षेत्रका करिव ३० भन्दा बढी गाउँका हजारौ जनतालाई तानसेनसंग जोड्ने बाटोको विकल्पमा नयाँनयाँ मोटर गुड्ने सडक निर्माण भएपछि यस्ता बटुवा आवतजावत गर्ने गोरेटो बाटो हराएको छ । निस्दी गाउँपालिकाको मित्याल देखि अरुणखोला व्यापारीक गोरेटो बाटो जहाँ हजारौ जनताले कृषि उपज पु¥याएर फर्कदा नुन तेल, लत्ता कपडा ल्याउने गोरेटो बाटो हराएको छ ।
सदरमुकाम तथा व्यापारीक केन्द्रलाई जोड्ने यस्ता पुराना गोरेटोको बिकल्पमा समय र बिकासको आवश्यकताका कारण मोटरेवल सडक बनेपछि एकपछि अर्को गर्दै हराउन पुगेको हो । यस्ता गोरेटो मध्ये वौघा पोखराथोकदेखि तानसेन –तम्घास सडक खण्डमा पर्ने जोर्ते सम्मको गोरेटो बाटो सम्म हराएको स्थानीय बताउँछन् । बुटवल–तानसेन राष्ट्रिय राजमार्गले जोडिनु पुर्व बुटवल–तानसेन जसलाई नुन मार्ग पनि भनिन्छ । नुन बोक्न प्रयोग भएको गोरेटो बाटो समेत हराउन पुगेको मस्यामका स्थानीय जुद्ध बहादुर थापा बताउँछन् ।
बुटवल पाल्पाको गोरेटो बाटो कति बेला पनि खुला हुँदैनथ्यो । भारी बोक्ने भरियाहरु उल्लेख्य संखयामा हुन्थे । ठाउँ ठाउँमा बास बस्ने, खाना बनाउनेहरुको घुइँचो हुन्थ्यो । साँझपख बास बस्नेहरुको रमाइलोले गर्दा बाटै गुन्जायमान हुन्थ्यो । त्यस्त पुराना दिनहरु आज सपना जस्तै लागेको मस्यामकी सुन्तली कार्की बताउँछिन् । नुन मार्गका कारणले “मस्याम गाउँको चहलपहल भिन्नै थियो । आज त्यही गोरेटोमा हिड्नै नमिल्ने गरी सालका पातले पुरिएर बसेको छ”–उनले भनिन् ।
तानसेनमा २०२७–२०२८ मा मोटरबाटो पुग्यो, हरायो नुनमार्ग । नुनमार्गको विकल्पमा सिद्धार्थ राजमार्ग भयो । गुल्मी सडक निर्माण हुनु भन्दा अगाडि तानसेनदेखि प्युठान, रुकुम रोल्पालाई जोड्ने गोरेटो भनेको चण्डीभज्याङ हँुदै जोर्ते निस्कने गोरेटो बाटो हो । यस बाटोमा साहु महाजनहरु घोडा खच्चडमा सवार हुन्थ्ये भने गरिवहरु भारी बोकी पैदल हिड्थे । तर आजभोलि यस्ता बाटोको निसानै मेटिएको र भरियाहरु पनि देख्न छोडेको स्थानीय मानबहादुर रेश्मी बताउँछन् ।
बटुवाका लागि भनेर बाटो किनारामा पाटी पौवा, पानीका धारा, इनार कुवाहरु बनाउने, बटुवाको लागि थकाई मेटाउन र शित्तल हावाका लागि भनेर वर, पिपल, स्वामीको रुख, आँप जस्ता ठुला ठुला बृक्षहरु लगाउने चलन पनि थियो । वैशाख महिना भरी रुखको फेदमा माटाको गाग्रोमा पानीको व्यवस्थापन गरिदिने प्रचलन थियो । जब विकासले मोटर बाटो गाउँका बस्ती बस्तीमा पुग्यो, पुराना रितीरिवाज धर्म, संस्कृतिहरु हराउँदै गएको रेश्मी बताउछन् । “पुराना पुराना पिपल, वरका रुखहरु हराउँदै गए”–उनले भने ।
एउटा जिल्लादेखि अर्को जिल्ला, सदरमुकाम तानसेनलाई यस्तै यस्तै पुराना पुराना गोरेटो बाटोले धेरै पुस्तालाई जिवन दिएको थियो । तानसेनलाई यस्तै बाटोले सजाएको थियो । “मोटर बाटोको विकास पछिल्लो २०६० सालपछि गाउँगाउँका बस्ती बस्तीमा डोजरको प्रयोग गरी मोटर बाटो बनाउने क्रम अगाडि बढ्यो, जब मोटर बाटो घर घरमा पुग्यो हराउन पुग्यो गाउँ बस्तीको गोेरेटो बाटो”–उनले आफ्नो अनुभव सुनाए ।
रोजगारी गुम्यो
वुटवल–तानसेनलाई सडक संजालले जोडिनु पुर्व पोखरादेखि वाग्लुङ, पर्वत, म्याग्दी, गुल्मी सम्म हिंड्ने यात्रीहरुको लागि बुटवलको मुख्य द्वार भनेको मस्याम थियो । यसलाई नुनमार्ग पनि भनिन्थ्यो । बाटैभरी होटलहरु थिए । यस्ता होटलहरुमा सयौंले रोजगारी पाएका थिए । यस्ता होटल भट्टीहरुमा भारतीय सेनामा कार्यरत संगै भारतमा निजी क्षेत्रमा काम गर्नेलाई पनि लाउरे भनिथ्यो । त्यस्ता यात्रीहरु हिंड्नेको ताती नै हुन्थ्यो । तिनैले होटलहरु भरिभराउ हुन्थे । होटलहरुमा राम्रो व्यापार हुन्थ्यो । त्यतिबेला गाउँमै तयार गरिएको लोकल रक्सी , कुखुरा, बाख्राहरु गाउँमै खपत हुन्थ्यो । गाउँको पैसा गाउँमै रहेको मस्यामका स्थानीय ८० वर्षीय कर्ण बहादुर कार्की बताउँछन् ।
गुल्मीको बाटो नखुल्दै जोर्तेमा बाटोभरी सयौंको संख्यामा होटलहरु थिए । त्यतिबेला जोर्तेको होटल भन्ने पनि निकै चर्चामा पनि थिए । बास बस्नेको सख्या पनि ठूलो हुन्थ्यो । भारत बाट घर आएका र भारत फर्किनेहरुले होटल भरीभराउ हुन्थे । त्यो समय बिजुली बत्ती र मोटर बाटो भन्ने थिएन । भारतबाट आउनेहरु ठुलो टेप बजाउँदै आउँथे । भारतबाट आउने लाहुरेहरुको झोला बोक्ने भरिया पनि हुन्थे । तिनैले जोर्तेका होटलहरु भरिभराउ हुन्थे । गुल्मीको मोटरबाटो खुलेपछि जोर्ते आज सुनसान भएको स्थानीय झमानसिंह दलार्मी बताउँछन् ।
तानसेनमा सरकारी कार्यालयको कामका लागि आउने जाने होस् वा अन्य कामका लागि तानसेन आउने जानेको लागि वरपरका गौडा गौडामा खाजानास्ताका पसलहरु हुन्थे । साल , वा अन्य पातहरुबाट बनाइएका दुना टपरीमा खाजा खानेले चौपारीहरु भरिन्थे । बाटामा साना साना गुरुङ, थकाली, नेवारहरुका,पसलहरुबाटै भरी भएको खिमबहादुर थापा बताउँछन् ।