© २०२३
बुटवल
सुनवल नगरपालिकाको सबै भन्दा अग्लो ठाउँमा रहेको महलपोखरी भन्ने स्थान छ । त्यहाँ रहेको तालको नामबाट ठाउँको नामाकरण गरिएको थियो । तर अहिले त्यहाँ पुग्ने कसैले पनि ताल वा पोखरी देख्न पाउँदैनन् । डेढ दशक यता तालको नामोनिशान मेटिएको छ । पहिले पानी हुने ताल क्षेत्रमा अहिले गहँु र मुसुरोको खेति मौलाएको छ । पहिलेको ताललाई अहिले स्थानीय बासिन्दाले खेत बनाएर खेतीपाती गरिरहेका छन् भने तालको कुनै भागमा पनि पानी छैन । बर्खायाममा तालमा पानी भरिएपनि हिउँद लाग्नासाथ पानी सुक्ने भएकोले स्थानियले तालमा खेतीपाती गरिरहेका छन् । वरिपरिको वनबाट आउने पतिङ्गर र छेउछाउको खेतबाट बगेर आउने माटो तालमा थिग्रिएकोले तालमा हिउँदमा पानी अडिन छोडेको छ । तालमा पानी सुकेर चौर बनेपछि खेतीपाती गर्न थालिएको छ ।
लुम्बिनी प्रदेशका चुरे पहाडदेखि हिमाली लेकसम्मको सबैजसो पहाडी जिल्लाहरुमा साना ठुला थुप्रै प्राकृतिक र कृतिम ताल तलैया, खोला नदि जस्ता सिमसार क्षेत्रहरु रहेका छन् । पूर्वी रुकुममा कमल दह, प्युठानमा झिमरुक खोलाको जलाधार क्षेत्र, अर्घाखाचीको पाणिनी दह र डमरु दह, गुल्मीमा ठिमुरे दह, पाल्पाका सत्यवती, प्रवास ताल , सुकेताल र तिनाउ जलाधार तथा पश्चिम नवलपरासीको महलपोखरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका मुख्य सिमसार क्षेत्रहरु हुन् । दाङ्गको चुरेकै काखमा अवस्थित बाह्रकुने दह, जाखिरा ताल तथा पाल्पा जिल्लाको अन्न भण्डार भनिने माडी फाँटको दलदल जमिन ठूलो प्राकृतिक सिमसार क्षेत्रको रुपमा रहेका छन् । चुरेदेखि उच्च पहाडी भूभागसम्म पाइने विविध पारिस्थितिक प्रणाली भित्र सिमसार क्षेत्रहरूले वातावरणिय सेवा मात्र प्रदान नगरी स्थानीय क्षेत्रमा खानेपानी, सिचाई सुबिधा समेत पु¥याइरहेका छन् ।
आर्थिक, सामाजिक , सास्कृतिक र पर्यावरणीय रुपमा सेवा पु¥याइरहेका पहाडका सिमसार क्षेत्रहरु भने पछिल्लो समयमा जोखिममा परेका देखिन्छन् । चुरे तथा पहाडमा प्राकृतिक रुपमा बनेका सिमसारहरु भूस्खलन र निक्षेपणको कारणले पुरिदै गएका छन् । छेउछाउको जंगल क्षेत्रबाट बगेर आउने पानी डाँडाको विचमा बनेको गहिरो भागमा जम्मा हुँदा तालको स्वरुप लिन पुगेका पहाडका तालहरु वर्षातको समयमा वरिपरिको अग्लो भागबाट पानीले बगाएर ल्याउने ग्रेगर, माटो र पात पतिंङ्गरले गर्दा पुरिदै गएका देखिन्छन् ।
अहिले नवलपरासीको महलपोखरी लगभग लोप भैसकेको छ भने लुम्बिनी प्रदेशको पहाडी क्षेत्रकै सबैभन्दा ठुलो पूर्वी रुकुमको कमल दहको अधिकांश भाग वर्खा सकिने वित्तिकै केटाकेटी खेल्ने चौरमा परिणत हुने गरेको छ । थरिथरिका कमलका फूलहरुले ढाकिने यो ताल वरिपरिको भूस्खलन र तालको सरसफाइको कमीले गर्दा पुरिदै गएको छ ।
नेपालको महत्वपूर्ण धार्मिक स्थलहरु मध्येमा पर्ने पाल्पाको सत्यवती ताल सबै भन्दा जोखिममा परेको देखिन्छ । तालको पूर्वी र उत्तरी भाग पुरिएर घाँसे मैदान बनिसकेको छ । दुई दशक अघिसम्म हिउदको समयमा समेत तालमा प्रशस्त पानी हुने गरेको देखिएपनि अहिले तालको एक चौथाई भागमा मात्र पानी रहेको देखिन्छ । अर्घाखाँची जिल्लाको ठाडामा रहेको डमरु दहको आफ्नै पानीको मूल नभई वरिपरीको पानी जम्मा भएर तालमा पानी भरिने गरेकोमा पछिल्ला वर्षमा ताल वरिपरिको जमिन मरुभुमिकरणमा गएकोले वर्षात्को समयमा तालमा लेदो पानी भरिदा तालकै भविस्य संकटमा परेको छ । सत्यवती र डमरु दह वरिपरी पक्कि पर्खाल र कुलो बनाएर तालमा पस्ने लेदो पानी रोक्ने प्रयास गरेको भएपनि यस्ता कार्यले तालमा पानीको मात्रा वृद्धि गर्न र तालको प्राकृतिक अवस्था जोगिन सकेको छैन ।
पहाडी क्षेत्रमा अव्यवस्थित ढंगले बाटो खन्ने, सिमसार वरिपरी खेतीपाती गर्ने र वन क्षेत्रमा डढेलो लगाउने जस्ता कार्यले सिमसार वरिपरिको सतह कमजोर भएकोले थोरै पानी पर्दापनि बग्ने र पानीले गेग्रान, माटो होचो सतहमा अवस्थित ताल तलैयामा थुपार्दा तालहरु पुरिदै जाने क्रम बढेको छ । पहाडका खोचमा भएका तालहरु आफ्नै मूल नभएको र निक्षेपणको कारणले पुरिदै गएका छन् भने चुरे र पहाडका अग्ला ठाउँमा भएका सिमसारको पानी त्यहाँको कमजोर भुबनोटको कारणले सजिलै चुहिएर जाने भएकोले पहाडी क्षेत्रका सिमसारहरु सुक्ने क्रम बढिरहेको छ ।
पछिल्लो दशकमा पहाडी क्षेत्रमा अबैज्ञानिक ढंगले सडक निर्माण गर्ने कामले तीव्रता पाएको छ । अन्धाधुन्द ढंगले पहाड खन्दै सडक बनाउदा पहाडका तालतलैया पुरिने, जलमार्ग अवरुद्ध वा परिवर्तन हुने गरेको देखिएको छ । जसले गर्दा पहाडका सिमसारलाई पानी उपलब्ध गराउने श्रोतहरु सुख्खा भै पहाडका ताल, दह, पोखरीहरु सुक्दै गएका छन् । चुरे र पहाडी क्षेत्रमा बढिरहेको वन विनाश, अनियन्त्रित ढंगले भैरहेको खानी उत्खनन र अवैज्ञानिक ढंगले बाटो खन्ने प्रवृतिले गर्दा ति क्षेत्रको पानी सोस्न सक्ने क्षमतामा ह्रास आएकोले ताल र अन्य सिमसार क्षेत्रहरु सुख्खा हुदै र पुरिदै गएको संरक्षणकर्मिहरुले बताउँदै आएका छन् ।
पहाडी जिल्लाहरुमा खोल्साखोल्सी पुर्ने, पर्खाल लगाएर जल बहाव मार्ग साँघुरो बनाउने, पुराना पोखरी र धापिला जमिन पुरेर खेत र घडेरी बनाउने कार्य एक दशक यता निकै मौलाएको छ । प्लटिंग ब्यापार र भूमाफियाहरुको कारणले सिमसारहरु संकटमा परिरहेका छन । तानसेन नगरपालिकाको प्रभासमा रहेको प्रसिद्ध प्रभास ताल लुम्बिनी मेडिकल कलेज र छेवैको प्लटिङ्गको कारणले खुम्चिएर सानो पोखरी जस्तो बनेको छ । मानवीय अतिक्रमणको मारमा परेर पाल्पाको माडी फाँट, तिनाउ खोलाको जलाधार क्षेत्र, गुल्मीको तालखोला र बडिगाड खोला, प्युठानको झिमरुक खोला, अर्घाखाँची हुदै पाल्पा आउने रिडी खोलाको जलाधार क्षेत्रमा रहेका सिमसारहरु नासिदै र सुक्दै गएको देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारको हरेक वर्षको नीति कार्यक्रममा जलाधार संरक्षणका कार्यक्रमहरु समावेश भैरहेका छन् । पहाडी क्षेत्रलाई सुख्खा हुन् नदिनको लागि भन्दै वन डिभिजन कार्यालय मार्फत वनमा पानी संकलन गर्ने पोखरी निर्माणका कामहरु पनि भैरहेका छन् । चालु आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालयको वार्षिक कार्यक्रममा सिमसार क्षेत्रको व्यवस्थापन तथा जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत वनमा रहेका मौजुदा पोखरीहरुको संरक्षण र नया पोखरी निर्माण, खोला खोल्सी व्यवस्थापन जस्ता कार्यक्रमहरु समावेश गरीएको छ । तर यस्ता कार्यक्रम मानविय दोहन र जलवायु परिवर्तनको कारणले सुख्खा हुँदै गएका पहाडी क्षेत्रका सिमसार क्षेत्रलाई जीवित राखिरहन पर्याप्त देखिदैनन् ।
भूमिगत जलश्रोत र पानीका अन्य श्रोतहरुलाई जीवित राख्दै खानेपानी उपलब्धता, सिचाई , पशुपालन र वन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेका सिमसारहरु मासिदै जानु दुर्भाग्य हो । पहाडका सिमसारमा पहाडको पर्यावरणीय र सामाजिक जीवन मात्र जोडिएको छैन, तराईको भविस्य पनि गाँसिएको छ । सिमसारहरु हराउदै गए भने पहाडले तराईलाई भविष्यमा कसरी पानी उपलब्ध गराउन सक्छ र?