© २०२३
सल्यान, २ असार ।
कर्णाली प्रदेको प्रवेशद्वार सल्यानको कपुरकोट । शिक्षाको ज्योती फैलाउन भन्दै २०४६ सालमा यहाँ एक सामुदायिक विद्यालय स्थापना भयो । निकै चुनौती, समस्या र अफ्ठेराहरु ब्यहोर्दै अघि बढ्दै गरेको कालिमा माध्यमिक विद्यालयले २०६७ सालमा झन ठूलो विपत्तिको सामना गर्नुपर्याे । अविरल वर्षाका कारण राप्ती लोकमार्गमाथि रहेको विद्यालय सडक संँगै भासियो । नजिकै अर्काे स्थानमा विद्यालय सञ्चालन गरियो । नयाँ स्थानमा पनि २०७५ सालमा विद्यालय भवन नजिक पहिरोले क्षति पुर्यायो । यतिखेर भने साथमा स्थानीय सरकार थियो । विपत्तिबाट उठ्दै शिक्षक, अभिभावकको साथ सहयोग तथा राज्यको लगानीलाई भरपुर उपयोग गर्दै तय भएको छ कालिका माविको अब्ल यात्रा ।
विद्यालयमा हाल ३ तलाको १६ कोठे चिरिच्याट्ट परेको भवन छ । विद्यालयको बाहिरी स्वरुप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने गरी भुई बसाई व्यवस्थापन राम्रो देख्न सकिन्छ । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छन् । खानेपानी र शौचालय पनि बालमैत्री छन् । नियमित हुने अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्साहको साथ सहभागी हुन्छन् । विद्यालयका प्रधानाध्यापक आफै ४ वटा कक्षा पढाउँछन् ।
१८ जना शिक्षक, कर्मचारी र ४१२ जना विद्यार्थी संख्या रहेको कालिका माध्यमिक विद्यालय नमुना बन्दै गएको छ । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको भन्दै कतीपय सरकारी विद्यालयको नाम लिने वित्तिकै नाक खुम्च्याउननुपर्ने अवस्था रहेकोमा यो विद्यालयले भने सबै सरकारी विद्यालय एउटै वर्गका हुँदैनन् भन्ने पुष्टी गरेको देख्न सकिन्छ ।
पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुले जतिसक्यो मिहेनत गरिरहेको र विद्यालयको विकासका लागि नियमित रुपमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीको बैठक बसी आवश्यक योजना तर्जुमा गर्दै अघि बढिरहेको प्रधानाध्यापक चुडामणी केसी बताउँछन् । विद्यालयमा चार वर्षसम्म सञ्चालन भएको साक्षरता कार्यक्रमले पनि राम्रो सहयोग र प्रभाव पारेको भन्दै उनले अहिले कक्षा ४ सम्म बालमैत्री भुँई बसाई व्यवस्थापन गरिएको छ । यी कक्षामा बुक कर्णर रहेका छन् भने कक्षा १ देखी ३ सम्म अंग्रेजि माध्ययममा पढाई हुन्छ । यसलाई निरन्तरता दिदै कक्षा ८ सम्म लैजाने लक्ष्य रहेको प्रधानाध्यापक केसी बताउँछन् ।
विद्यालयमा पुरस्कालय र लाईब्रेरियनको पनि व्यवस्था छ । पुस्तकालयमा करिव ६ हजार पुस्तक छन् । पठनपाठनमा प्रविधिको प्रयोगलाई जोड दिइएको छ । हरेक शिक्षकको हातमा ल्यापटपको व्यवस्था छ । २४ वटा डेक्सटप कम्प्युटर छन् । कक्षा ९ र १० का विद्यार्थीले प्रयोगात्मक तरिकाले कम्प्युटर विषय पढ्छन् । तल्लो तहका कक्षामा पनि कम्प्युटर पढाई हुने गरेकोमा यस वर्षदेखी स्थानीय पाठ्यक्रम लागू भएपछि कक्षा ९ र १० मा मात्रै कम्प्युटर विषयको पढाई हुन्छ ।
खानेपानी, सरसफाई, स्वास्थ्यमा पनि विशेष जोड दिइएको छ । जिल्लामै नमुनाको रुपमा स्वच्छ खानेपानीको प्रवन्ध छ । यसमा तत्कालिन स्थानीय सरकार (कपुरकोट गाउँपालिका) का अध्यक्ष भिम बहादुर सेनलाई विद्यालयले सम्झिन्छ । बालमैत्री रुपमा स्वच्छ खानेपानी, शौचालयसंँगै छात्राहरुको लागि विद्यालयमा विश्राम कक्षको व्यवस्था स्थानीय सरकारले गरिदिएको थियो । छात्रा विश्राम कक्षमा छात्राहरु महिनावारी भएमा विश्राम गर्ने बेड, प्रशस्त स्यानेटरी प्याडको प्रवन्ध छ । जसले गर्दा छात्राहरु महिनावारीको बेला पनि निसंकोच विद्यालय आउने गरेका छन् । विभिन्न भौतिक पूर्वाधारको अभाव झेलिरहेको कालिका माविमा फिल्ड निर्माण, तारबार, प्राँगणमा टायल विछ्याउने काम गरेकाले पनि विद्यालय परिवारले तत्कालिन गाउँपालिका अध्यक्ष सेनलाई सम्झने गरेको हो । विपतमा परेको विद्यालयलाई माथि उठाउन स्थानीय, प्रदेश र संघीय सरकार संगै विभिन्न शिक्षाप्रेमीहरुको पनि महत्वपूर्ण सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
विद्यालयमा सबै विषयगत शिक्षकको व्यवस्थापन भएको जनाउँदै अव देखि कक्षा ११ को पनि पढाई शुरु गर्ने तयारी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर सेनले बताए । गाउँपालिकाबाट कक्षा ११ र १२ सञ्चालनको अनुमति लिइसकेको विद्यालयले परीक्षा बोर्डमा पनि दर्ता प्रक्रियाका काम सम्पन्न गरिसकेको छ । विद्यालय सुधारका लागि आफुहरु निरन्तर लागिपरेको भन्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष सेनले नियमित रुपमा दुई महिनाको एकपटक र आवश्यक परेमा अन्य बेला पनि विद्यालय व्यवस्थापन समिति बैठक बसी छलफल तथा निर्णय गर्ने गरेको बताउँछन् ।
मोहनलाल पुन अध्यक्ष रहेको शिक्षक अभिभावक संघको बैठक पनि नियमित हुन्छ भने हरेक महिनाको अन्तिम दिन शिक्षकहरु बैठक बसेर पठनपाठन सुधारको लागि आवश्यक छलफल गर्ने गरेका छन् । साथै महिनाको अन्तिम दिनमा एक महिनाभरी भएको पढाइको पुनरावलोकन हुने गरेको प्रअ केसीले जानकारी दिए । हरेक शुक्रबार अतिरिक्त क्रियाकलापलाई पनि विशेष प्राथमिकता दिइएको छ भने हरेक शिक्षकलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको छ ।
प्रअ केसीका अनुसार विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालयमा नै खाजा तयार गर्ने गरिन्छ । हरेक बार फरक फरक खाजा तयार पारेर कक्षा ६ सम्मका वालवालिकालाई खुवाउने गरिएको उनको भनाई छ । फरक फरक दिन फलफुल, चना अण्डा, समोसा, खिचडी, हलुवा तयार गरेर दिवा खाजाको रुपमा खुवाउने गरिएको विद्यालयले जनाएको छ ।
तथापी विद्यालयमा भौतिक संरचनासंगै फर्निचर लगायतको अभाव अझै छ । कक्षा ११ र १२ सञ्चालनको तयारीमा रहेको विद्यालयलाई तत्काल ४ कोठे भवनको आवश्यकता रहेको केसीले बताए । विद्यार्थी संख्या अनुसार फर्निचरको पनि पर्याप्तता नभएको भन्दै उनले विद्यालय प्रांगणमा टायल विछ््याउने काम पनि बाँकी नै रहेको बताए ।