© २०२३
बुटवल, १ असार ।
यौन शिक्षा कसलाई आवश्यक छ ? धेरैको उत्तर हुन्छ, विवाहित दम्पत्तीलाई । तर, त्यसो होइन । किशोर किशोरी उमेरमा यौन शिक्षा अझ आवश्यक छ । यही बुझेर पाल्पाका विभिन्न स्थानीय तहका बालक्लब र किशोरकिशोरी समूहलाई यौन तथा प्रजनन शिक्षा दिन थालिएको छ ।
सामान्यतया १० वर्षदेखि १९ वर्ष उमेर समूहका व्यक्तिहरु किशोरकिशोरी हुन् । यसअवस्थामा उनीहरुमा शारीरिक र मानसिक परिवर्तन देखा पर्छन् । प्रजनन अंगमा परिवर्तन आउने, लजाउने, विपरित लिंगीप्रति आकर्षित हुने र यौन चाहना उत्पन्न हुन्छन् । किशोरकिशोरीहरु यौनबारे बढी नै जिज्ञासु हुन्छन् । तर यौन के हो जान्दैनन् । यी परिवर्तन् किन हुन्छन् र यस उमेरमा यौन सम्पर्क गर्नु हँुदैन भन्नेबारेमा पनि अन्जान हुन्छन् । फलस्वरुप असुरक्षित यौन सम्पर्क हुने, यौनजन्य हिंसा हुने, गर्भवती बन्ने र असुरक्षित गर्भपतन गर्दा ज्यानकै जोखिम हुने गरेका छन् । सानो उमेरमा गरिने यौन सम्पर्कले पाठेघरको क्यान्सर हुने जोखिम दोब्बर बढाउँछ । असुरक्षित यौन सम्पर्कले विभिन्न यौन रोग लाग्ने र एचआईभी संक्रमण समेत हुन सक्छ । तर, धेरै किशोरकिशोरीहरु यसबारे अन्जान छन् । यसको मुख्य कारण यौनबारे पारिवारिक र विद्यालयीय शिक्षा नपाउनु हो । हाम्रा संस्कृति र परम्परा पनि यौनका सवालमा चुपचाप छन् । यस्तो अज्ञानता हटाउन समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीले आइपास नेपालको सहयोगमा किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य सुधारका कार्यक्रम थालेको हो ।
किशोरकिशोरीलाई प्रजनन तथा यौन शिक्षा दिन विभिन्न स्थानीय तहमा अगुवा महिला राखिएका छन् । उनीहरुले बालक्लब तथा किशोरी संजाल र विद्यालयमा गएर यौन तथा प्रजनन शिक्षा दिने गरेका छन् । पूर्वखोला गाउ“पालिका १ सिलुवाकी कमला सारुले साप्ताहिक रुपमा कहिले विद्यालय त कहिले क्लबमा गएर प्रजनन स्वास्थ्य र यौन शिक्षाबारे सिकाउने गरेको बताइन् ।
यौन व्यवहारस“ग सम्बन्धित शिक्षा यौन शिक्षा हो । किशोरकिशोरीलाई हिंसाबाट बचाउन र शारीरिक एवं मानसिक रूपमा स्वस्थ राख्न प्रजनन्संगै यौन शिक्षा दिनुपर्छ । आफ्ना छोराछोरीलाई उमेरअनुकूलको यौन तथा प्रजनन स्वास्थ्यका कुरा सिकाउनु बाबुआमाको दायित्व हो । तर, परिवारका पाका पुस्ताले आफ्ना साना सदस्यलाई यौनका सवालमा खुलेर सिकाउने र बुझाउने चलन छैन । अधिकांश अभिभावकहरु यौनलाई रहस्यमै राख्न चाहन्छन् । यौनका कुरा आफूले पनि रहस्यमै बुझेको र अबको पुस्तालाई पनि समयले नै बुझाउँछ भन्ने कुरामा विश्वास गर्छन् । जुन गलत हो । राम्रो बानीव्यबहार गर र कुलतमा नलाग भनेर सिकाए जसरी जिम्मेवारी बहन गर्न नसक्ने हुँदासम्म यौन क्रियाकलापमा नलाग भनेर पनि बाबुआमाले नै छोराछोरीलाई सिकाउनुपर्छ । यसले कम उमेरमा हुने असुरक्षित यौन सम्बन्ध र त्यसले निम्त्याउने विकारबाट बचाउन सकिने प्रजनन स्वास्थ्यबारेकी अगुवा
पूर्वखोला गाउँपालिकाकी सामाजिक अगुवा धनीमाया गाहाले बताइन् ।
गाहाका अनुसार सुरक्षित र असुरक्षित यौन के हो ? असुरक्षित यौन क्रियाकलापबाट कसरी बच्ने भन्ने पनि सिकाउनुपर्छ । यसका लागि छोराछोरीलाई शरीरका अंगहरुमा गलत तरिकाले हेर्छ वा असहज तरिकाले छुन्छ भने त्यो गलत व्यवहार हो, त्यसको विरोध गर्नुपर्छ भन्ने कुरा सानैदेखि सिकाउनुपर्छ । त्यस्तो कसैले गरे आफूसित निर्धक्क भन्न सक्ने बनाउनेबारे सचेतना कक्षामा अभ्यास गराइन्छ । यसले बालबालिकालाई यौन हिंसा हुनबाट बचाउन सकिन्छ ।
किशोर किशोरीलाई यौन शिक्षा दिने अर्को प्रभावकारी स्थान विद्यालय हो । पाठ्यक्रम नै नभएपनि शिक्षकहरुले विद्यार्थीलाई यौन शिक्षा दिनुपर्छ । यसले असुरक्षित यौन सम्बन्ध हुने, गर्भाधारण हुने, मानसिक र शारीरिक समस्या देखिने हुन सक्छ । तर, विद्यालयहरुले त्यस्तो संवेदनशीलता अपनाएका छैनन् । विद्यार्थीलाई सही प्रजनन र यौन शिक्षा दिन बेला बेलामा विद्यालयका शिक्षकहरुलाई समेत सचेतना कक्षा चलाउने गरेको सामाजिक अगुवाहरु बताउँछन् ।
प्रजनन स्वास्थ्य अन्तर्गत महत्वपूर्ण ९ विषय पर्छन् । त्यसमा परिवार नियोजन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार, गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरूको रोकथाम तथा उपचार, यौन रोग संक्रमण एवं एचआईभी र एड्स, बा“झोपनको रोकथाम तथा उपचार, किशोरकिशोरीहरूको प्रजनन स्वास्थ्य, लैगिंकतामा आधारित हिंसाको रोकथाम तथा उपचार एवं प्रौढ महिलाहरूको प्रजनन स्वास्थ्य समेतका विषय पर्छन् । किशोरकिशोरीसंगै कहिलेकाही तिनका अभिभावकहरुलाई समेत प्रजनन स्वास्थ्यका हरेक विषयमा समूहमा जानकारी गराइन्छ । रम्भा गाउँपालिका हुंगाकी सामाजिक अगुवा शान्ता भण्डारीले यसले असुरक्षित यौन व्यवहार हुनबाट रोक्न समेत सघाएको बताइन् ।
पाल्पामा अझैपनि १८ प्रतिशत आमा किशोरावस्थाका छन् । किशोरी उमेरमा आमा बन्दा धेरै जोखिम देखिएका छन् । यसबाहेक किशोरावस्थामा हुने धेरै हिंसा यौनस“ग सम्बन्धित छन् । किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आधारभूत शिक्षा दिन सके उनीहरुका कौतुहलता र जिज्ञासालाई समयमै व्यवस्थित गर्न सकिन्छ । कुण्ठामा परिणत हुन र सम्भावित दुर्घटनाबाट बचाउन सकिन्छ । अधिकांश यौन हिंसा र बलत्कारका घटनामा कमी आउँछ । प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गरेको समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीका कार्यक्रम संयोजक आदर्श अधिकारीले किशोरकिशोरी अवस्थामा हुने हिंसा, दुव्र्यवहार, असुरक्षित यौन सम्बन्ध र यौन कौतुहुलता हटाउन सचेतना कक्षा प्रभावकारी भएको बताए ।