© २०२३
बुटवल,९ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब नपाएर आन्दोलित भएका बेला स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले भने तलब बुझिरहेको खुलेको छ । राजनीतिक आधारमा काजमा आएका घिमिरेले पुस,माघ र फागुन महिनाको तलब वापत एक लाख ५२ हजार रुपैयां बुझेको पाइएपछि अन्य स्वास्थ्यकर्मीहरु थप रुष्ट बनेका छन् । ती कर्मचारीहरुले थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा अहिले ७८ जना कार्यरत छन्।
दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि सङ्घीय सरकारले दरबन्दी अनुसारको मात्रै तलब पठाएको छ। त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलब नपठाएको एक स्वास्थ्यकर्मीले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दीबाहेकका कर्मचारीको तलब सरकारले नपठाउँदा समस्या भएको बताए । स्वास्थ्यकर्मीले भने आफूहरू स्थानीयमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालयसँग सरोकार नभएको बताए ।