© २०२३
बुटवल, १६ माघ
‘राम्रो कामलाई प्रचार चाहिंदैन’ यो त्यसै भनिएको होईन । राजमार्ग चौराहामा रहेको सान्ची यसको एउटा उदाहरण हो । रेष्टुरेन्टको परिकार स्वाद पारखीको जिब्रोमा झुण्डिएको छ । साथै ६६ वर्षीय मिन प्रसाद गुरुङ तीन दशकअघि पारिवारिक रुपमा सुरु गरेको रेष्टुरेन्टबाट आर्थिक रुपमा सबल बनेका छन् । अहिले उनको दोस्रो पुस्ताले नया ढंगबाट रेष्टुरेन्टलाई सञ्चालन सुरु गरेका छन् । नातिनीको नामबाट दर्ता गरेर रेष्टुरेन्ट सुरु गरेका थिए । धेरै चहलपहल हुने राजमार्ग चौराहामा कागजी रुपमा दर्ता भएर २५ वर्ष अघि खुलेको हो । घरबाहिर गएर खाने प्रचलन कमै भएको बेला मानिसहरुलाई खाजा खाने बानी बसाउन यो सफल भयो । स्याङ्जाका मिन प्रसाद गुरुङ युवा अवस्थामा रोजगारकै शिलशिलामा बुटल झरे । साथीभाईको साथमा लागेर बु्रनाई गए । वि.सं. १९९१ मा ३६ वर्षको उमेरमा उनी विदेशिए । करिब ९ वर्ष लामो समय उनी सेवा गरेर स्वदेश फर्किए । विदेशमा पनि उनलाई नेपाली खानाका परिकार पकाउने र खाने सौख थियो । साथीभाई मिलेर विदेशमा पनि नेपाली खानाका परिकार खान्थे । यही सौखलाई पूरा गर्न उनले सुरु गरे राजमार्ग चौराहामा रेष्टुरेन्ट ।
मासुका परिकार बनाउन चाख भएका उनले यही आफ्नौ सौखलाई ब्यवसायमा परिणत गरे । वि.सं. २०५४ सालमा खोलेको यो रेष्टुरेन्टले निक्कै नाम कमायो । ‘मैले साढे १२ रुपैयाँ प्लेटमा मःम बेचेको थिएँ’–उनी स्मरण गर्छन् । एक पटक स्वाद लिएका उपभोक्ता दोहोरिन सुरु भयो । बफको परिकारमा सान्चीले निक्कै ख्याती कमायो । ग्राहकको मुख्य माग नै बफको मम, चाउमिन, छोयला, सेप्टा, खागोका साथै चिल्ली, थुप्पा मुख्य आईटम हो । परिवारमा उनलाई श्रीमती र ३ जना छोराले साथ दिए । विनोद गुरुङ, विरेन गुरुङ र टकेन्द्र गुरुङ । निरन्तर उनको पेशामा दुई छोराले साथ दिए भने कान्छा छोरा अध्ययनमा लागे ।
काठमाडौ भ्यालु हाई स्कुलबाट एसएलसी पास गरेका उनी थप अध्ययन काठमाडौमा गरे । दुई वर्ष साउदी अरब बसेका उनले धेरै पेशा अपनाए । एयरलाइन्समा काम गरे, युरोपका देशहरु घुमे, दुबईमा ट्राभल एजेन्सी सञ्चालन गरेका उनी कोभिड संक्रमणपछि बुटवल फर्किए । यो उनको टर्निङ प्वाइन्ट भयो । घरमा बुने नयाँ ब्यवस्थापनमा सान्ची सञ्चालन गर्ने योजना । घरमा परिवारसंग सरसल्लाह भयो । साढे २ कट्टा क्षेत्रफललाई अहिले ब्यवस्थित गरी कान्छो छोरा टकेन्द्र गुरुङले बाबाको पेशालाई थप आधुनिकता दिएका छन् । १३ महिनामा ३ तला आधुनिक भवन तयार भयो । ग्राउण्ड फ्लोरमा रेष्टुरेन्ट सुरु गरेका छन् । उनी पहिलो तलामा बार र लाउन्च सञ्चालन गर्ने तयारीमा छन् । पारिवारबाट सञ्चालन गरेका अहिले नयाँ ब्यवस्थापनसंगै आठ जना कर्मचारीहरुले रेष्टुरेन्ट रोजगार पाएका छन् । बफको परिकारबाट पहिचान बनाएको रेष्टुरेन्टमा अहिले समय अनुसार चिकन आईटमका साथै कफीको स्पेशल परिकारहरु स्वाद पारखीहरुलाई पस्किन लागेका छन ।
‘कफीमा विश्वमा नै नाम कमाएको स्टार बक्स कफी साउदीमा मैले काम गरें’– उनले भने । जसको ३५ हजार बढी स्टोरहरु छन् । आफ्नो अनुभवलाई अहिले रेष्टुरेन्टमा मुख्य परिकारको रुपमा कफीलाई राखेका छन् । कफीको विभिन्न परिकार रेष्टुरेन्टमा स्वाद पारखीलाई पस्कने तयारीमा छन् । स्पेशल नयाँ करामेल मकिआटो परिकार हो । विश्वमै सबैभन्दा खपत हुने उत्पादन भएको उनी बताउँछन् । विदेशमा रहँदा कफी कल्चर बुझेका उनी सन २००७ सालमा विदेशमा सिकेको यो कल्चरलाई अहिले बुटवलमा झित्र्याएका छन् । उनी मानिसमा संस्कार, संस्कृतिसंग कफी कल्चर जोडिने बताउँछन् । ‘नेपालमा पनि कफी कल्चरको बिस्तारै विकास भएको छ’– उनी भन्छन् । मानिसहरुले आफ्नो स्वाद अनुसार रेसिपीको माग गरेर पिउने गर्दछन् । अन्तर्राष्ट्रियस्तरको रेसिपी पेश गर्ने रुपमा आफु लागेको उनी बताउँछन् । नेपालकै कफीलाई उनी कच्चा पदार्थका रुपमा प्रयोग गरेका छन् । सिजन अनुसार कफीको आईटमहरु लन्च गर्ने तयारीमा रहेको उनी बताउँछन् ।
रेष्टुरेन्टमा दैनिक बफ मासुका परिकारमात्र १५ किलो खपत हुने गरेको छ । यसबाहेक अहिले नयाँ ब्यवस्थापनमा आएसंगै चिकनका समेत परिकार राखिएको छ । रेष्टुरेन्टको विशेषता भनेको मःमको कच्चा पदार्थ आफै तयार गर्ने हो । ‘यसले खानामा एउटै स्वाद ल्याउने गर्छ’–उनले भने । घरमा नै मःमका किमा र अन्य कच्चा पदार्थहरु तयार गर्ने भएकाले पनि स्वादमा एकरुपता आउने गरेको उनले बताए । ‘हामीले फ्रोजन मम प्रयोग गर्दैनौ’–उनले भने । मासु लिएर आउने र बाँकी प्रोसेस आफै गर्ने भएकाले पनि स्वादमा एकरुपता छ । ‘स्वादमा एउटै छ’–उनले भने । रेष्टुरेन्टमा एक पटक स्वाद लिएका स्वाद पारखी ग्राहकहरु लामो समय विदेशबाट फर्किदा पनि आउने गरेको उनी सुनाउँछन् ।