© २०२३
निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा कार्तिकको १७ गते उपनिर्वाचन गराउने मिति घोषणा गरेपछि रुपन्देहीमा सम्भावित निर्वाचनको परिणामलाई लिएर जीत हारको गणित सुरु भएको छ । निर्वाचनको घोषणाले दलहरूमा व्यस्तता बढाएको छ । उता मतदाताहरूमा भने अहिलेसम्म खासै उत्साह छाएको छैन । तर पनि कुन पार्टीको कस्तो उम्मेदवार बन्ने भन्ने कौतुहलता मतदातामा रहेको छ ।
विगतमा रुपन्देही ३ ले धेरै जनप्रतिनिधि पाएको छ । यहाँका जनताले धेरै राजनैतिक दलका उम्मेदवारहरूलाई जिताएर पठाए तर जुन पार्टीको उम्मेदवारलाई जिताएर पठाए पनि जनताको समस्या जस्ताको त्यस्तै रहेको गुनासो बढेको अवस्थामा दलहरूलाई यो उपनिर्वाचन नयाँ पाठ बन्नु जरुरी छ । निर्वाचन आयोगले मिति घोषणा गरेपछि उपनिर्वाचनको चहलपहल सुरु भएको छ ।
अव दलहरू निर्वाचनको प्रचार प्रसारमा जुट्ने अभियान थालनी हुँदै छ । आम निर्वाचनले जस्तै उपनिर्वाचनले पनि स्थानीय मतदाताहरूमा उत्साह सिर्जना गर्नु जरुरी छ । यद्यपि उपनिर्वाचन मुलुकका लागि प्रिय होइन । उपनिर्वाचनमा देशकै पैसा खर्च हुन्छ तर यसलाई बाध्यताको उपज भन्नुपर्दछ । किनभने निर्वाचन क्षेत्र रिक्त भएपछि निर्वाचन गर्नुपर्ने बाध्यता छ । देशकै ढुकुटी खर्च हुने भएकोले यो उपनिर्वाचनलाई दल र तिनका उम्मेदवारहरूले मितव्ययी बनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । अहिलेको मितव्ययिताले कम्तीमा पनि भोलीको दिनमा आउने अरू निर्वाचनका लागि उदाहरण हुन सक्छ । तसर्थ देशका लागि यस्ता उपनिर्वाचन गर्नु राम्रो त होइन तर निर्वाचन क्षेत्र रिक्तताको अवस्थामा क्षेत्र खाली राखेर जनप्रतिनिधिविहीन बनाउनु कदापि राम्रो होइन ।
रुपन्देही ३ मा निर्वाचनको मिति घोषणासँगै सम्भावित उम्मेदवारको विषयमा चर्चा सुरु भैसकेको छ । उपनिर्वाचन हुने भएपछि त्यस क्षेत्रमा एक महिनासम्म आर्थिक गतिविधि हुने निश्चित छ । उम्मेदवारले चुनावी प्रचार प्रसारका क्रममा गर्ने खर्चले आर्थिक चहलपहलमा वृद्धि गर्छ तर बालुवामा पानी खन्याह सरह गरिने खर्चले भने विकृति निम्त्याउने गरेको विगतको उदाहरण छ । अतः यो उपनिर्वाचन विगतको भन्दा पृथक् होस् ।
विगततर्फ फर्केर हेर्दा यो क्षेत्रमा २०७० सालमा दीपक बोहोरा राप्रपाबाट विजयी भए । २०७४ मा घनश्याम भुसाल एमालेबाट जित्दा बोहरा दोस्रो भए । २०७९ सालमा दीपक बोहोरा राप्रपाबाट एमालेको साथमा यो क्षेत्रमा विजयी भए भने बालकृष्ण खाँण दोस्रो भए । २०७४ सालमा नेपाली काँग्रेसले राप्रपाका नेता दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जित्दा बोहराले २७ हजार ४२२ मत ल्याएका थिए ।
उक्त समयमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । यो क्षेत्रको निर्वाचन नतिजाले मतदाताले उम्मेदवार अनुसार मत परिवर्तन गरेको देखिन्छ । अर्थात् कुनै एक दलको वर्चस्व मतदाता आफैले तोडेका छन् । जस्तो कि विगततर्फ घोत्लिँदा २०४८ सालमा काँग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेको यो क्षेत्रमा ०५१ मा एमालेका धनपति उपाध्याय विजयी भएका थिए । उपाध्यायको निधनपछि रिक्त रहेको सो क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जिते । २०५६ सालमा फेरि काँग्रेसका रामकृष्ण ताम्राकारले जिते भने २०६४ सालमा क्षेत्र पुनर्संरचना भएपछि बालकृष्ण खाँण नेपाली काँग्रेसबाट निर्वाचित भए ।
२०४८ सालयता यो क्षेत्रमा दिवङ्गत तीन उम्मेदवार बाहेक उही पुरानै उम्मेदवारहरू पटक पटक दोहोरिएको देखिन्छ । दलहरूले नयाँ उम्मेदवार दिन सकेका छैनन् । दलहरूले अव यसमा सोच्नुपर्ने समय आएको छ । यो उपनिर्वाचनमा आशा गरौँ खर्चको हिसाबले मितव्ययी बनोस् । उम्मेदवारहरू मतदाताको घरमा पैसाको आश्वासन बोकेर होइन, देश विकासको भिजन लिएर जाउन् । जनताले यस पटक हाम्रो उम्मेदवार होइन, राम्रो उम्मेदवार चयन गरेर पठाउनेतर्फ ध्यान दिनु जरुरी छ ।