© २०२३
नवलपरासी, १० फागुन ।
नवलपरासीको सरावल २ जावा गाउँस्थित बौद्धकालिन प्राचिन ककरपत्त नगरमा पुरातत्व विभागले उत्खनन्मा चाँसो देखाएपछि गाउँपालिका उत्साहित भएको छ । पुरातत्व विभागले ककरपत्त क्षेत्र एक प्राचीन स्मारक भएको र उत्खनन्का लागि आफ्नो कार्ययोजनामा राखिएको जानकारी गराएपछि गाउँपालिका उत्साही भएको हो ।
गाउँपालिकाले सो स्थान बौद्ध स्थल भएको र ककरपत्तसँग जोडिएको इतिहाससँग सम्बन्धित केही पूर्वाधार तथा सन्देश दिईने खालको मूर्तिको स्थापना समेत गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिहेको गाउँपालिकाले जानकारी गराएको हो । सो पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन गर्दै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजनले पर्यटकीय स्थलको रुपमा यसलाई विकास गर्नका लागि बजेट तथा कार्यक्रम समेत राखेको बताएका थिए । यसका लागि स्थानीय पनि सकृय हुन समेत उनले औल्याएका थिए ।
प्राचिन कोलिय गणराज्य अन्तर्गतको प्राचिन ककरपत्त नगर भएको गाउँपालिकाले घोषणा गरी गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पूर्वाधारहरु थपिदै आएको छ । तत्कालिन गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बुद्ध तिर्थस्थलको रुपमा विकास गरिने गरी यस क्षेत्रको पूर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौद्ध साहित्यको अध्ययन गरी सो क्षेत्र कोलिय गणराज्यको ककरपत्त नगर भएको तथ्य र निष्कर्ष निकालेपछि गाउँपालिकाले प्राचिन ककरपत्त नगरको घोषणा गरी सो क्षेत्रको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गराएका थिए ।
बर्सेनि बजेट बिनियोजन गर्दै कोलिय गणराज्यको इतिहाससँग जोडिएको कोलवृक्ष बगैचा संरक्षण र बौद्धकालिन संस्कृतिमा आधारित पूर्वाधार निर्माण गरिनुका साथै बाहिरबाट आउने पर्यटक तथा विभिन्न कार्यक्रम गर्नेका लागि करिब ५ सय जना अटाउने सभा हल, तालिम हल, संग्रहालय तथा बालउद्यान लगायतको पूर्वाधारको निर्माण गरिसकेको छ । कोलवृक्ष बगैचा क्षेत्रमा बुद्धको स्ट्याचु तथा प्राचिन इतिहाससँग जोडिएका दिर्घजानुलाई गृह खुश सन्देश सुनाउँदै गरेको बुद्ध र दिर्गजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । बासा पिपरहिया सडकसँग जोडिएको उतm स्थान अहिले भलुहीखोला पुलको निर्माणले सदरमुकाम परासीलाई पनि जोडेको छ, गाउँपालिका अध्यक्ष चौधरीले भने, अब यो ककरपत्त क्षेत्र महामाया मार्गसँग जोडिएको छ ।” पर्यटकको आगमनलाई यस्ले सहयोग पुर्याउने उनको भनाई थियो ।
कोलवृक्ष बगैचा क्षेत्र तथा प्राचिन ककरपत्त नगरलाई बौद्ध तिर्थस्थलको रुपमा चिनाउदै धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । तर स्थानीय समुदायबाट चाहे जस्तो सहयोग र सहकार्य हुन नसकेको उनको भनाई थियो । जबकी गाउँपालिकाले प्राचिन नगर घोषणा गरे पश्चात पुरातत्व विभागले पनि प्राचिन स्मारक भनेर राष्ट्रिय सम्पदामा सुचिकृत गरी आफ्नो होर्डिङबोर्ड समेत राखिसकेको छ । पर्यटन क्षेत्र विकास गर्ने गरी काम गाउँपालिकाले अगाडि बढाउनका लागि सो गाउँका बासिन्दालाई होमस्टे सञ्चालनका लागि तालिम समेत प्रदान गराएको थियो । सोही क्रममा कोभिड महामारी र अहिले आर्थिक मन्दीले केही समस्या पारेको बताउँदै अध्यक्ष चौधरीले भने, तर यस क्षेत्रलाई दीर्घकालिन र अल्पकालिन योजना बनाई गाउँपालिकाले विभिन्न कामहरु गर्दै आएको छ । प्रवेशद्वारसँगै विभिन्न संरचना निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आउने क्रम बढ्दै गएको छ ।
ककरपत्त नगरको प्राचित इतिहास बौद्धकालमा दीर्घजानु भन्ने कोलिय पुत्र बुद्ध आएको बेला बुद्ध समक्ष पुगेर भगवान बुद्धसँग आग्रह गरे कि हामी गृहस्तहरु भिच्छु हुन सक्दैनौ बुद्ध, तर हामी गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्छौ ? दीर्घजानुको आग्रहमा भगवान बुद्धले गृहस्तले मुक्तिको मार्गमा जानका लागि विभिन्न आठ सम्पदा आर्जन गर्ने उपाय बताएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायमा उल्लेख गरिएको छ । त्यसलाई नै गृहशुख सन्देशको रुपमा बुझ्ने गरिएको छ । गृहस्तले आर्जन गर्नु पर्ने ८ सम्पदा मध्ये ४ वटा इहलौकिक सुखका लागि र ४ वटा पारलौकिक सुखका लागि छ ।
दीर्घजानु सुत्तका अनुसार इहलौकिक सुख भनेको अहिले यही जन्ममा भौतिक रुपमा प्राप्त गर्ने शुख हो । त्यसका लागि पहिलो उठ्ठान सम्पदा अर्थात खेतीपाती गरी अन्न, धन आर्जन गर्ने, दोश्रो आरक्ष सम्पदा कमाइएको ती अन्न धनको सुरक्षा गर्ने, तेश्रो कल्याणमित्रता अर्थात सज्जनसँग संगत गर्ने सल्लाह लिदै गर्ने र चौथो समआजिविका अर्थात सही मार्गले अन्न धनको आर्जन गर्ने थियो । त्यसैगरी पारलौकिक सुख आर्थत मरणोपरान्त आर्को लोकमा पाउने खुशका लागि पहिलो शिल सम्पदा आर्जन गर्ने अर्थात बुद्धले भनेका कम्तीमा पञ्च शिलसम्मको शिल सम्पदा आर्जन गर्ने जस्मा चोरी नगर्नु, झुठो नबोल्नु, प्राणी हिँसा नगर्नु, दुराचार्य नगर्नु र नसापदार्थको सेवन नगर्नु रहेको छ ।
दोश्रो श्रद्धा सम्पदा अर्थात भगवान बुद्ध वा कल्याणमित्र प्रति श्रद्धा जागृत गर्नु पुण्य आर्जन गर्नु रहेको छ । तेश्रो त्याग सम्पदा आर्थत इहलौकिक दुनियाका सबै थोक अनित्य छ, अनात्म छ, सब्ब संस्कारा अनिच्च को भाव सहित लोभ र मोह मुक्त भई त्याग गर्न सक्नु पर्छ । चौथो प्रज्ञा सम्पदा आर्थत शिल, समाधिको अभ्यास गर्दै प्रज्ञा आर्जन गर्नु पर्छ । प्रज्ञाले मात्र मुक्तिको मार्गमा पुर्याउन सक्छ, भवचक्रबाट बाहिर लैजान सक्छ भनेर महत्वपूर्ण सन्देश सुनाएका थिए । दीर्घजानुको नामले जावा गाउँको रुपमा अहिले चिनिने गरिएको छ । प्राचिन कमलपोखरी र कोलवृक्ष जस्ता आधारका कारण नै प्राचिन ककरपत्त नगर भएको मानिएको छ ।