Butwal Today

एसइईको परीक्षाफल गतवर्षभन्दा सुधार

२१ असार २०८०, बिहीबार
अ+
अ-

बुटवल, २१ असार   राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसइई कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्षको एसईईको नतिजामा सुधार भएको दाबी गरे । एसईईको नतिजा सार्वजनिकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले यस वर्षको नतिजामा सुधार आउनुमा विविध कारणहरु भएको बताए । विद्यालयहरुमा पठनपाठन, विद्यार्थीको अध्यनन र प्रश्नपत्रका कारण पनि नतिजामा सुधार भएको हुन सक्ने बोर्डका पदाधिकारीहरुको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२ हजार ४ सय ७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६ सय ३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए । नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९ सय ९२ रहेको छ । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ ।

साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिकतर्फ १५ हजार चार सय ६१ जना थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?