© २०२३
बुटवल,९ बैसाख । नबिल बैंक र क्षितिज इन्टरनेसनल कलेज बुटवलको सहकार्यमा नबिल सामाजिक उद्यमशीलता कार्यक्रमको दोस्रो चरण शुरु भएको छ । स्वदेशमै केही उद्यम व्यवसाय गर्न चाहने नागरिकलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रममा उद्योग, व्यवसाय क्षेत्रका विज्ञहरुले सहभागीहरुलाई सहजिकरण गर्छन् ।
३ महिनासम्म सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत एप्ताको एक दिनका दरले १४ दिन विषय विज्ञहरुबाट उद्यम व्यवसाय गर्न आवश्यक सैद्धान्तिक ज्ञानसंगै केस स्टडी, फिल्ड भिजिट सबै विषयमा व्यवहारिक अभ्यास सहित जानकारी गराइने क्षितिज इन्टरनेसनल कलेजका प्राध्यापक टुकराज गुरुङले बताए ।
कार्यक्रम उद्घाटनका अवसरमा उद्यम क्षेत्रका विज्ञ एवं प्रशिक्षक मुकुन्द ज्ञवालीले व्यवसाय वा उद्योग गर्नु अगाडि बजार अध्ययन, नवीन सोंच, नवीन प्रोडक्टका बारेमा पर्याप्त ज्ञान चाहिने बताए ।
नबिल सामाजिक उद्यमशीलता कार्यक्रमको पहिलो चरणमा सहभागी भएर नयां व्यवसाय शुरु गरेका मदन घिमिरेले कार्यक्रममा सहभागी भएपछि आफूले धेरै कुरा सिकेको र व्यवसाय शुरु गर्न सहज भएको अनुभव सुनाए ।
सो अवसरमा नबिल बैंक बुटवल शाखा प्रमुख समिक रेग्मी र भलबारी शाखा प्रमुख गंगालाल न्यौपानेले व्यवसाय गर्न विश्वसनीय र नवीन प्रस्ताव ल्याउनेलाई बैंकहरु कर्जा दिन तयार रहेको बताए ।
सो अवसरमा आर्थिक पत्रकार समाज लुम्बिनीका कार्यवाहक अध्यक्ष टि. आर. शर्माले हरेक कुराका लागि विदेश ताक्ने प्रवृत्ति त्यागेर स्वदेशमै संभावना देख्ने देशभक्तिपूर्ण भावना हुने हो भने स्वदेशमै धेरै गर्न सकिने धारणा राखेका थिए ।