Butwal Today

धान सप्रिने बेला मलको हाहाकार

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

भैरहवा  । मानो रोपेर मुरी उब्जाउने मुख्य सिजनमै रुपन्देही सहित पश्चिम नेपालका किसान युरिया मलका लागि भौँतारिन बाध्य भएका छन् ।

धान खेतमा पहिलो तथा दोस्रो पटक युरिया हाल्ने मुख्य समय भइसक्दा पनि मागअनुसार मल नपाउँदा किसान बाली सप्रिने आशा मारेर निराश बनेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको तथ्याङ्कले नै क्षेत्रभर मलको चरम अभाव रहेको देखाएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा २० हजार १५१ दशमलव २ मेट्रिक टन युरिया, ८ हजार १८७ दशमलव ६५ मेट्रिक टन डिएपी, ६०४ दशमलव २ मेट्रिक टन पोटास र ७३ दशमलव ७ मेट्रिक टन कृषि चुन बिक्री भएको थियो । तर, चालु आर्थिक वर्षको साउन १८ गतेसम्म आइपुग्दा भैरहवा कार्यालय मातहत युरियाको मौजदात घटेर जम्मा २ हजार ३८८ दशमलव १५ मेट्रिक टनमा सीमित भएको छ । डिएपी २ हजार १५६ मेट्रिक टन र पोटास २ हजार ६८८ मेट्रिक टन मात्र मौजदात छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्ला तथा गण्डकी प्रदेशका स्याङ्जा र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) सम्मको विशाल भूभाग हेर्ने जिम्मेवारी पाएको प्रादेशिक कार्यालयमा २३ सय टन युरिया मौज्दात हुनु भनेको ऊँटको मुखमा जिरा सरह हो ।

क्षेत्रभर युरियाको हाहाकार मच्चिरहेका बेला साउन १८ गते सोमबार कम्पनीले गुलरियामा ६० मेट्रिक टन, महेन्द्रनगरमा ४२ मेट्रिक टन र पाल्पामा ४२ मेट्रिक टन गरी जम्मा १४४ मेट्रिक टन मात्र युरिया बिक्रीका लागि पठाएको छ ।

यस्तै, डिएपीतर्फ बहादुरगञ्ज ३०, कावासोती ७९, लमही ६०, नेपालगन्ज ५०, परासी २१ र तौलिहवा ६० गरी जम्मा ३०० मेट्रिक टन पठाइएको छ । यो परिमाण किसानको आवश्यकताको तुलनामा अत्यन्तै न्यून हो ।

बर्सेनि समयमै मल आपूर्ति गर्न नसक्ने र किसानलाई ऐन मौकामा सङ्कटमा पार्ने परिपाटी यस पटक पनि दोहोरिएको छ ।
स्वदेशमा सहकारी र डिपोहरू चाहर्दा पनि मल नपाएपछि सीमावर्ती क्षेत्रका किसान भारतीय बजारबाट लुकिछिपी १–२ बोरा मल ल्याउन बाध्य छन् । तर, त्यहाँ पनि किसानले ठुलो सास्ती र अपमान सहनु परेको छ ।

मर्चवार क्षेत्रका किसान जगन्नाथ कुर्मी आफ्नो दुखेसो पोख्दै भन्छन्, “खेतमा धान पहेँलिन थाल्यो, यता डिपोमा मल छैन भनेर फर्काइदिन्छन् । बाध्य भएर भारततिरबाट एक बोरा युरिया ल्याउन खोज्दा सीमामा दुवै देशका सुरक्षाकर्मीको पिटाइ र हप्कीदप्की खानुपर्छ । आफ्नै खेतका लागि मल ल्याउँदा पनि अपराधी जस्तै व्यवहार गरिन्छ ।”

त्यस्तै धकधई क्षेत्रका अर्का किसान कुम्हे यादवको गुनासो पनि उस्तै छ । “नेपाल सरकारले समयमा मल दिँदैन, अनि भोकै मर्नुभन्दा भारतीय बजारबाट ल्याउन खोज्दा तस्करीको मुद्दा लगाएर जेल हाल्ने धम्की दिइन्छ,” यादव आक्रोशित हुँदै भन्छन्, “कयौँ किसान त १–२ बोरा मल ल्याएकै निहुँमा तस्करीको मुद्दा खेपेर जेलसम्म पुग्नुपरेका उदाहरण छन् । न त सरकारले मल दिन्छ, न त किसानलाई बचाउन कुनै राहत नै ल्याउँछ ।”

रुपन्देही जिल्लाका लागि तोकिएको कोटाभन्दा बढी ११०० मेट्रिक टन युरिया आउने क्रममा रहेको र १–२ दिनमा स्थानीय तहहरूमार्फत बिक्री गरिने दाबी कृषि सामग्री कम्पनीको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकारी टोपाराम गौतमका अनुसार रुपन्देहीका लागि अतिरिक्त मल आउँदै गरेको र चाडै स्थानीय तहलाई उपलब्ध गराइनेछ ।

तथापि, धान खेतीका लागि यो १–२ दिनको ढिलाइ पनि किसानका लागि निकै महँगो साबित भइरहेको छ । खेतमा हाल्ने बेला कटिसकेपछि मल पाए पनि त्यसले सोचेजस्तो उत्पादन नदिने किसानहरूको गुनासो छ ।

पहुँच र प्रभावका आधारमा मात्र सीमित ठाउँमा मल पठाइएको र विकट तथा वास्तविक किसानसम्म मल नपुगेको आरोप लागिरहेका बेला सरकारी निकम्मापनका कारण उब्जाउ सिजनमै किसान फेरि एक पटक सास्ती भोग्न बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?