© 2026
काठमान्डौँ ।
भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ ।
मौसम विभागका अनुसार चक्रवात पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेको थियो । यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि सेप्टेम्बर २४ राति १ बजेको बीचमा कलिंगपट्टनमको दक्षिण–पश्चिमी तट पार गरेको हो ।
चक्रवातको प्रभावका कारण अधिकांश क्षेत्रमा भारी वर्षा हुनुका साथै ७५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावाहुरी चलेको छ । एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण होचा भूभाग जलमग्न भएका छन् भने सहरका अधिकांश विद्यालयमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ ।
ओडिसामा पनि चक्रवातको व्यापक प्रभाव परेको छ । त्यहाँ करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मलकानगिरीमा भारी वर्षाका कारण कैयौँ पुल बगेका छन् भने केही पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको छ ।
राज्यका कम्तीमा ७ जिल्लामा विद्यालय बन्द गरिनुका साथै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ । राहत तथा उद्धारको तयारी पूर्ण अवस्थामा राख्न ११ जिल्लाका कलेक्टरलाई निर्देशन दिइएको छ ।
यसैबीच, पश्चिम बङ्गालका केही भागमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ ।