© 2026
बुटवल
संविधानले समानताको हक सुनिश्चित गरेको छ। राज्यका निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार पनि दिएको छ। नागरिकतामा लैङ्गिक पहिचानको विषयले कानुनी मान्यता पाउने बाटोसमेत तय भएको छ । तर, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिका लागि यी संवैधानिक र कानुनी व्यवस्था अझै पूर्ण रूपमा व्यवहारमा अनुभूत हुन सकेका छैनन् । परिवार, समाज र राज्यका विभिन्न निकायमा विभेद, अपमान र अस्वीकारको सामना गर्नुपर्ने अवस्था कायमै छ ।
कानुनले समान नागरिकका रूपमा स्वीकार गरे पनि सामाजिक दृष्टिकोण र व्यवहारमा परिवर्तन आउन नसक्दा आफूहरूले अझै खुलेर पहिचानसहित बाँच्न नपाएको यस समुदायका व्यक्तिहरूको गुनासो छ । उनीहरूका अनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई समान अधिकार दिनु मात्रै पर्याप्त छैन, उनीहरूको पहिचान, भावना र अस्तित्वलाई समाजले पनि सम्मान गर्न आवश्यक छ ।
ब्लु डायमण्ड सोसाइटीले बुधबार भैरहवामा पत्रकारहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक स्वीकार्यता र विभेदरहित वातावरण निर्माणमा जोड दिएका हुन् ।कार्यक्रममा सोसाइटीकी कार्यक्रम संयोजक एन्जल लामाले राज्यले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई प्रत्यक्ष रूपमा मन्त्रालयको नाममै समेट्नु महत्वपूर्ण उपलब्धि भएको बताइन्। ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ नामकरण हुनुलाई उनले समुदायको पहिचान र अस्तित्वलाई राज्यले स्वीकार गरेको सकारात्मक संकेतका रूपमा व्याख्या गरिन्।
उनका अनुसार राज्यका नीति, योजना र संरचनामा समुदायको पहिचान स्थापित हुनु सकारात्मक पक्ष हो। तर, नाम र नीतिमा समेटिनु मात्रै पर्याप्त हुँदैन। राज्यले प्रदान गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्ने र सरकारी सेवा प्रवाहमा समेत समान व्यवहार सुनिश्चित हुनुपर्ने आवश्यकता छ।
सोसाइटीकी रुबिना तामाङले लैङ्गिक तथा यौनिक अल्पसंख्यकका रूपमा जन्मनु कुनै त्रुटि, कमजोरी वा गल्ती नभएको बताइन् । व्यक्तिको लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरण प्राकृतिक विविधता भएको उल्लेख गर्दै उनले समाजले हेय दृष्टिले हेर्ने र फरक व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन्।
उनका अनुसार समुदायका सदस्यले आफ्नो पहिचान खुलाउँदा परिवार र समाजबाटै अपमान तथा अस्वीकारको सामना गर्नुपर्ने अवस्था छ । यही कारण कतिपय व्यक्ति आफ्नो वास्तविक पहिचान लुकाएर बस्न बाध्य छन्। पहिचानकै आधारमा हुने अपमानले उनीहरूको आत्मसम्मान, आत्मविश्वास र सामाजिक जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ ।
ब्लु डायमण्ड सोसाइटीका लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले परिवारबाटै स्वीकार्यता नपाउनु यस समुदायले भोगिरहेको प्रमुख समस्यामध्ये एक भएको बताइन्। सन्तानको भावना र वास्तविक पहिचान बुझेर साथ दिनुपर्ने परिवारले कतिपय अवस्थामा सामाजिक दबाबका कारण पहिचान लुकाउन बाध्य पार्ने गरेको उनको भनाइ छ ।
परिवार नै व्यक्तिको पहिलो सामाजिक आधार भए पनि त्यहीँबाट अस्वीकार र विभेद सुरु हुँदा व्यक्तिको आत्मसम्मानमा गहिरो असर पर्ने उनले बताइन्। परिवारले आफ्ना सन्तानको पहिचानलाई सहज रूपमा स्वीकार गर्न सके मात्रै उनीहरूलाई समाजमा आत्मविश्वासका साथ अघि बढ्न सहज हुने उनको धारणा छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जनसङ्ख्या २ हजार ९ सय २८ रहेको छ। यो नेपालको कुल जनसङ्ख्याको करिब ०.०१ प्रतिशत हो। तर, जनगणनामा देखिएको यो सङ्ख्याले समुदायको वास्तविक अवस्था पूर्ण रूपमा प्रतिनिधित्व नगर्ने सरोकारवालाहरूको तर्क छ।
सामाजिक लाञ्छना, पारिवारिक दबाब, असुरक्षा र विभेदको डरका कारण धेरै व्यक्ति आफ्नो पहिचान खुलाउन हिचकिचाउने गरेका छन्। त्यसैले जनगणनामा समुदायका सदस्यको वास्तविक उपस्थिति कम देखिएको हुन सक्ने उनीहरूको भनाइ छ। सही तथ्याङ्क संकलनका लागि गोपनीयताको सुनिश्चितता, विश्वासिलो वातावरण र पहिचानप्रतिको सम्मान आवश्यक रहेको उनीहरूले औँल्याएका छन्। तथ्याङ्कमा समुदायको उपस्थिति न्यून देखिनु केवल जनसङ्ख्याको विषय मात्र होइन। यसले राज्यका नीति तथा कार्यक्रममा उनीहरूको आवश्यकता र समस्यालाई पर्याप्त रूपमा सम्बोधन गर्न चुनौतीसमेत सिर्जना गर्न सक्छ। त्यसैले समुदायको वास्तविक अवस्था पहिचान गर्न समावेशी र संवेदनशील तथ्याङ्क संकलन प्रणाली आवश्यक देखिन्छ ।
कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले परिवारमा मात्रै नभई विद्यालय, कार्यस्थल, सार्वजनिक सेवा प्रवाह र राज्यका विभिन्न निकायमा समेत विभेद भोग्नुपरेको बताएका थिए। पहिचानकै आधारमा गरिने अपमानजनक टिप्पणी, असमान व्यवहार र अवसरबाट वञ्चित गर्ने प्रवृत्तिले उनीहरूलाई सामाजिक जीवनमा सहज रूपमा स्थापित हुन कठिन बनाएको उनीहरूको भनाइ थियो। समानताको अधिकार संविधानमा सुनिश्चित भए पनि त्यसको अनुभूति नागरिकले दैनिक जीवनमा गर्न पाउनुपर्ने सहभागीहरूको जोड थियो। शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता तथा अन्य सार्वजनिक सेवामा लैङ्गिक पहिचानकै आधारमा कुनै पनि नागरिकले असमान व्यवहार भोग्न नपर्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरूले बताएका थिए ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सामाजिक न्याय र समान नागरिकताको विषय सबैको साझा विषय बनाउनुपर्ने आवश्यक देखिएको उनीहरूको भनाइ छ ।