Butwal Today

बुद्धमूर्ति मर्मतमा उपमहानगरको बेवास्ता

१० मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

प्रतिमा गौतम
बुटवल । बुटवल बसपार्कको प्रवेशद्वार नजिकै राखिएको बुद्धमूर्ति हेर्दा जोकोहीको पनि ध्यान खिचिन्छ । तर मूर्तिको अवस्था भने हेर्न लायक छैन । आधा भाग भाँचिएको अवस्थामा रहेको यो मूर्ति दुई वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । सार्वजनिक स्थलमा राखिएको बुद्धमूर्तिको यस्तो अवस्थाले बुटवलको सांस्कृतिक पहिचान र सम्पदाप्रतिको संवेदनशीलता माथि नै प्रश्न उठाएको छ ।
बसपार्कजस्तो दैनिक सयौँ यात्रु र सर्वसाधारणको आवतजावत हुने सार्वजनिक स्थलमा रहेको बुद्धमूर्ति लामो समयदेखि अधुरो अवस्थामा छ । मूर्ति भाँचिएपछि त्यसलाई पुनर्निर्माण गरी पूर्णता दिनुपर्ने भए पनि सम्बन्धित निकायले अहिलेसम्म चासो नदेखाएको स्थानीय तथा यात्रुको गुनासो छ ।
मूर्ति बुद्धभूमि टोल विकास संस्थाले २०७७ सालमा १३ हजार लागतमा निर्माण गरेको संस्थाका अध्यक्ष जमुना मल्लले जानकारी दिइन् । बुद्धभूमि टोल विकास संस्थाकी अध्यक्ष मल्लले मूर्ति पूर्ण बनाउन बुटवल उपमहानगरपालिकामा पटकपटक ताकेता गर्दा पनि सुनुवाइ नभएको बताइन् । उनका अनुसार दुई वर्षदेखि भाँचिएको अवस्थामा रहेको मूर्ति मर्मत गर्न सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत काम अघि बढ्न सकेको छैन ।
“पटकपटक आग्रह गर्दा पनि मूर्ति बनाउने काम भएको छैन,” मल्लको गुनासो छ । सार्वजनिक स्थलमा रहेको बुद्धमूर्तिको यस्तो अवस्थाले बुटवलको सभ्यतामाथि नै प्रश्न उठाएको उनको भनाइ छ ।
पद्म चैत्य बिहार बुटवलका अध्यक्ष पदमलाल शाक्यले बुद्धको मूर्तिप्रति गरिएको बेवास्ताले धार्मिक आस्थामाथि नै चोट पुगेको महसुस हुने बताए । बुद्धको मूर्ति एउटा धार्मिक प्रतीक र नेपाललाई विश्वसामु चिनाउने पहिचान समेत भएकाले यसको उचित संरक्षण र सम्मान हुनुपर्ने उनको भनाइ छ । “धार्मिक आस्था र सिंगो देशलाई प्रतिनिधित्व गर्ने बुद्धको मूर्तिप्रति गरिएको अपहेलनाले मन नै खिन्न हुन्छ,” शाक्यले भने ।
त्यस्तै, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले साना देखिने विषयले पनि ठूलो अर्थ र महत्व राख्ने बताए । सार्वजनिक स्थलमा राखिएका संरचना तथा प्रतीकहरूको उचित व्यवस्थापन र संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यता बुटवल उपमहानगरपालिकाले भने बुद्धमूर्ति निर्माण गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले यही नगरसभापछि मूर्ति निर्माणको काम अघि बढ्न सक्ने सम्भावना रहेको बताए ।
“बुद्धमूर्ति बनाउने विषयमा कुरा भइरहेको छ । यही नगरसभापछि सम्भवतः बन्ने भएको छ,” उनले भने, “निर्णय नहुँदासम्म बन्छ नै भन्न सकिँदैन, तर यो विषयमा छलफल भइरहेको छ ।”
उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ सुविधा सम्पन्न स्नानगृह , हाइमास्ट लाइट, चार्जिङ स्टेशन संचालनमा छन् ।
“बुटवल वडा नं.७ र ८ मा पर्ने धागो कारखाना देखि उत्तरतर्फको २५ विगाहा जग्गामा प्रदेश स्तरको हरियाली बसपार्क निर्माणका समेत प्रक्रिया अगाडि बढेको छ”, प्रवक्ता रानाले भने ।
उनले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यस अनुसारका सुविधाहरू थप गर्दै लगेको बताए । “बसपार्कको सरसफाइ गर्ने कामलाई नियमित कामकै रूपमा लिएका छौँ र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिटै नै अगाडि बढाउँछौं,” उनले भने ।
सानो काममा चासो नदिदा प्रवेशद्वार मै रहेका खाल्डाखुल्डीले हिलो र धुलो यात्रुले भोग्नु परेको छ । एक यात्रु सम्झना विकले भनिन्, “म त टाढाको मान्छे धेरै के भनौँ र मलाई पनि चित्त त बुझेको छैन, तिहारमा झिलिमिली सजिएको बुटवल राम्रो देखिएको थियो तर बसपार्कमा खाल्डाखुल्डी ।”
बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको बुटवलमा बुद्धमूर्ति सजावटका लागि राखिएको संरचनासंगै यो क्षेत्रको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग पनि जोडिएको छ । यस्तो महत्व बोकेको मूर्ति वर्षौंदेखि भाँचिएको अवस्थामा रहनुले सार्वजनिक सम्पदाको संरक्षण र व्यवस्थापनप्रति सम्बन्धित निकायको जिम्मेवारीबारे प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?