© 2026
बाणगंगा ।
बाणगंगा । राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा विद्यार्थीहरूको जन्मजात मुटुरोग तथा बाथमुटुरोग परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ८ सयभन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएकोमा सबैको स्वास्थ्य अवस्था सामान्य रहेको आयोजकले जनाएको छ।
“समयमै जाँच, सही पहिचान, स्वस्थ बालबालिका, उज्ज्वल भविष्यको अभियान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको हो।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. सुमन बन्जाडेले विद्यार्थीहरूको जन्मजात मुटुरोग तथा बाथमुटुरोगसम्बन्धी परीक्षण गरेका थिए । उनले मुटुरोगका कारण, लक्षण, सम्भावित जोखिम, समयमै पहिचान, परीक्षण तथा रोकथामका उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष पौडेलले बालबालिकाको स्वास्थ्य र शिक्षा एकअर्काका परिपूरक भएको बताए । स्वस्थ शरीर र सकारात्मक सोचले नै उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उल्लेख गर्दै रोग लागेपछि उपचार गर्नुभन्दा रोगको समयमै पहिचान र रोकथाममा ध्यान दिनु अझ महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा शिक्षा समिति संयोजक गोविन्द खनाल, सिनर्जी न्युट्राटेक प्रा.लि.का केशव प्रसाईं, विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेय, भाइस प्रिन्सिपल महेश पन्थ, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम ज्ञानपुञ्ज बोर्डिङ स्कुलको आयोजना,सिनर्जी न्युट्राटेक प्रा.लिको सह–आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कपिलवस्तुको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्ने, मुटुरोगसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।