Butwal Today

चितवन निकुञ्जले १ हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्ने

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

चितवन

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्ने भएको छ। वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणका लागि घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको हो।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार लक्ष्यअनुसार १२५ हेक्टर घाँसे मैदान व्यवस्थापन भइसकेको छ। बाँकी क्षेत्रमा काम भइरहेको छ।

चालु आर्थिक वर्षमा ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापनसँगै चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम पनि छ। तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भएको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा छन्।

घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थापन गर्दा वन्यजन्तुलाई आहार र पानी उपलब्ध गराउन सहज हुने तथा प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ। विशेषगरी एकसिङ्गे गैँडा र बाघलगायत वन्यजन्तुको संरक्षणलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको छ।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा घाँसे मैदान व्यवस्थापनको ठूलो कार्यक्रम आएको छ। करिब एक हजार ६०० देखि एक हजार ७०० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको उनले बताए।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना पनि निकुञ्जले बनाएको छ। निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभारमा मचान निर्माण गर्ने तयारी छ। लामिताल र सुखिभारमा मचान निर्माणको तयारी भइरहेको पुनले बताए।

ती मचान तीन तलासम्मका हुनेछन्। माथिल्लो तलामा वन्यजन्तु अवलोकन गर्ने भ्यू प्वाइन्ट र तल्लो तलामा पर्यटकले आराम गर्ने स्थान बनाउने योजना छ। एउटा मचान निर्माण गर्न करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। अहिले यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ।

मचानसँगै पोखरी र वाटर होल व्यवस्थापन गर्दा वन्यजन्तु अवलोकनको सम्भावना बढ्ने तथा पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु हेर्न सहज हुने निकुञ्जको विश्वास छ। वन्यजन्तुलाई अनावश्यक बाधा नपुग्ने गरी पर्यटकका गतिविधि व्यवस्थित गर्न यस्तो संरचना बनाउन लागिएको हो।

निकुञ्जले घाँसे मैदान, तालतलैया र सिमसार क्षेत्र व्यवस्थापनलाई निरन्तरता दिँदै वन्यजन्तुको बासस्थान संरक्षण र पर्यापर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?