Butwal Today

दार्मापछी अन्य पालिकामा पनि फैलिँदै स्क्रबटाइफस

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

सल्यान । सल्यानको दार्मा गाउँपालिकामा विकराल रूप लिँदै आठ जनाको ज्यान लिइसकेको स्क्रब टाइफसको संक्रमण अन्य पालिकाहरूमा पनि तीव्र रूपमा फैलिन थालेको छ । दार्मामा १०० बढी संक्रमित फेला परिसकेको बेला बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएपछि जिल्लाभर महामारीको त्रास बढेको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिकामा बिहीबार सञ्चालन गरिएको विशेष स्वास्थ्य शिविरमा उच्च ज्वरो आएका २५४ जनामध्ये शंकास्पद १११ जनाको रक्त परीक्षण गर्दा १० जना महिलामा स्क्रब टाइफस पुष्टि भएको छ । यस शिविरमा १८१ महिला र ७३ पुरुषले स्वास्थ्य सेवा लिएका थिए । परीक्षणमा संक्रमण पुष्टि भएका बिरामीहरूलाई तत्काल आवश्यक परामर्शका साथै औषधि उपचार सुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिए ।

यसैगरी छत्रेश्वरी गाउँपालिका वडा नं. ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा १० जना शंकास्पद बिरामीको नमुना परीक्षण गर्दा ६ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको मेडिकल अधिकृत डा. विकास केसीले बताए । दार्मा गाउँपालिकामा भने अवस्था अझै गम्भीर र चुनौतीपूर्ण छ । संक्रमण नियन्त्रणका लागि असोज ६ गते दार्माकोटमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमा १६० जनाको परीक्षण गर्दा ३७ जना ३२ पुरुष र ५ महिला र असोज ७ गते ढाकाडाममा सञ्चालन गरिएको शिविरमा १८१ जनाको परीक्षण गर्दा १७ जना १४ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको थियो । दार्माका दुईवटा शिविरमा मात्रै ३४१ जनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण देखिएको हो ।

यस अघि असोज ५ गतेसम्म दार्मा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था तथा पोलिक्लिनिकहरूमा गरिएका परीक्षणबाट ६० जनामा स्क्रब टाइफस पुष्टि भइसकेको थियो । समयमै पहिचान र उपचार हुन नसक्दा सिर्जित स्वास्थ्य जटिलताका कारण दार्मामा हालसम्म आठ जनाको मृत्यु भइसकेको छ ।जिल्लामा संक्रमण फैलिएको पुष्टि भएसँगै स्वास्थ्य सेवा कार्यालय सल्यानले र्‍यापिड रेस्पोन्स टिम परिचालन गरी प्रभावित क्षेत्रमा बिरामीको खोजपड्ताल, परीक्षण, उपचार तथा सचेतनामूलक कार्यक्रमहरू तीव्र पारेको छ । मुसा तथा साना जनावरमा पाइने सूक्ष्म किर्नाको टोकाइबाट सर्ने यो रोगमा उच्च ज्वरो आउने, टाउको र शरीर दुख्ने तथा दाग देखिने जस्ता लक्षण देखिने भएकाले यस्ता लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?