Butwal Today

भोटेकोशी बाढीका मृतकको सम्झनामा दीप प्रज्वलन

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

बुटवल ।  विश्व शान्ति दिवसको अवसरमा रूपन्देहीका इनरव्हिल क्लबहरूले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै संयुक्त रूपमा दीप प्रज्वलन गरेका छन् ।

तिलोत्तमा नगरपालिका–४ स्थित अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा आयोजित कार्यक्रममा बाढीबाट ज्यान गुमाएका तथा प्रभावित भएकाहरूको सम्झनामा १०८ वटा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बाढीपीडितका लागि नगद तथा आवश्यक सामग्रीसमेत सहयोग गरिएको आयोजकले जनाएको छ । इनरव्हिल क्लब अफ बुटवल, इनरव्हिल क्लब अफ मिडटाउन, इनरव्हिल क्लब अफ लुम्बिनी, इनरव्हिल क्लब अफ सैनामैना, इनरव्हिल क्लब अफ जितगढी र इनरव्हिल क्लब अफ तिलोत्तमाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका विहार प्रमुख भिक्षु आनन्द शासनध्वज धम्माचार्य भन्तेले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शान्ति, सद्भाव र सामाजिक एकताको महत्वबारे प्रवचन दिए । उनले बुद्ध शिक्षाले मानव जीवनमा शान्ति, करुणा र सहअस्तित्वको भावना विकास गर्ने बताए । विहारका महासचिव धनिराम रानाले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरे ।

उनले विपत्तिको समयमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिए । इनरव्हिल डिष्ट्रिक्ट ३५० नेपालका पास्ट डिष्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले शान्ति, भाइचारा र धार्मिक सद्भाव कायम गर्न सामाजिक संस्थाहरूले निरन्तर भूमिका खेल्नुपर्ने बताए । उनले सामाजिक सेवा, दान तथा मानवीय सहयोगका गतिविधिलाई निरन्तरता दिन क्लबहरूलाई आग्रह गरे ।

इनरव्हिल क्लब अफ जितगढीकी वर्ष २०२६÷२७ की अध्यक्ष गीता अर्यालले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्न पाउँदा भावनात्मक रूपमा महत्वपूर्ण अनुभूति भएको बताइन् । इनरव्हिल क्लब अफ लुम्बिनीकी अध्यक्ष कोपिला मरासिनीले सबै क्लबको संयुक्त पहलमा सामाजिक सेवा र मानवीय सहयोगको कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताइन् ।

कार्यक्रममा रूपन्देहीका विभिन्न इनरव्हिल क्लबका वर्तमान तथा पूर्व अध्यक्ष, पदाधिकारी, सल्लाहकार, सदस्य तथा अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका भिक्षु, भिक्षुणी र स्थानीय बासिन्दाको सहभागिता थियो ।

कार्यक्रममा इनरव्हिल क्लब अफ बुटवलका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक शान्ता शाक्य, इनरव्हिल क्लब अफ सैनामैनाका अध्यक्ष सीता खनाल र इनरव्हिल क्लब अफ मिडटाउनकी उपाध्यक्ष गीता खनालले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?