© 2026
रोल्पा । रोल्पाको दुर्गम क्षेत्रका नागरिकलाई खाद्य सामग्री सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले खाद्य सामग्री खरिद–बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रोल्पा, लिबाङको पहलमा सञ्चालनमा ल्याइएको केन्द्रले ग्रामीण क्षेत्रका नागरिकलाई बजारसम्म पुगेर खाद्य सामग्री खरिद गर्नुपर्ने बाध्यता केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने, बजारमा आवश्यक सामग्रीको अभाव हुने तथा उपभोक्ताले टाढा गएर सामान खरिद गर्नुपर्ने अवस्था रहने भएकाले किलाचौरमा सञ्चालनमा आएको खरिद–बिक्री केन्द्रलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् । उनीहरूले केन्द्रबाट नियमित, गुणस्तरीय र सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध हुन सकेमा ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने बताएका छन् ।
कार्यक्रममा लुङ्ग्री गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्रबहादुर बुढाथोकीले गाउँमै खाद्य सामग्री उपलब्ध हुने व्यवस्था सुरु हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण भएको बताए । उनले दुर्गम तथा ग्रामीण क्षेत्रमा बजारको पहुँच सहज बनाउन यस्ता केन्द्रको नियमित सञ्चालन आवश्यक रहेको बताए । ।
लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापाले स्थानीय नागरिकलाई आवश्यक खाद्य सामग्री सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको केन्द्रलाई प्रभावकारी र दीर्घकालीन बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा लिबाङका कार्यालय प्रमुख खर्कबहादुर बुढामगरले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी खाद्य सामग्रीको पहुँच विस्तार गर्ने उद्देश्यले खरिद–बिक्री केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।