© 2026
सल्यान । दार्मा गाउँपालिकामा स्क्रबटाइफसको संक्रमण बढ्दै गएको छ । संक्रमणसँग सम्बन्धित जटिलताका कारण हालसम्म सात जनाको मृत्यु भएको छ भने सोमबारसम्म गरिएको परीक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार संक्रमणको अवस्था बढ्दै गएपछि दार्मा गाउँपालिकाका अति प्रभावित क्षेत्रमा मंगलबारदेखि बृहत् स्वास्थ्य शिविरसहित द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा टोली परिचालन गरिएको हो । सोमबारसम्म १९९ जनाको स्क्रब टाइफस परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि प्रभावित क्षेत्रमा पुगेरै परीक्षण, उपचार तथा संक्रमण रोकथामसम्बन्धी जनचेतना फैलाउने काम सुरु गरिएको जनस्वास्थ्य अधिकृत तारा रिजालले बताए । मंगलबार दार्मा गाउँपालिका, १ दार्माकोटमा बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ भने बुधबार वडा नं ५ मा शिविर राखिएको छ ।
गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाले उपलब्ध गराएको विवरण अनुसार संक्रमणको जोखिम र त्यसबाट उत्पन्न जटिलताका कारण हालसम्म सात जनाको मृत्यु भएको छ । दार्मा, ६ का ८२ वर्षीय बलबहादुर थापाको भदौ ९ गते सल्यान अस्पतालमा मृत्यु भएको थियो । दार्मा, ५ का ६९ वर्षीय तुलबहादुर खड्काको भदौ ५ गते अस्पतालबाट घर फर्कने क्रममा मृत्यु भएको पालिकाको विवरणमा उल्लेख छ ।
त्यस्तै दार्मा, ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकीको भदौ ७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र दार्मा, १ का ५१ वर्षीय खिमानन्द केसीको भदौ १९ गते नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दार्मा, २ का १२ वर्षीय बालक नरेश वलीको भदौ २५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । असोज लागेपछि दार्मा, १ का ६७ वर्षीय तोलाराम सुनारको असोज २ गते र सोही वडाका ६१ वर्षीय नरेन्द्र रोकायाको असोज ३ गते नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको पालिकाले स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
मृतक अधिकांशमा स्क्रब टाइफससँगै सुगर, कलेजो, उच्च रक्तचाप, मिर्गौला तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगसमेत रहेको पाइएको स्वास्थ्य शाखाले जनाएको छ । दीर्घरोग भएका व्यक्तिमा संक्रमणपछि स्वास्थ्य अवस्था जटिल बनेको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । संक्रमण नियन्त्रणका लागि सल्यान अस्पतालका चिकित्सक डा. बालाराम केसी र दार्मा गाउँपालिका स्वास्थ्य सेवाका डा. अभिनित चौधरीको नेतृत्वमा स्वास्थ्य टोली परिचालन गरिएको छ ।
टोलीमा जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजाल, ल्याब टेक्निसियन खगेन्द्र भट्टराई, सिनियर अनमी थुमा बुढाथोकी र कम्प्युटर सहायक गोविन्द चलाउनेलगायत स्वास्थ्यकर्मी सहभागी छन् ।
टोलीले अति प्रभावित क्षेत्रमा पुगेर बिरामीको प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा उपचार, प्रयोगशाला परीक्षण र संक्रमणको अवस्था पहिचान गर्ने काम गरिरहेको छ । साथै स्क्रब टाइफसबाट बच्ने उपाय, लक्षण देखिएपछि तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने अवस्था तथा सरसफाइ सम्बन्धी जानकारी दिन जनचेतनामूलक अभियानसमेत सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
संक्रमण बढिरहेको क्षेत्र पहिचान गरी त्यहाँ परीक्षणको दायरा बढाउने, संक्रमितको उपचार तथा निगरानी गर्ने र जोखिममा रहेका समुदायलाई आवश्यक स्वास्थ्य परामर्श दिने गरी प्रतिकार्यलाई तीव्र पारिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।