© 2026
नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एउटा महत्त्वपूर्ण जिल्ला हो । यहाँका हरिया डाँडाकाँडा, धार्मिक आस्था बोकेका मठमन्दिर, पौराणिक गुफा, तालतलैया, जडीबुटी, रमणीय लेक तथा संस्कृतिले जो कोहीलाई मोहित बनाउँछ । प्राकृतिक सौन्दर्य र धार्मिक विश्वासको अनुपम संगम बनेको यस जिल्लाको मुटुमा अवस्थित छ — सुपा देउराली मन्दिर ।
गोरुसिङ्गे–सन्धिखर्क सडक हुँदै यात्रा गर्दा अग्लो भीरको काखमा अवस्थित सुपा देउराली मन्दिर टाढैबाट देखिन्छ । चिसो हावा, हरियाली वन, भीर–पहाड र मन्दिरको दिव्य वातावरणले यात्रुलाई श्रद्धाले नतमस्तक बनाउँछ । महेन्द्र राजमार्गको गोरुसिङ्गेबाट करिब ४७ किलोमिटर दूरीमा अवस्थित यो मन्दिर धार्मिक आस्था मात्र नभई अर्घाखाँचीको पहिचान बनेको छ ।
सुपा देउरालीको उत्पत्ति र पौराणिक इतिहास
इतिहासअनुसार विक्रम संवत् १९१६ तिर बाइसे–चौबिसे राज्यकालमा खाँचीकोटका राजकुमार र बलरामपुरकी राजकुमारीबिच विवाह सम्पन्न भएको थियो । विवाहपछि डोली लिएर फर्किने क्रममा सीतापुरको मसानदेवी क्षेत्रमा विश्राम तथा भोजको आयोजना गरियो । त्यही क्रममा जात नमिलेको विषयमा विवाद उत्पन्न भयो ।
राजकुमारीलाई डोलीमा राखेर खाँचीकोट दरबारतर्फ लैजाँदै गर्दा अहिलेको सुपा देउराली मन्दिरभन्दा केही तल पुगेपछि डोलीबाट रगतको थोपा झर्यो । यो देखेर सबै आत्तिए । डोली बिसाइएको स्थानमै राजकुमारीको मृत्यु भयो । त्यसपछि खाँचीकोट राज्यमा महामारी, रोगव्याधी र अनेक दुःख कष्ट सुरु भए । राज्यमा अशान्ति बढ्न थाल्यो । धामी झाँक्री, वैद्य, लामा तथा राजगुरु बोलाउँदा पनि समस्या समाधान हुन सकेन ।
त्यही बेला दमार गाउँमा बसोबास गर्ने खनाल पण्डितहरूको चर्चा राजासम्म पुग्यो । राजाले विद्वान् खनाल पण्डितहरूलाई दरबारमा बोलाए । पण्डितहरूले उक्त स्थान देवी भगवतीको सिद्ध स्थल भएको र विवाहका बेला देवीको सम्मान नगरेकाले देवी क्रुद्ध भएको बताए ।
पण्डितहरूले राजालाई भने — “राजन ! जहाँ डोली बिसाइएको थियो, त्यही स्थानमा देवीको मन्दिर निर्माण गरी नित्य पूजा–आराधना गर्नुपर्छ ।”
राजाले तत्काल मन्दिर निर्माण गराए र पूजा–अर्चनाको जिम्मा खनाल पण्डितहरूलाई दिए । त्यसपछि नियमित रूपमा वैदिक विधिअनुसार पूजा हुन थाल्यो । बिस्तारै महामारी हराउँदै गयो र राज्यमा शान्ति फर्कियो ।
त्यही समयदेखि सुपा देउराली मन्दिरमा खनाल पण्डितहरूले पुस्तौँदेखि पूजा–अर्चना गर्दै आएका छन् । दमारका खनाल परिवारले यस मन्दिरको संरक्षण, पूजा व्यवस्थापन, धार्मिक परम्परा र संस्कृतिलाई निरन्तर जोगाउँदै आएका छन् । आज पनि खनाल पुजारीहरूले देवीको सेवा गर्दै आएका छन् ।
खनाल पण्डितहरूको ऐतिहासिक योगदान
सुपा देउराली मन्दिरको स्थापना, पूजा परम्परा र धार्मिक प्रतिष्ठा निर्माणमा खनाल पण्डितहरूको योगदान अतुलनीय छ । राज्य सङ्कटमा परेको बेला धार्मिक समाधान प्रस्तुत गर्ने, देवीको शक्ति र सिद्धस्थानको पहिचान गराउने तथा नियमित पूजा प्रणाली सुरु गर्ने कार्य खनाल पण्डितहरूले गरेका थिए ।
उनीहरूले केवल पूजा मात्र गरेनन्, धार्मिक संस्कार, परम्परा, मेला, भाकल र देवीप्रतिको आस्थालाई समाजमा जगेर्ना गर्ने काम पनि गरे । यही कारण आज सुपा देउराली नेपालकै चर्चित धार्मिक गन्तव्य बनेको छ ।
लाहुरे टाँसिएको किंवदन्ती
सुपा देउरालीसँग जोडिएको अर्को प्रसिद्ध किंवदन्ती “लाहुरे टाँसिएको” घटना हो । गोरुसिङ्गे–सन्धिखर्क सडक निर्माण हुनुअघि मानिसहरू खोलाको किनार हुँदै गोरेटो बाटो प्रयोग गर्थे । एक युवक भारत जाँदा देवीसँग भाकल गर्यो — “हे देवी ! म लाहुरे सेनामा भर्ती भएँ भने फर्केर आउँदा एक तोला सुन चढाउनेछु ।”
समय बित्दै जाँदा ऊ भर्ती भयो । तर पहिलो छुट्टीमा घर फर्किँदा सुन चढाउन बिर्सियो । देवीलाई छल्न उसले अर्को बाटोबाट घर जान खोज्यो । किंवदन्तीअनुसार देवी रिसाएर त्यस युवकलाई भीरमा टाँसिदिइन् । अहिले पनि स्थानीयले त्यो भीरमा लाहुरेको तस्बिर सहित झोला र बाकसको आकृति देखिने विश्वास गर्छन् ।
यस घटनाले सुपा देउरालीप्रतिको आस्था अझ गहिरो बनाएको छ । यहाँ भाकल गरेपछि पूरा गर्न ढिला गर्न नहुने जनविश्वास आज पनि उत्तिकै बलियो छ ।
मनोकामना पूरा हुने आस्था
सुपा देउरालीमा स्वच्छ मनले पूजा गरे मनोकामना पूरा हुने विश्वास छ । नेपालका विभिन्न जिल्ला — दाङ, रोल्पा, कपिलवस्तु, गुल्मी, पर्वत, स्याङ्जा, बागलुङ, नवलपरासी लगायत भारतका विभिन्न स्थानबाट समेत भक्तजन यहाँ आउने गर्छन् ।
विशेष गरी दसैँ, नवदुर्गा, पूर्णिमा, औँसी, एकादशी तथा अन्य पर्वहरूमा ठुलो भीड लाग्ने गर्छ । दैनिक सयौँ भक्तजनले पूजा, भाकल तथा भेटी चढाउने गर्दछन् ।
मन्दिरमा सङ्कलित भेटीबाट विद्यालय सञ्चालन, छात्रवृत्ति, खानेपानी, स्वास्थ्य चौकी, बिजुली तथा सामाजिक विकासका कामहरूमा समेत सहयोग हुँदै आएको छ । यसले सुपा देउराली केवल धार्मिक केन्द्र मात्र नभई सामाजिक विकासको आधार पनि बनेको प्रमाणित गर्छ ।
प्राकृतिक र पर्यटकीय महत्त्व
सुपा देउरालीमाथि रहेको मसिनाको लेक अत्यन्त रमणीय स्थान हो । त्यहाँबाट उत्तरतर्फका हिमश्रृंखला स्पष्ट देख्न सकिन्छ । विशाल मैदान, शान्त वातावरण र प्राकृतिक दृश्यले पर्यटकलाई लोभ्याउँछ ।
यदि यहाँ केबुलकार, रिसोर्ट, पदमार्ग तथा पर्यटन पूर्वाधार निर्माण गर्न सकिए अर्घाखाँची नेपालको प्रमुख धार्मिक–पर्यटकीय गन्तव्य बन्न सक्छ । यस क्षेत्रका जडीबुटी, वनस्पति, कृषि तथा स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीय युवाले आफ्नै ठाउँमा रोजगारी पाउन सक्छन् ।
दमार क्षेत्र तथा मसिनाको लेकमा पाइने टिमुर, हरचुर, गुराँस, हलेतो, बाँझ, बादलपाते लगायतका बहुमूल्य जडीबुटी वैज्ञानिक अनुसन्धानका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छन् ।अर्घाखाँचीका अन्य धार्मिक एवं ऐतिहासिक स्थल अर्घाखाँची जिल्लामा सुपा देउराली मात्र होइन, अनेक पौराणिक स्थलहरू रहेका छन् ।
खाँचीकोट कालिका भगवती मन्दिर
वराह मण्डली मन्दिर
दुर्वाश्वर गुफा
सिद्ध गुफा
बाणगंगा नदी
डमरु दह
भरङ्गे गुफा
माई भगवती मन्दिर
नरपानी तपोभूमि
बामरुक विष्णुगादी
तिनधारे छहरा
जरेखोला
मथुराबेंसी लगायत थुप्रै धार्मिक स्थलले अर्घाखाँचीलाई सांस्कृतिक रूपमा समृद्ध बनाएका छन् । सुपा देउराली मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो अर्घाखाँचीको इतिहास, संस्कृति, आस्था र पहिचान हो । खनाल पण्डितहरूको योगदान, देवीको महिमा, लाहुरे टाँसिएको किंवदन्ती, प्राकृतिक सौन्दर्य र धार्मिक विश्वासले यो स्थानलाई अझ विशिष्ट बनाएको छ ।
यस मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सके अर्घाखाँची जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिमा ठूलो योगदान पुग्नेछ । सुपा देउरालीको महिमा भावी पुस्तासम्म जोगाइराख्नु हामी सबैको साझा दायित्व हो ।