© 2026
नेपालमा अनलाइन मिडियाको उदयसँगै परम्परागत मिडियाहरूमा छापा माध्यममाथि अझ बढ्दो प्रभाव र यसले छापा मिडियामा पारेको असरबारे विगत २५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत सञ्चार विज्ञ नुमाकान्त पौडेलसँग बुटवल टुँडेकर्मी मिना ढकालले गरेको कुराकानीको सारसंक्षेपः
आजभोलि विश्वलगायत नेपालमा पनि अनलाइन न्युज मिडियाको सङ्ख्या ह्वात्तै बढेको छ । यसले हाम्रा परम्परागत मिडिया, त्यसमा पनि छापा माध्यमलाई कस्तो प्रभाव पारिरहेको देख्नुहुन्छ ?
विश्वलगायत हाल नेपालमा पनि अनलाइन न्युज मिडियाको प्रभाव छापा माध्यममा निकै परेको पाइन्छ । सन् २०२५ सम्ममा नेपालमा झन्डै ५ हजार १२६ भन्दा बढी अनलाइन सञ्चारमाध्यम दर्ता भइसकेको पाइन्छ ।
यसले गर्दा विशेष गरी १८ देखि ४० वर्षका युवा पुस्ताले छापा पत्रिका पढ्नु, रेडियो सुन्नु र टेलिभिजन समाचार हेर्नुकोसाटो मोबाइलमै तत्काल समाचार हेर्ने बानि बसालेका हुन्कि जस्तो देखिन्छ । नेपालको पत्रकारिता अहिले एउटा ऐतिहासिक संक्रमणकालीन अवस्थामा छ ।
वि.सं. १९ सय ५५ मा ‘सुधासागर’ बाट सुरु भएको नेपाली छापा माध्यमको यात्रा आज अनलाइन मिडियाको तीव्र प्रतिस्पर्धाको घेरामा छ । हिजो समाचारका लागि भोलिपल्टको बिहानी पर्खिने समाज आज ‘ब्रेकिङ न्युज’ को भोको छ ।
अहिले अधिकांश पाठकहरूले पहिलो पटक समाचार अनलाइनबाटै थाहा पाउँछन् । यसले गर्दा छापा माध्यमको पहुँच खुम्चिएको मात्र होइन, यसको व्यवसायिक मोडेल नै अप्ठ्यारोमा परेको छ ।
के अनलाइन मिडियाले गर्दा छापा माध्यमको अस्तित्व नै सङ्कटमा परेको हो त ?
सङ्कटै त नभनौँ, यसलाई ‘ट्रान्जिसन’ वा रूपान्तरण भन्न सकिन्छ । प्रिन्ट मिडियाको सर्कुलेसन र विज्ञापनमा निकै गिरावट आएको छ. तर, न्यु मिडियाहरूमा आएका समाचार सामग्रीहरूको विश्वसनीयताको कुरा गर्दा अझै पनि धेरै पाठकहरू आधिकारिक रूपमा पुष्टि भएको समाचारका लागि छापा माध्यममै भर पर्ने देखिन्छ । अनलाइनमा समाचार ‘ब्रेक’ त हुन्छ, तर त्यसको गहिराइ र विश्लेषणका लागि अझै पनि पाठकले पत्रिका नै हेर्न खोज्दछन् ।
अहिले विज्ञापनको बजारमा कस्तो परिवर्तन भएको देख्नुहुन्छ ?
विज्ञापनको ठुलो हिस्सा अहिले छापा तथा परम्परागत मिडियाबाट डिजिटल प्लेटफर्मतर्फ सरेको पाइन्छ । सरकारी विज्ञापन वितरणमा हुने अनियमितता र बजारको सङ्कुचनले गर्दा मूलधारका छापा माध्यमलाई आर्थिक रूपमा टिक्न निकै चुनौतीपूर्ण रहेको छ ।
अर्कोतर्फ नेपालमा इन्टरनेटको पहुँच ९० प्रतिशत भन्दा बढी पुगेसँगै, उत्पादन कम्पनीहरूले कम खर्चमा धेरै मानिससम्म पुग्न डिजिटल विज्ञापन रोजिरहेका छन् । ठुला कर्पोरेट हाउसहरूले आफ्नो विज्ञापन बजेटको ठुलो हिस्सा अहिले इन्फ्लुएन्सर मार्केटिङ र अनलाइन पोर्टलहरूमा खर्च गर्न थालेका छन् । यसले गर्दा विशेष गरी साना र मझौला छापा पत्रिकाहरू आर्थिक सङ्कटमा परेका छन् ।
आर्थिक सङ्कटको कुरा गर्दा, हालैका दिनमा पत्रकारहरूले समयमा नै तलब नपाएको कुरा मिडियामै समाचारको रूपमा आएको र मिडिया हाउसहरू बन्द हुने अवस्थामा पुगेको देखिन्छ नि ?
यो एकदमै गम्भीर समस्या हो । धेरै प्रतिष्ठित मिडिया हाउसहरूले समेत पत्रकारहरूलाई महिनौँसम्मको तलब दिन सकेका छैनन् । लामो समय काम गरेर अवकाश लिने पत्रकार तथा कर्मचारीहरूलाई पनि उनीहरूले पाउने सुविधा कानुन सम्मत दिएका छैनन् । कोभिड–१९ को महामारी र त्यसपछिको आर्थिक मन्दीले गर्दा छापा माध्यमको आर्थिक आधार थप कमजोर बनेको हो ।
तपाईँले अनलाइन मिडियाका मुख्य चुनौतीहरू के–के देख्नुहुन्छ ?
अहिलेको अनलाइन मिडियाहरूको मुख्य समस्या ‘कपी–पेस्ट’ पत्रकारिता, गलत सूचना (मिस–इन्फर्मेसन), सुनियोजित झुठ (डिस–इन्फर्मेसन) र पत्रकारिताको मूल्य–मान्यता विपरीतका सामग्रीहरू प्रकाशन प्रसारण हुने गर्दछन् । धेरै अनलाइनहरू दर्ता भए पनि गुणस्तरीय मिडियाका सामग्री उत्पादनमा ध्यान दिइएको पाइँदैन । अनलाइनमा कसले कुन उद्देश्यले समाचार लेखेको हो भन्ने छुट्टाउन पाठकलाई अप्ठ्यारो भइरहेको छ ।
त्यसो भए नेपालमा सञ्चार माध्यमको अबको बाटो के त ?
अब छापा र अनलाइन एक अर्काका विरोधी होइन, पूरक हुनुपर्छ । नेपालका ठुला प्रकाशन गृहहरूले डिजिटल ट्रान्जिसनलाई सफल बनाउँदै प्रिन्ट र अनलाइनलाई एकीकृत गरिसकेका छन् । अबको मिडियाको भविष्य ‘डिजिटल–फस्र्ट’ को रणनीतिमा छ, जहाँ सूचना तत्काल अनलाइनमा जान्छ र त्यसको विस्तृत रिपोर्ट भोलिपल्टको पत्रिकामा आउँछ ।
सहरी युवा पुस्ता र ग्रामीण क्षेत्रको पाठकको रोजाइमा कस्तो भिन्नता देख्नुहुन्छ ?
मिडिया सर्भेका अनुसार— १८ देखि ३५ वर्षका सहरी युवाहरू पूर्णतया डिजिटल माध्यममा निर्भर रहेको देखाएको छ भने ग्रामीण क्षेत्र र ज्येष्ठ नागरिकहरूका लागि अझै पनि रेडियो र पत्रिका सूचनाको भरपर्दो स्रोत भएको छ । तथापि मोबाइल फोन र सस्तो डेटा प्याकले गर्दा गाउँ–गाउँमा पनि फेसबुक र टिकटक मार्फत सूचना लिने क्रम बढ्दो छ, जसले परम्परागत मिडियालाई चुनौती दिँदै नागरिक पत्रकारिता बढ्दो छ ।
यो प्रतिस्पर्धाको बिचमा गुणस्तरीय पत्रकारिता जोगाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले पत्रकारिताको नैतिकता र मूल्य–मान्यतामा सम्झौता गर्नु भएन । प्रविधिको प्रयोग गर्दै तथ्य जाँच र खोजमूलक पत्रकारितामा मिडिया हाउसहरूले लगानी बढाउनुपर्छ । सरकारले पनि विज्ञापन नीतिमा सुधार गरी सरकारी विज्ञापन वितरण निजी लगानीका अनलाइन र परम्परागत मिडियाहरूलाई न्यायपूर्ण वितरण गर्नुपर्छ । जबसम्म कन्टेन्टमा गुणस्तर र विश्वसनीयता रहन्छ, सञ्चार माध्यम जे भए पनि पत्रकारिता पनि जीवित रहन्छ ।
अन्तमा, भविष्यको नेपाली सञ्चार माध्यमहरूलाई कसरी चित्रण गर्नुहुन्छ ?
नेपाली सञ्चार माध्यमको भविष्य भनेको ‘मिडिया कन्भर्जेन्स’ अर्थात् मिडियाको एकीकरण हो । अब एउटै पत्रकारले टेक्स्ट, भिडियो र अडियोमा काम गर्न सक्ने क्षमता राख्नुपर्छ । छापा माध्यमले आफूलाई ‘एलिट’ वा गम्भीर पाठकका लागि प्रिमियम उत्पादनको रूपमा विकास गर्नुपर्छ भने अनलाइनले आफ्नो विश्वसनीयता सुधार्न ध्यान दिनुपर्छ । प्रविधिले सञ्चार माध्यम परिवर्तन गर्ला, तर सत्य र तथ्यको खोजी गर्ने पत्रकारिताको धर्म रहिरहन्छ ।