Butwal Today

‘सरकार नर्सहरूमाथिको विभेद हटाऊ’ 

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

‘हाम्रा नर्सहरू हाम्रो भविष्य, नर्सहरूले बचाउँछन् जीवन’ भन्ने नाराका साथ विश्व नर्सिङ दिवस आज विश्वभर मनाईदैछ । औपचारिकताकै लागि भए पनि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।

नर्सिङ दिवसकै कुरा गर्दा आज नर्सहरूले ठुलो चुनौतीको सामना गर्नुपरेको छ । विगतमा कोरोना महामारीको बेला जोखिम मोलेर बिरामीको ज्यान बचाउने नर्सहरू अभद्र र हेलाको चेपुवामा परेका छन् । नर्स भनेपछि नाक खुम्च्याउने प्रवृत्ति अझै पनि नेपाली समाजमा कायमै छ ।

विदेशमा भने पछिल्लो समय नर्सिङ क्षेत्रमा लगानी बढेको छ । नर्सहरूको विदेशमा सम्मान बढ्न थालेको छ । जसको कारण नेपाली नर्सको आकर्षण विदेशका अस्पताल हुन थालेका छन् । नेपाली नर्सका लागि यो खुसीको कुरा हो । कम्तीमा विदेशमा भए पनि आकर्षक तलबसहितको जागिर खाने अवसर नेपाली नर्सले पाएका छन् । नेपालमा अझै पनि नर्सहरूमाथि पारिश्रमिकमा विभेद गर्ने गरिएको छ ।

यद्यपि पछिल्लो समय अव नर्स भन्ने बित्तिकै हेपेर व्यवहार गर्ने विगतको संस्कारमा परिवर्तन आउँदै छ । अर्कोतर्फ नर्सिङमा विदेशबाट समेत राम्रो माग हुँदै आएकोले यो पेसा अव सम्मानित पेसा बन्दै छ । आशा गरौं नर्सको सम्मानको दिन आउँदै छ ।

यो दिवसको अवसरमा विगतमा जसरी नर्सहरूले जोखिमका बीच पनि सेवाको भावनाले आफ्नो ज्यानको बाजी लगाएर कोरोना संक्रमितको सेवा गरे, उनीहरूको प्रशंसा गर्नुपर्दछ । सरकारले उनीहरूलाई सम्मान गर्नेतर्फ अव ध्यान देओस् । नर्सिङ दिवसको अवसरमा उत्कृष्ट सेवा गर्ने नर्सहरूलाई सम्मान गर्ने परम्पराको थालनी होस् ।

विश्व आधुनिक चिकित्सा पद्धतिमा नर्सहरूले अभूतपूर्व योगदान गर्दै आएका छन । नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका भनिने पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटिंगेलको जन्म दिनका अवसरमा विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गर्दछ ।

रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटिंगेलले बेलायतको लण्डनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गरेकी थिइन ।

फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई उभ्याएकी हुन् । त्यसैले उनी यो विश्वकै पहिलो अनि महान नर्स हुन । उनको सम्मानमा आज सारा विश्व नतमस्तक छ ।

नर्सहरू यिनको योगदानले गर्बको महसुस गर्छन । नेपालमा नर्सिङको इतिहास वि.सं २०१३ वाट सुरु भएको देखिन्छ । जब केही गृहणीहरू लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । अवको दिनमा नर्सिङ पेशालाई सम्मानित बनाउने दायित्व र कर्तब्य नर्सहरूको पनि छ । नर्सहरूप्रति बिरामीको गुनासो पनि छ । नर्सहरूले विरामीलाई अपहेलना गर्ने गरेको नर्सहरूमाथि बर्षौदेखि लाग्दै आएको आरोप हो । अव नर्सहरूले पनि आफ्नो सवैलाई एउटै कित्तामा राख्न मिल्दैन ।

अवको दिनमा नर्सहरूको पेशाको सम्मानका लागि पनि नर्सहरू आफूले पनि पेशालाई मर्यादित बनाउनु जरुरी छ । अवको दिनमा नर्सिङको लामो इतिहास र यसको गौरव र साख जोगाउनेतर्फ पहल जरुरी छ । खासगरी सरकारले पनि बिरामीको सेवामा अहोरात खटने नर्सहरूको उचित सुरक्षा तथा जीवनबृत्तिको ग्यारेण्टी गर्नु जरुरी छ । पछिल्लो समय नर्सिङ क्षेत्रले साख कमाउन थालेको छ ।

नेपालले गौरव गर्ने लायक बनेको छ– नर्सिङ क्षेत्र । नेपालका नर्सले विदेशमा राम्रो अवसर र सम्मान पाएका छन् । दुःख र विपत्तीको बेला नै हो जसको पनि परिक्षण हुने । अहिले नर्सिङ क्षेत्रले गरेको सत्कर्मको परिक्षण भएको छ । र, सवैको प्रशंसायोग्य वनेको छ ।

दिवसको यो अवसरमा यो पेशालाई अपहेलना होइन, सम्मान गरौं । सरकारले नर्सहरूलाई हरेक बर्ष सम्मान गर्ने वातावरण बनाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?