Butwal Today

चराचुरुङ्गी र लोकसंस्कृतिको साइनो

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

नेपाली जनजीवन र चराचुरुङ्गीबीच गहिरो सम्बन्ध छ । कृषि, लोकसंस्कृति, लोकसाहित्य, लोकव्यवहारलगायतका लोकजीवनका तमाम आयामहरूसँग चराचुरुङ्गीको अन्योन्याश्रित सम्बन्ध छ । समग्रमा, चराचुरुङ्गीको उपस्थितिबीना हाम्रो जीवन अपूरो रहन्छ ।

खेतीपातीमा आधारित हाम्रो जस्तो ग्रामीण जनजीवनमा बीजारोपण तथा खेतीपातीको चक्रसँग चराचुरुङ्गीले विशिष्ट भूमिका खेलेको पाइन्छ । गाउँघरमा बीउ कुहियो, क¥याङकुरुङ जस्ता चराचुरुङ्गीले बीउ रोप्ने समय आएको सन्देश प्रवाह गर्छ । लोकविश्वास अनुसार बीउ कुहियो चराको आवाजले खेतीपातीको याम सुरु भएको सङ्केत गर्छ । क¥याङकुरुङको बथान आकाशै ढाक्ने गरी उड्दा काँक्रो–फर्सी रोप्ने बेला भयो भन्ने सन्देश लोकजीवनमा स्वस्फूर्त तवरमा प्रवाह हुन्छ ।

वानस्पतिक विविधताको संरक्षण तथा संवर्धनमा पनि चराचुरुङ्गीको योगदान बन्दनीय छ । तिनीहरूले आहारास्वरूप विभिन्न प्रकारका फलफूल खान्छन् । त्यसपछि उडेर गई विभिन्न ठाउँमा विष्ट्याउने गर्छन् । समय क्रममा तिनै विष्टाबाट ठाउँ ठाउँमा नयाँ बीरुवाले जन्म लिन्छन् । यसबाट विभिन्न प्रकारका बीउबीजन व्यापक भूगोलमा विस्तारित हुन पुग्छ । यसरी चराचुरुङ्गीले वनस्पतिको विस्तारमा अतुलनीय योगदान दिन्छ ।

हाम्रो घरमा गुँड लाउने गौँथली, परेवा जस्ता चराचुरुङ्गीको आवाज तथा क्रियाकलापलले घर–संसारलाई जीवन्त तुल्याउँछन् । घरको धुरी, आँगन तथा करेसाबारीतिर चिरबीर गर्दै फूर्तिलो पाराले फ¥याकफुरुक गर्दै यताउति भुर्रभुर्र उँड्ने भङ्गेराले हाम्रो मन बहलाउन प्रत्यक्ष वा परोक्ष किसिमले सहयोग गरिरहेको हुन्छ । यसबाट राष्ट्रकवि माधव घिमिरेद्वारा सिर्जित बालकविता ‘कुरा गर्छन् कसरी भङ्गेरा र भङ्गेरी’ को सम्झना गराउँछ ।

चराचुरुङ्गीका किस्सा

नेपाली लोकअभिव्यक्तिमा चराचुरुङ्गीको विशिष्ट स्थान छ । तोता मैनाको कथा, गोलसिमलको कथा, डाँफे र मुरलीको कथा, काग र कोइलीको कथा, हुटिट््याउँको किस्सालगायत चराचुरुङ्गीसँग सम्बन्धित अनेक कथाकुथुङ्ग्रीले लोककथा विधालाई उर्वर, रसिलो र भरिलो छन् ।

तोता मैनाको कथा (२०७७) मा तोता र मैनाको संवाद छ । काशीबहादुर श्रेष्ठद्वारा सङ्कलित यस कृतिमा स्त्री र पुरुषले प्रणयसम्बन्धका नाममा एकले अर्कालाई कुन पराकाष्टासम्म धोका दिन सक्छन् भन्नेबारे रोचक वर्णन छ । यस कृतिमा प्रेमी र प्रेमिकाले प्रणय सम्बन्धका नाममा एकअर्कालाई दिने धोकाको एक से एक अब्बल तथा रोचक

अब आउँछ गोलसिमल चराको कथा । गाउँघरमा प्रचलित जनश्रुति अनुसार गोलसिमल चराको कथामा मूलतः सौतेनी आमाले टुहुरी छोरीलाई दिएको यातनामा केन्द्रित छ । सिमलचरी नामले समेत परिचित गोलसिमलको कथाले सौतेनी आमाको बुहार्तन खेप्न अभिशप्त एउटा एउटी टुहुरी, निरीह र अपहेलित चेलीको विरहिरणी तस्बीर आँखासामु ल्याइदिन्छ । गोलसिमलको कारुणिक जीवनवत्तान्तबाट प्रभावित भएर जनकवि धर्मराज थापा, राष्ट्रकवि माधव घिमिरे जस्ता राष्ट्रिय व्यक्तित्वहरूले गोलसिमलबारे साहित्यक कृति प्रकाशन गरेका छन् ।

डाँफे र मुरलीको कथाले हिमालको डाँफे र मधेशको मुरली चराबीच अघि मिठो मिलन र पछि पीडादायी विछोडको कथा पस्केको छ । डाँफे र मुरलीको कथामा एउटा लोभी शिकारीको कुदृष्टिबाट प्रेमको एउटा सुन्दर संसार भताभुङ्ग हुन पुगेको देखाइएको छ । यस विरहपूर्ण प्रणयकथाले नमिठो गरी मन रुवाउँछ । धर्मराज थापा र हंसपुरे सुवेदीकृत कृति नेपाली लोकसाहित्यको विवेचना (२०४१) मा डाँफे र मुरलीको कथा छ ।

नेपाली लोकजीवनमा हुटिट्याउँको किस्सा सर्वव्यापक छ । हामीकहाँ प्रचलित लोकविश्वास अनुसार आकाश खस्न लागेको ठानेर हुटिट्याउले खुट्टा आकाशतिर फर्काएर सुत्छ । यससँगै आफूले सिङ्गो आकाश थामेर आफूसँगै दुनियाँलाई जोगाएको भ्रममा हुटिट्याउ बाँच्छ । यसले ‘मैले सबथोक धानेको छु’ भन्ने अहम्पूर्ण आत्माकेन्द्रित प्रवृत्तिलाई इङ्गित गर्छ ।

नेपाली समाजमा काग र कोइलीको किस्सा कम रोचक छैन । जनश्रुति अनुसार कोइली आफैँले गुण बनाउँदैन । कोइलीले कागको आँखा छलेर उसकै गुणमा गएर अण्डा पारिदिन्छ । कागले त्यसलाई आफ्नै अण्डा ठानी त्यसबाट चल्ला कोरलेर हुर्काउँछ । लोकविश्वास अनुसार चल्ला हुर्किएर पूर्ण रूपमा जवान भएपछि मात्र काग र कोइलीबीचको भेद खुल्छ । हुन त कागलाई अतिशय होसियार र बाठो पन्छी मानिन्छ । त्यति बाठो कागलाई समेत जिल्याउन सक्ने कोइलीको बठ्याइँ झन् उच्चस्तरको छ । यही आधारमा ‘कागभन्दा कोइली बाठो’ भन्ने लोकोक्ति प्रचलनमा आएको हो ।

कोइली मधुर स्वरयुक्त पञ्छी मानिन्छ । कसैको श्रुतिमधुर आवाजलाई कोइली जस्तो स्वर प्रशंसा गरिन्छ । अर्को शब्दमा यस्तो व्यक्तिलाई कोकिलकण्ठे स्वर’ का धनी भनी पुकार्ने चलन छ । ‘कोकिलकण्ठे स्वर’ को वर्णन लोकभाकामा पनि पाइन्छ । जस्तै ः कोइली जस्तो त्यो तिम्रो बोली, काँ गएर बीर्सने म भोलि । प्रचलित मान्यता अनुसार कोइलीको मृदुस्वर वसन्त ऋतुमा मात्र सुन्न पाइन्छ किनभने अरू ऋतुमा ऊ मौन रहन्छ । कोइलीको प्रजाति अनुसार उसले फरक फरक आवाज निकाल्छ भन्ने भनाइ छ । बीउ कुहियो, काफल पाक्यो जस्ता आवाज निकाल्ने पन्छी अरू कोही नभई कोइली नै हो भन्ने भनाइ पनि छ ।

कोइलीको बखाननामा पछि एकैछिन कागको कुरा गरौँ । बठ्याइँ र स्वर–मार्धुयमा कोइलीभन्दा पछि परे पनि कागको महत्वलाई कम आँक्न मिल्दैन । लोकसमाजले कागलाई राम्रो नराम्रो खबर प्रवाह गर्ने खबरदूत मान्छ । उसलाई शुभ अशुभ खबरको बाहक मान्ने चलन छ । त्यसैले घर–आँगनमा अचानक काग कराउँदा सुबोल–सुबोल (शुभ बोल) भन्ने चलन आज पर्यन्त कायमै छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रसिद्ध कृति मुनामदनमा पनि कागले मदनबारे अशुभ समाचार ल्याएको प्रसङ्ग भेटिन्छ ।

अब काकाकुलको किस्सा । कतै कतै काँकुली नामले समेत चिनिने काकाकुल पानीका लागि तड्पिने पन्छीका रूपमा लिने गरिन्छ । लोकविश्वास अनुसार काकाकुलले जमिनमा रहेको कुनै पनि पानी खाँदैन किनभने उसले पानी खान खोज्दा त्यसलाई रगतै रगत देख्छ । भनिन्छ पानी नपरेको समयमा उसले तिर्खा मेटाउन पाउँदैन र पानीका लागि तड्पिरहन्छ । समग्रमा काकाकुल पानीका निम्ति श्रापित पन्छी मानिन्छ । कसैले कुनै तिर्खाएको व्यक्तिलाई पानी दिएन भने त्यस्तो व्यक्ति अर्को जुनीमा काकाकुल बन्छ भन्ने लोकमान्यता पनि छ ।

नेपाली लोकजीवनमा चराचुरुङ्गीसँग सम्बन्धित यस्ता थुप्रै कथाकुथुङ्ग्री छन् । विगतमा कथा सुन्ने र सुनाउने प्रचलन घर घरमा थियो । जसबाट यस्ता रोचक तथा सन्देशमूलक कथा पुरानो पुस्ताबाट नयाँ पुस्तामा स्वस्फूर्त किसिमले हस्तान्तरण हुन्थ्यो । समयको कोल्टो फे¥यो । टेलिभिजन तथा सोसल मिडियाको युग सुरु भएपछि यस्तो गुनिलो परम्परा ओरालो लाग्दै गएको छ । यससँगै यस्ता अमूल्य अमूर्त सांस्कृतिक सम्पदा जोगाउँदै नयाँ पुस्तामा सकुशल हस्तान्तरण गर्ने चुनौतीपूर्ण गहन जिम्मेवारी हाम्रो काँधमाथि थपिएको छ ।

उखान–टुक्का

आफ्नो अभिव्यक्तिलाई चोटिलो र वजनदार बनाउन गर्ने क्रममा लोकजीवनमा अनेकन् उखान–टुक्का प्रयोग गरिन्छन् । साहित्यकार कृष्णप्रसाद पराजुलीले आफ्नो कृति नेपाली उखान र गाउँखाने कथा (२०५८) मा उखानलाई समाजको ‘खिरिलो अभिव्यक्ति’ भनेका छन् । नेपाली समाजमा चराचुरुङ्गीसँग जोडिएका चोटिलो र खिरिलो उखान–टुक्का निकै प्रचलित छन् । यस्ता उखान–टुक्कामा चराचुरुङ्गीको नाम आए पनि तिनले अन्ततः मानव व्यवहार र स्वभावलाई नै इङ्गित गर्छन् । यसका केही दृष्टान्त हेरौँ ।

सामान्यतया मानिस जुन परिवेशमा हुर्किएको छ, त्यही परिवेशमा रमाउँछ । हुर्काइ–बढाइसँगै उसलाई आफ्नै परिवेश स्वर्गभन्दा प्यारो लाग्छ । कता कता एकलकाँटे जस्तो प्रतीत हुने यस किसिमको मानवीय प्रवृत्तिलाई दर्साउने उखान हो ‘वनको चरो वनमै रमाउँछ’ ।

कतिपय व्यक्तिको सानो सानो समस्यामा पनि त्यसै आत्तिने स्वभाव हुन्छन् । जब कि अरूले त्यसभन्दा गम्भीर समस्या भोगिरहेका हुन्छन् । तैपनि उनीहरूले धैर्यधारण गर्छन् । सानो कुरामा पनि अच्चम्मित भएर तथा आत्तिएर एकैछिनमा आकुलब्याकुल बन्छन् । व्यक्तिको चरित्र चित्रण यसरी गरिन्छ ः ‘ठूली चरी कालले मरी, सानी चरी उदेकले मरी’ ।

जसरी चराले आफ्नो आहाराका लागि प्रमुख साधनका रूपमा ठुँड (चुच्चो) लाई प्रयोग गर्छन्, त्यसरी नै मानिसले पनि निश्चित पेसा व्यवसायलाई जीवनयापनको मूल आधारका रूपमा अपनाएका हुन्छन् । अन्यथा उसलाई जीवन धान्न कठिन हुन्छ । यसरी मानिसले जीवनयापनका लागि अपनाउने मूल पेसागत वा व्यवसायगत आधारलाई विम्बात्मक तवरमा ‘चरीको धन चुच्चो’ भनिन्छ ।

कसैको बेफिक्री किसिमले बोल्ने स्वभाव हुन्छ । यस्तो स्वभावले उसैलाई क्षति गरिरहेको हुन्छ । दुनियाँले के–कस्तो ठान्ला भन्नेबारे थोरै पनि ख्यालै नगरी बोल्ने व्यक्तिको बोलीले नै शत्रु जन्माउँछ । एक अर्थमा उसको बोली नै शत्रु उत्पादन गर्ने मेसिन बन्न पुग्छ । बोलेरै सम्बन्धको व्याकरण बीगार्ने व्यक्तिको स्वभावलाई दर्शाउने उखान हो ‘तित्राको मुखै बैरी’ ।

लाटोकोसेरोलाई भलादमी पन्छी मानिन्छ । ऊ उतिविधि हलचल नगर्ने, दिनमा सुत्ने र रातमा जागा रहने भद्र स्वभावबाट परिचित छ । अर्कोतिर अरू चराहरू निकै चङ्ख र फूर्तिला हुन्छन् । धेरै हलचल नगर्ने र भलादमी स्वभावको लाटोकोसेरोलाई चङ्ख र फूर्तिला चराहरूको गोठालो बन्ने जिम्मेवारी दियो भने के होला ? यसको नतिजाबारे सहजै अनुमान गर्न सकिन्छ । यही अवस्थालाई दर्शाउन व्यङ्ग्यात्मक किसिमले भनिन्छ ः ‘चराको गोठालो लाटोकोसेरो’ ।

अब आत्मानिर्भरताको कुरा गरौँ । कसैले जस्तोसुकै गाह्रोसाह्रो रहेर भए पनि आफ्नै बलबुतामा जसोतसो काम फत्ते गर्छन् । उसले अरू कसैको सहयोगको अपेक्षा पनि गर्दैन । यसरी सीमित स्रोतसाधन भए पनि आफ्नै बलबुतामा रमाएर काम फत्ते गर्ने स्वालम्बी स्वभावलाई दर्शाउने उखान हो ‘वनको चरा, वनकै ढुङगा’ ।

समाज मानव समुद्र हो । जहाँ राजादेखि रङ्कसम्मका मानिसबारे अनेकन् टीकाटिप्पणी चलिरहन्छ । जुन एउटा स्वाभाविक प्रक्रिया हो । बुझक्कडहरूले त्यसबारे न अनावश्यक चासो राख्छन् न त यस्ता टीकाटिप्पणीबाट आहात नै हुन पुग्छन् । तर कोही भने आफ्नोबारे समाजमा सानोतिने टीकाटिप्पणी हुँदा पनि आहात हुन पुग्छन् । यस्तो अवस्थामा सामाजिक टीकाटिप्पणीलाई स्वाभाविक ठान्दै त्यसप्रति चित्त दुखाउन आवश्यक छैन भन्ने अर्थमा बुझक्कडहरू भन्ने गर्छन् ः ‘वनको चरीले के बोल्छ, के बोल्दैन’ ।

समाजमा यस्ता घटना हुन्छन्, जसले कुनै खास व्यक्ति वा समूहबाहेक अरूको जीवनमा कुनै प्रभाव नै पार्दैन । टाढा–टाढासम्म पनि यसको कुनै सम्बन्ध हुँदैन । त्यही भएकाले घटनाबाट खुसी वा दुःखी हुनुपर्ने अवस्था नै रहँदैन । यसरी कुनै लेनदेन नै नभएको असम्बन्धित घटनालाई जनाउने उखान हो ‘बेल पाकेर कागलाई हर्ष न विस्मात्’ ।

एक अर्थमा मानिस मौकापरस्त प्राणी हो । ऊ नयाँ नयाँ अवसरको खोजीमा रहन्छ तर कतिपय मानिस लोकलाज र नैतिकताको ख्यालै नराखी निर्जज्ज किसिमले मौकाको फाइदा उठाउन तम्सिन्छन् । मानिसमा विद्यमान यस्ता अति अवसरवादी प्रवृत्तिलाई औँल्याउने अनेकौँ उखान प्रचलित छन् । तीमध्ये एक हो ‘जहाँ काफल पाक्यो, उहीँ चरी नाच्यो’ ।

व्यक्तिका जीवन जिउने आफ्नै कानुन–काइदा र जीवन–दर्शन हुन सक्छन् । सोही अनुसार व्यक्तिले जीवनरथ अघि बढाउँछ तर उसको जीवनरथले सामाजिक लोकाचारसँग तादात्म्य कायम गर्न सकेन भने ऊ समाजका अगाडि अपरिष्कृत र बेढङ्गे ठहरिन पुग्छ । यसरी दुनियाँको लोकाचारसँग मेल नखाने चालामालालाई जनाउने सर्वप्रचलित उखान हो ‘हाँसको चाल न कुखुराको चाल’ ।

अब टुक्कातिर लागौँ । अरूसँग उतिविधि नझ्याम्मिने व्यक्तिलाई ‘वनको चरा जस्तै एकलकाटे’ वा ‘वनको ढुकुर जस्तै वैगुनी’ भनिन्छ ।  यसको विपरीत फरासिलो तर बढी बोल्ने स्वभावका व्यक्तिलाई ‘मैना’ उपमा दिइन्छ । यसै गरी थोरै खाए पनि पुग्ने व्यक्तिलाई ‘चरा जस्तै अल्पाहारी’ भनिन्छ । चतुर व्यक्तिलाई ‘कागको फूल चार्ने खालको’ भनिन्छ ।

वाक्पटुतायुक्त धूर्त व्यक्तिलाई ‘उडेको चरा खसाल्ने खालको’ भनी टिप्पणी गरिन्छ । सानो वा मसिनो खुट्टा भएको व्यक्तिलाई ‘चरीखुट्टे’ भन्ने चलन छ । कसैले आफूले नै दुनियाँ समालेको छु भन्ने आशयको व्यवहार प्रदर्शन गरेमा ‘हुटिट्याउँले आकाश थामे जस्तो’ कुरा गर्छ भनी टिप्पणी गरिन्छ ।

यी त केही दृष्टान्त मात्र हुन् । लोक अभिव्यक्तिमा चराचुरुङ्गीसँग जोडिएका उखानटुक्का बेग्लै विशद अध्ययनको विषय बन्न सक्छन् ।

लोकभाकामा चराचुरुङ्गी

लोकजीवनको सरल र सहज अभिव्यक्तिका रूपमा रहेको लोकभाकामा जीवन र जगत्का सबै पाटो र पोयोहरू समेटिन्छन् । लोकभाकाको सरल र सहज अभिव्यक्तिमा चराचुरुङ्गीका प्रसङ्ग कसरी अलग रहन सक्ला र ? लोकभाका मार्फत मानिसका आरोह अवरोहपूर्ण जीवन–घटना स्वाभाविक रूपमा प्रतिविम्बीत हुन्छन् । जसमा चराचुरुङ्गीले स्थान नपाउने कुरै छैन । लोकभाकामा कतै अन्त्यानुप्रासका रूपमा, कतै विम्बका रूपमा, कतै उपमाका रूपमा चराचुरुङ्गी आइपुग्छन् । यससम्बन्धी केही दृष्टान्त ः

राणाकालको दमनकारी राज्य संयन्त्र । राणा र शासन–सत्तमा रहेकाले जे गरे पनि हुने, जसो गरे पनि हुने, जे बोले पनि हुने तर निर्धा जनताले भने चुइक्कसम्म गर्न नपाउने । यही स्वेच्छाचरी रवैयाप्रति लक्षित गरे लोककवि अलि मियाँले चरीलाई विम्ब बनाएर मार्मिक गीत रचेका थिए भन्ने सुनिन्छ । गीत अंश यस्तो थियो ः रानीचरी स्याकलुङे वनभरि, बोल माया तिमै छ मनपरि । स्याकलुङ, कास्कीको हंसपुरमा पर्छ ।

लोककवि अलि मियाँले नै दुःखी दरिद्रको घरबारविहीन अवस्थालाई जनाउन पनि चरी विम्ब प्रयोग गरेका छन् ःचरीको कहाँ छ र घर, रात काट्यो डालीमै बसेर । उनै लोककवि अलि मियाँले दीनहीन अवस्था भुक्तमान सहेका सामान्य जनताले भोलिको वैभव र घरबारबारे आशा मारिसकेको पीडादायी परिस्थितिलाई जनाउनलाई पनि चरी विम्ब प्रयोग भएको देखिन्छ ः चरीको आउँदैन दूध, गरिबको हुँदैन घरबार ।

जिन्दगी सुख दुःखको चक्र हो । सुख दुःखको चक्र घुम्दै गर्दा अलि मियाँले चित्रण गरेको निराशापूर्ण परिस्थिति मात्र रहँदैन । कतिपय अवस्थामा रुमानी सम्बन्धहरूमा स्थापित हुन्छन् । जहाँ आशा र भरोसाको सञ्चार हुन्छ । त्यस्तो बेलामा चराचुरुङ्गी आशाको उडान भरेर टुप्लुक्क आइपुग्छन् । यसको एउटा सानो दृष्टान्त ः रानी चरी गीत गाउँछ भाका फेरी फेरी, अझै माया गाँसिराख हुन्छ जुनीभरि ।

रुमानी सम्बन्धहरूमा भेटघाटले प्राण सञ्चार गर्छ तर ग्रामीण जीवनको व्यस्त कार्यसूचीमा फुर्सद अनि भेटघाट भन्ने कुरा एक प्रकारले दुर्लभ नै हुन्छन् । घाँसदाउराको भारीले थिचिएका अनि घरव्यवहारले थिचिएकाहरूले रुमानी भेटघाटको दुर्लभपनलाई यसरी जनाउँदा रहेछन् ः तिम्रो हाम्रो भेट हुन्छ कैले कैँ, कागको फूल कोइलीले चोर झैँ । जनकवि केशरी धर्मराज थापाले आफ्नो कृति लोकसंस्कृतिको घेरमा लमजुङ (२०४१) मा दुराडाँडाको च्यानपाटा बजारमा यस्तो गीत सुनेको चर्चा गरेका छन् । यसरी जीवनका उकाली ओरालीहरूमा सुख दुःखको गीत सुनाउन चराचुरुङ्गी आउँछन् ।

साहित्यिक कृति
सर्जकहरू चराचुरुङ्गीको चिरबीर, जादूमय मोहनी रूप र फूर्तिलो स्वभावबाट कसरी अप्रभावित रहिरहन सक्थे होलान् र ? चराचुरुङ्गीको बहुआयामिक रूपबाट प्रभावित भएर नै नेपाली साहित्यहरूले चरालाई विम्ब, उपमा वा विषयवस्तु बनाएर असङ्ख्य कृति रचेका छन् ।

उत्तम कुँवरले आफ्नो कृति स्रष्टा र साहित्य (२०५०) मा चर्चा गरे अनुसार नेपाली भाषामा पाइएको पहिलो कृति विसं १७०० तिर लेखिएको बाज परीक्षा हो । जो उनका अनुसार बज्र र नेपाली भाषाको मिश्रण जस्तो देखिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता सङ्ग्रह पिँजडाको सुगा (१९७४) नेपाली साहित्य जगतमा बहुचर्चित छ । पौड्यालको कविता सङ्ग्रह ऋतुविचारमा कोइलीको मिठो वर्णन पाइन्छ । पौड्यालको अर्को काव्यकृति तरुण तपसी’ मा चराको बोली र रुखको छायाँमा दर्शन प्रतिविम्बीत छ ।

लक्ष्मीप्रसाद देवकोटाको मैना (२०३९), शिवकुमार राईको डाँफेचरी, रमेश श्रेष्ठको चराहरूको पहाड (२०५५), रामेश्वर राउत मातृदासको उँडेको पञ्छी, झरेको प्वाँख (२०५०) जस्ता काव्यकृतिको शीर्षकले चरासँग साइनो गाँसेका छन् । यसैगरी पूर्णप्रसाद ढुङ्गेलको कौवा (२०३०), अविनाश श्रेष्ठको परेवा ः सेता–काला (२०४०), लवबहादुर प्रधानको ए रातका चरा (२०१८), धर्मराज थापाको वनचरी (२००३) जस्ता काव्यकृतिको शीर्षक चराचुरुङ्गीसँग जोडिएका छन् ।

साहित्यकार कृष्णप्रसाद पराजुलीले आफ्नो बालकथा सङ्ग्रहको नाम नै हिमाली डाँफे (२०४४) राखेका छन् । यस कृतिमा पराजुलीले डाँफेबाहेक ढुकुर, मयुर, जुरेली, कोइली, मैना, न्याउली, भङ्गेरा जस्ता चराचुरङगीसँग जोडिएका कथा पस्केर बालमस्तिष्कलाई उर्वर बन्न सघाएका छन् । साहित्यकार देवकुमारी थापाले बालकथा सङ्ग्रहको नाम सुनपखेटी चरी (२०४२) राखेकी छिन् ।
शङ्कर लामिछानेको कथा सङ्ग्रह गौँथलीको गुण (२०२५), खड्कबहादुर सिंहको उपन्यास हुरीको चरा, धर्मराज थापाले सुरु गरेको लोकसाहित्यमुखी पत्रिका डाँफेचरी (२०१०), राष्ट्रकवि माधव घिमिरेको काव्यकृति सुनपङ्खी चरी (२०३५) आदि कृतिका चराबाट नामकरण भएका छन् ।

यी कृतिहरू केही दृष्टान्त मात्र हुन् । नेपाली साहित्य जगत्मा चराचुरुङ्गीसँग जोडिएका असङ्ख्य कृति लेखिएका छन् ।

लोकजीवन र लोकव्यवहार

नेपाली लोकजीवनमा चराचुरुङ्गीको विशिष्ट महत्व छ भन्नेबारे माथि नै चर्चा गरिसकिएको छ । लोकसमाजले चराचुरुङ्गीसँग सम्बन्धित थुप्रै सांस्कृतिक तथा मनोवैज्ञानिक पक्षलाई समेटेर व्यवहार गरेको पाइन्छ । यसको सानो दृष्टान्तका रूपमा मैना–सुगा पाल्ने चलन छ ।

चराले राजनीतिक महत्व पनि राख्छ । नेपालले हिमाली भेगमा पाइने डाँफेलाई राष्ट्रिय पन्छी मानेको तथ्य जगजाहेर नै छ । नेपाल संविधान, २०१९ को धारा ६ (२) मा डाँफेलाई राष्ट्रिय पन्छी, लालीगुराँसलाई राष्ट्रिय फूल र सिम्रिकलाई राष्ट्रिय रङ्ग भनी उल्लेख गरिएको थियो ।
हाम्रो समाजमा सिनो खाएर बाँच्ने गिद्धको हाम्रो सांस्कृतिक जीवनमा बेग्लै महत्व छ । हिमाली भेगका केही समुदायले मानिसको शव काटेर गिद्धलाई खुवाउने चलन छ । मानिसले मृत्युवरण गरेपछि त्यसै खेर जाने मृत शरीर भोका गिद्धलाई आहाराका रूपमा खुवाउनुले मृत्यु संस्कारमा विद्यमान कल्याणकारी भावना झल्कन्छ ।

लोकसमाजले गिद्धलाई अपशकुन निम्त्याउने चराको रूपमा लिने गर्छ । कसैको घरमा गिद्ध बसेरमा वा कसैको शरीरमा गिद्धले विष्ट्याइदिएमा त्यसलाई भविष्यमा हुन सक्ने अनिष्ट घटनाको पूर्वसङ्केत मानिन्छ । यस्तो भएमा पण्डित बोलाएर स्वस्ति–शान्ति गर्ने चलन कायमै छ । कसैले सपनामा गिद्ध देख्यो भने त्यसलाई पनि अमङ्गलकारी घटनाको सूचक मान्ने गरिएको पाइन्छ ।

सांस्कृतिक दृष्टिले गिद्धलाई अपशकुन निम्त्याउने पन्छी मानिए पनि वातावरणीय दृष्टिले उपयोग पन्छी हो । यसले विभिन्न सिनो खाएर वातावरणलाई सफा राख्न सघाउँछ । अहिले तिनै गुणी गिद्ध सङ्कटमा पर्दै गएको छ । विभिन्न अध्ययनले विषादियुक्त सिनो खाएर गिद्धको सङ्ख्या तीव्र गतिमा घट्दै गएको औँल्याएको छ । यही सन्दर्भमा नेपालमा गिद्ध रेष्टुराँ तथा गिद्ध प्रजनन केन्द्र खुलेका छन् ।

अब एकैछिन भद्राई चराको प्रसङ्ग कोट्याऔँ । हाम्रो समाजले भद्राई चरालाई शकुन ल्याउने चरा मान्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?