© 2026
चन्द्रौटा ।
कपिलवस्तुमा अवैध रूपमा ल्याइएका सामान बरामद गरेको छ । प्रहरीले आइतबार बिहान जिल्लाका दुई स्थानबाट चार लाख ३४ हजार दुई सय रुपैयाँ मूल्य बराबरका बिलबिजकविहीन ल्याइएका सामान बरामद गरेको हो ।
शिवराजबाट तयारी कपडा तथा यशोधराबाट पटका, चिनी र खेलौना बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवराज नगरपालिका(१, शिवपुरस्थित कोलनी चोकमा आइतबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा तीन लाख ३१ हजार दुई सय रुपैयाँ मूल्यका बिलबिजक नभएका तयारी कपडा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब प्रहरी उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बस जाँच गर्दा १६८ थान रेडिमेड हुडी र ९९ थान ट्राउजर फेला पारेको थियो । हुडीको अनुमानित मूल्य दुई लाख ५२ हजार र ट्राउजरको ७९ हजार दुई सय रुपैयाँ रहेको छ । सोही बसमा ल्याइँदै गरेको आवश्यक कागजपत्र नभएको लु ५४ प २५५९ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको मूल्य भने बरामद सामानको कुल मूल्यमा समावेश गरिएको छैन ।
त्यसैगरी यशोधरा गाउँपालिका(५, ननवास्थित खेतको कच्ची बाटोबाट भारत हुँदै नेपालतर्फ ल्याई लुकाइछिपाई बेवारिसे अवस्थामा राखिएका एक लाख तीन हजार रुपैयाँ मूल्यका चिनी, पटका र खेलौना प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी मर्यादपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मिनबहादुर देउवाको कमाण्डमा खटिएको गस्ती टोलीले बिहान करिब ७ बजे उक्त सामान फेला पारेको हो । बरामद सामानमा १०० किलो चिनीको मूल्य १० हजार रुपैयाँ, ४६ थान ‘१२ स्टार’ ठूलो पटका ६९ हजार, नौ थान ‘सुप्रिम’ ठूलो पटका नौ हजार, २० प्याकेट फिरफिरे पटका दुई हजार, ६० थान आलु पटका पाँच सय, एक कार्टुन आँधीतुफान पटका नौ हजार र एक बोरा विभिन्न किसिमका खेलौना तीन हजार पाँच सय रुपैयाँ मूल्य बराबरका रहेका छन् ।
दुवै स्थानबाट बरामद सामानको कुल अनुमानित मूल्य चार लाख ३४ हजार दुई सय रुपैयाँ पुगेको छ । यसमा नियन्त्रणमा लिइएको मोटरसाइकलको मूल्य समावेश गरिएको छैन । बरामद सामान आवश्यक कारबाही तथा भन्सारमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यशोधराबाट बरामद गरिएका पटका भने नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।