© 2026
नेपालगञ्ज ।
पश्चिम नेपालका थारु समुदायमा दशैँ केवल टीका र जमराको पर्व होइन । ‘डस्या’ नामले चिनिने यो पर्व कुलदेवताको आराधना, पितृको सम्मान, विशेष परिकार, परम्परागत पूजा र सांस्कृतिक नाचगानसँग जोडिएको छ ।
थारु समुदायले दशैँलाई आफ्नै मौलिक परम्परा र संस्कारअनुसार मनाउने गर्छन् । थारू भाषामा ‘डस्या’ भनिने दशैँ दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि तेस्रो ठूलो पर्व मानिन्छ ।
अन्य समुदायमा दशैँको मुख्य आकर्षण टीका र जमरा भए पनि थारु समुदायमा कुलदेवताको पूजा र पितृको सम्झना विशेष महत्त्वका साथ गरिन्छ । पुर्खाले गर्दै आएको संस्कारलाई निरन्तरता दिँदै उनीहरूले दशैँमा आफ्ना कुलदेवता र दिवंगत परिवारजनको आत्माको शान्तिको कामना गर्छन् ।
कुलदेवता अनुसार फरक पूजा विधि
थारु संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार थारू समुदायमा थर र गोत्रअनुसार कुलदेवता फरक हुने भएकाले पूजा गर्ने विधि पनि एउटै हुँदैन । “मेरो थर ‘भगोरिया’ हो । हाम्रो एउटा देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ,” कोपिला भन्छन् ।
थारु समुदायमा सामान्यतया फूलपातीदेखि नवमीसम्म तीन दिन दशैँ मनाउने चलन छ । फूलपातीका दिनदेखि नै पूजाका लागि आवश्यक सामग्री जुटाउने र घरमा तयारी गर्ने काम सुरु हुन्छ ।
यस दिन घरमूली महिलाले पूजाका परिकार बनाउने तथा आवश्यक सामग्रीको व्यवस्था गर्छन् । पूजामा प्रयोग हुने भाँडाकुँडा नजिकैको जलाशयमा लगेर सफा गर्ने परम्परा पनि छ ।
थारु संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार कुलदेवताको पूजामा बजारमा पाइने अगरबत्तीको सट्टा आफ्नै पुरोहितले बनाएको विशेष धूप प्रयोग गरिन्छ ।
“हामी आफ्ना कुलदेवताको पूजा गर्दा धूप बाल्छौँ, तर आफ्नै पुरोहित ‘देशबन्ध्या गुर्वा’ र ‘घरगुर्वा’ले बनाएको धूप प्रयोग गर्छौँ,” चौधरी भन्छन् ।
थारु गाउँमा स्थापित ‘भूइँह्यार थान’का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्वा’ भनिन्छ । सात प्रकारका फूललाई गुर्वाले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछी विशेष धूप बनाउने परम्परा रहेको चौधरी बताउँछन् ।
“दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँछौँ भने योभन्दा ठूलो सम्मान के हुन सक्छ?” उनी भन्छन् ।
फूलपातीका दिन उक्त धूप ‘घरगुर्वा’बाट ल्याउने चलन छ । धूप लिन जाँदा कोसेली र भेटीसमेत लैजाने गरिन्छ ।
ढिक्री, मादल र बलिसँग जोडिएको अष्टमी–नवमी
महाअष्टमीलाई थारु समुदायले ‘ढिक्रह्वा’ भन्ने गर्छन् । कुलदेवतालाई समुदायको प्रमुख परिकार ढिक्री चढाएर पूजा गरिने भएकाले यस दिनलाई ‘ढिक्रह्वा’ भनिएको एकराज चौधरी बताउँछन् ।
महाअष्टमीको बेलुकीपख ढिक्री, बाबरी फूल र जमराले कुलदेवताको पूजा गरिन्छ । पूजाका क्रममा मादल बजाउने परम्परा पनि छ । मादलको तालसँगै पूजा गरेपछि जमरा लगाउने चलन रहेको चौधरी बताउँछन् ।
थारु समुदायमा कुलदेवतालाई बलि चढाउने परम्परा पनि छ । पछल्डङ्ग्या थरका थारुले अष्टमीको रात भाले, बोका र सुँगुर चढाउने गर्छन् भने अन्य थरका थारुले महानवमीको बिहान बलि दिने चलन रहेको चौधरी बताउँछन् । महानवमीका दिन कुलदेवतालाई कुभिन्डोको बलि दिने चलन पनि छ । कुभिन्डोलाई भेडाको प्रतीक मानेर बलि दिने गरिएको हो ।
‘डेउह्रार कोन्टी’मा पितृको वास
थरु समुदायका घरमा सबैभन्दा पूर्वउत्तरको कोठामा देवताको थान बनाइएको हुन्छ । उक्त कोठालाई ‘डेउह्रार कोन्टी’ भनिन्छ । थरअनुसार त्यहाँ फरक–फरक कुलदेवताको स्थापना गरिएको हुन्छ ।
परिवारका कुनै सदस्यको मृत्यु भएमा अन्तिम संस्कार नहुँदासम्म शव यही कोठामा राख्ने परम्परा छ । यसलाई ‘पाटम बैठिना’ भनिन्छ ।
थारु संस्कृतिका जानकार एकराज चौधरीका अनुसार मृतकलाई देवताकै दर्जा दिएर सम्मान गर्ने परम्परा थारु समुदायमा छ । दशैँमा पाँचदेखि सात पुस्तासम्म र कतिपयले १२ पुस्तासम्मका पितृलाई सम्झेर पूजा गर्ने गर्छन् ।
महानवमीको बिहान पितृको पूजा गर्ने चलनलाई थारु समुदायले ‘पिट्टर डेना’ भन्छन् । थारू इतिहासकार तथा संस्कृति विज्ञ गोपाल दहितका अनुसार टेर्रा र दहित थरबाहेक अधिकांश थारूले नवमीका दिन पितृलाई सम्झेर पूजा गर्ने परम्परा छ ।
दशैँमा नै पितृलाई सम्झिनुपर्ने कुनै विशेष कारण नरहे पनि पुर्खाले चलाउँदै आएको संस्कारलाई निरन्तरता दिइएको दहित बताउँछन् ।
“अन्य समुदायले कुन समय र तिथिमा पितृलाई सम्झिन्छन्, त्यो हामीलाई थाहा भएन । तर हाम्रो आफ्नै रीतिरिवाज र परम्परा छ । त्यसअनुसार हामी वर्षमा एक पटक एकैसाथ दशैँमा पितृपूजा गर्छौँ,” दहित भन्छन् ।
पितृलाई पाँच टपरीमा भोजन, उत्तरतर्फको भात खान निषेध
थारु समुदायमा पितृको सम्मानमा चोखो र मिठो परिकार बनाएर चढाउने चलन छ । दशैँमा विशेष प्रकारको चोखो मदिरा बनाउने परम्परा रहेको एकराज चौधरी बताउँछन् ।
नवमीका दिन पितृलाई माछा, मासको दाल, तोरीलगायतका परिकार र भात अर्पण गरिन्छ । पाँचवटा टपरीमा भात राख्ने र तीन, पाँच वा सात प्रकारका तरकारी दिने चलन छ । धार्मिक मान्यताअनुसार तरकारीमा माछा अनिवार्य हुनुपर्छ ।
पितृलाई भोजन गराउन राखिएका पाँच टपरीमध्ये सबैभन्दा उत्तरतर्फको टपरीमा रहेको भात खान मिल्दैन । उक्त भात पितृका लागि छुट्याइएको मानिन्छ । त्यसमा सिन्का पनि राखिएको हुन्छ, जसलाई पितृले भोजनपछि दाँत कोट्याउन प्रयोग गर्ने विश्वास गरिन्छ ।
पितृको भात खाने क्रममा टपरी यताउति सार्न मिल्दैन । खाइसकेपछि हात त्यही टपरीमा चुठेर भातलाई पातले छोपेर उठ्नुपर्ने परम्परा रहेको चौधरी बताउँछन् ।
पितृलाई भोजन चढाएपछि ‘डेउह्रार कोन्टी’ केही समय सुनसान बनाइन्छ । झ्यालढोका बन्द गरेर कोठा शान्त राख्दा पितृहरू भोजन गर्न आउँछन् भन्ने धार्मिक विश्वास छ ।
त्यसपछि पितृलाई चढाइएको भोजन नजिकको जलाशयमा विसर्जन गरिन्छ । विसर्जनका बेला घरका महिलाहरू गीत गाउँदै जाने, नुहाएर शुद्ध हुने र नाचगान गर्दै फर्कने परम्परा रहेको छ ।
नयाँ धानको चामल र विशेष ढिक्री
दशैँमा थारु समुदायले कुलदेवतालाई नयाँ धानको चामल चढाउने गर्छन् । गुठी संस्थानका पूर्वअध्यक्ष मीनराज थारूका अनुसार बेलको हाँगामा ढिक्री राख्ने परम्परा पनि छ ।
बेलमा फलाएको भनिने उक्त ढिक्री ‘डेउह्रार कोन्टी’मा कुलदेवताको नजिक राखिन्छ । यसलाई थारू भाषामा ‘ढिक्री फरैना’ भनिन्छ ।
कुलदेवताको थानमा रहेको ‘छिट्नी’मा चामलको भण्डार भरेर चढाएपछि मात्र खाने परम्परा अहिले पनि कायम रहेको मीनराज बताउँछन् । देवतालाई चढाउने ढिक्री पनि नयाँ चामलकै बनाइन्छ ।
खानका लागि बनाइने ढिक्री र देवतालाई चढाउने ढिक्रीको आकार फरक हुन्छ । खानका लागि गोलो र लाम्चो ढिक्री बनाइन्छ भने देवतालाई चढाउन विशेष आकारको ढिक्री तयार गरिन्छ ।
बाँकेको राप्ती सोनारीकी बजारी थारुका अनुसार घरमूली महिलाले बिहान नुहाइधुवाइ गरी निराहार व्रत बसेर देवताको पूजाका लागि ढिक्री बनाउने परम्परा छ ।
थारु समुदायमा दशैँको पूजा विधि पूरा नभए सोही वर्ष पुनः पूजा गर्नुपर्ने मान्यता पनि रहेको छ ।
घटस्थापनामा जमरा नराख्ने, दशैँलाई मृत्यु संस्कारसँग जोड्ने परम्परा
थरु संस्कृतिका जानकार छविलाल कोपिलाका अनुसार थारु समुदायले घटस्थापनाका दिन जमरा राख्दैनन् । उक्त दिनलाई ‘मूलक दिन’ अर्थात् पुर्खाहरूले देह त्याग गरेको दिनका रूपमा लिने गरिन्छ । “घटस्थापनाको भोलिपल्ट जमरा राखेपछि थारूहरूको दशैँ सुरु हुन्छ र महानवमीका दिन समाप्त हुन्छ,” कोपिला भन्छन् ।
घटस्थापनादेखि दशैँ नसकिँदासम्म कुलदेवता र पितृको पूजा गर्ने व्यक्तिले शोकमा बसेको बेलाजस्तै कपाल र नङ काट्न नहुने मान्यता छ ।
अष्टमीमा कुलदेवताको पूजा गर्नुअघि नुहाएर सुनपानीले चोख्याउने चलन पनि रहेको कोपिला बताउँछन् । उनका अनुसार काजक्रियामा ‘जिता मार्ने’ चलनसँग जोडेर दशैँमा कुखुरा र सुँगुर पुज्ने परम्परा पनि छ ।
मृतकको आत्माले शान्ति पाओस् र बकुल्लामा सवार भएर सुखपूर्वक स्वर्ग जाओस् भन्ने कामनासहित देवताको थान रहेको ‘डेउह्रार कोन्टी’को पटाहा डेह्रीमा बकुल्लाको छाप बनाउने चलन रहेको उनी बताउँछन् ।
महानवमीका दिन घरको मूल ढोकादेखि देवताको थानसम्म गोबरले लिपेर चामलको पिठोको घेरामा फर्सीको फूल राख्ने परम्परा पनि छ । यसरी पितृलाई स्वागत गरेर पुनः बिदाइ गर्ने चलनले थारु समुदायको दशैँ पुर्खाको सम्झना र शोक संस्कारसँग जोडिएको कोपिलाको भनाइ छ ।
बरघरकहाँ टीका र ‘सख्यानाच’को रौनक
थारु समुदायमा टीका लगाउने चलन पनि छ । महानवमीका दिन बरघरकहाँ टीका लगाउन जाँदा मादल बजाउँदै र थारु समुदायको लोकप्रिय महाकाव्य ‘बर्किमार’का श्लोक गाउँदै जाने परम्परा रहेको बाँकेको राप्ती सोनारीका थारु अगुवा तिलाराम थारु बताउँछन् ।
‘बर्किमार’मा महाभारतको कथा समेटिएको हुन्छ । महानवमीका दिन बरघरसँग टीका लगाइने भएकाले यसलाई ‘गवल्या’ अर्थात् गाउँको टीका पनि भनिन्छ । थारु समुदायले दशैंमा प्राय सेतो टीका लगाउने चलन छ ।
विजयादशमीका दिन ‘देशबन्ध्या गुर्वा’को घरमा गएर टीका थाप्ने चलन पनि छ । त्यस दिन गाउँलेहरु मकै, पात, रक्सी, जमरा र बाबरी फूल लिएर उनको घर पुग्ने गर्छन् ।
दशैँको अर्को आकर्षण ‘सख्यानाच’ हो । थारु महिला तथा किशोरीहरु लहरै लाइन लागेर मादलको तालमा नाच्ने यस नाचमा विशेष प्रकारका थारुगीत गाइन्छ । जानकारहरूका अनुसार गीतहं महाभारतको कथामा आधारित हुन्छन् ।
सख्यानाच कृष्ण जन्माष्टमीदेखि सुरु हुने र दशैँ वा तिहारमा अन्त्य गर्ने परम्परा छ । मादल बजाउने महिला वा पुरुष हुनसक्ने भए पनि नाच्नेहरू भने प्रायः महिला नै हुने गर्छन् । यो नाच हेर्न गैरथारू समुदायका मानिसहरू पनि थारू गाउँ पुग्ने गर्छन् ।
थारू समुदायमा दशैँको महत्त्व विजयादशमीको टीकामा मात्र सीमित छैन । कुलदेवताको पूजा, पितृलाई भोजन अर्पण, नयाँ धानको चामल चढाउने परम्परा, बलि, मादल र सख्यानाचमार्फत उनीहरूले आफ्नो इतिहास, आस्था र पुर्खाको स्मृतिलाई पुस्तौँदेखि जीवन्त राख्दै आएका छन् ।