© 2026
यो बर्षको बडादसैं सकिएको छ । अव तिहारको आगमनसंगै पर्यटक आगमनको सिजन समेत सुरु भएको छ । दसैंको अवसरमा आन्तरिक पर्यटकहरूको चाप पर्यटकीय स्थलहरूमा सुरु भएको छ । केही बर्षयता नेपालमै घुम्ने संस्कृतको विकास भैरहेको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यसमाथि विदेशबाट आउने पर्यटकका कारण नेपालको पर्यटकीय स्थलमा चहलपहलमात्रै होइन, त्यसले आर्थिक अवस्था सुधारमा पनि मद्दत पु¥याउँछ । विभिन्न मुलुकका पर्यटकहरू नेपाल घुम्न आउने क्रम शुरु भएपछि पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने निश्चित छ ।
नेपालको पर्यटन क्षेत्रमा विदेश पर्यटकको योगदान महत्वपूर्ण छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको कूल ग्राहस्थ्य उत्पादनमा करिव १५ प्रतिशतको योगदान विदेशबाट आउने पर्यटकले दिने गरेको छ । विदेशी पर्यटकहरू नेपाल घुम्न आउँदा नेपालको वैदेशिक मुद्रा सञ्चितिमा सुधार देखिने गरेको छ । नेपालको अर्थतन्त्रका लागि यो खुसीको कुरा पनि हो । नेपालको चरम महँगी, बढ्दो ब्यापार घाटा, उद्योग ब्यापारको नाजुक अवस्था लगायतका कारण आर्थिक गतिविधि सुस्त बनिरहेको बेला पर्यटक आगमनमा हुने बृद्धिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ ।
तर, नेपालको अर्थतन्त्रमै टेवा पु¥याउन योगदान दिने पर्यटकहरूलाई भने ठगी गर्नेक्रम रोकिएको छैन, बरु झनै बढ्दो छ । नेपालकै सिमावर्ती क्षेत्र बेलहिया नाकामा पर्यटकलाई विश्वसनीय सूचना बोर्ड नहुँदा विदेशी पर्यटक ठगीमा पर्दै आएका छन् । यो चिन्ताजनक कुरा हो । नेपालमा स्थलमार्गबाट सवैभन्दा धेरै पर्यटक भैरहवा सुनौली क्षेत्रबाट आउने गर्दछन् । यो बिषयमा नेपाल सरकार मौन हुनु दुःखद कुरा हो । सुनौली नाकामा प्रवेश गर्नासाथ दलालहरूले नेपालका पर्यटकीय स्थल घुमाउने नाममा ठगी गर्दछन । जसबाट विदेशी पर्यटकमा नेपालप्रतिको विश्वास घटिरहेको छ ।
उनीहरू बस्ने होटलदेखि यातायात, सामान खरिदारीमा समेत गोरो छाला भएकै आधारमा नेपालमा फरक व्यवहार गर्ने प्रवृत्ति छ । विभेदको यो अवस्थाले नेपालको पर्यटन क्षेत्र उभो लाग्दैन भन्ने हेक्का राख्नु जरुरी छ । सरकारले विदेशी पर्यटक आगमन हुने स्थानमा कहिल्यै अनुगमन गर्दैन । उनीहरूलाई कस्तो व्यवहार गरिएको छ भन्ने समेत सरकारले जान्ने चाहना राख्दैन् । पछिल्लोसमय नेपालका धेरै पर्यटकीय क्षेत्रमा विदेशी मात्र होइनन्, स्वदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ । तर, नेपालकै आन्तरिक पर्यटकलाई समेत ठगी गर्ने गरिएको छ । यसको क्षति सबैले बेहोर्नुपर्नेछ ।
अव समय हुँदै सचेत हुनु जरुरी छ । ‘अतिथि देवो भव’ को नाममा विदेशी भन्ने वित्तिकै शोषण गर्ने काम अव बन्द गर्नैैपर्दछ । अर्कोतर्फ विदेशी पर्यटकहरूको सुरक्षाको चुनौति पनि गंभीर छ । पर्यटकहरू ठगिने, लुटिनेक्रम बढिरहेको छ । पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा नेपालीलाई अझै तालिम नै दिनुपर्ने अवस्था छ । मौका पायो भन्दैमा ढाडै सेक्नेगरी च्याप्ने काम बन्द गरिएन भने अन्ततः त्यो नेपालकै लागि हानीकारक हुने निश्चित छ ।
यही अवस्थाकै कारण एकपटक नेपाल आइसकेका पर्यटक दोस्रोपटक नेपाल घुम्न आउन नै चाहँदैनन् । किनकि हरेक स्थानमा उनीहरूमाथि हुने ठगीबाट उनीहरू आजित भइरहेका हुन्छन् । राम्रो सेवा–सुविधा नदिने तर मूल्य भने चर्को लिने, विदेशबाट आएको नाममा हेपाहा प्रवृत्ति देखाउँदा उनीहरूमा नेपालप्रति मोहभंग भैरहेको छ । अव यो विषयमा पर्यटन सम्बद्ध नीजि तथा सरकारी निकाय गंभीर बन्नु जरुरी छ ।