© 2026
पाल्पा ।
बाढीले धानबालीमा क्षति पु¥याएपछि बाँकी रहेको उत्पादन भिœयाउने तयारीमा रहेका पाल्पाका किसानलाई धानमा लागेको कालोपोके रोगले थप चिन्तित बनाएको छ । जिल्लाका विभिन्न धान उत्पादन हुने क्षेत्रमा विशेषगरी हाइब्रिड जातको धानमा कालोपोके देखिएको किसानले बताएका छन् । पूर्वखोला गाउँपालिकाको पूर्वखोला फाँटका किसान बुद्धिराजा रानाले धान रोपेको एक महिनापछि खपटे किराको प्रकोप झेले ।
औषधी छर्केर किराको नियन्त्रण गर्ने प्रयास गरेका उनले असोजमा आएको बाढीको क्षतिपछि अहिले धानको बालामा कालोपोके देखिएको बताए । धान काटेर भिœयाउने समय नजिकिँदा रोग देखिएपछि उत्पादन घट्ने चिन्ता थपिएको उनको भनाइ छ । यस वर्षको बाढीले जिल्लाका करिब ६० प्रतिशत धानखेत डुबान र कटानमा परेको किसानको भनाइ छ ।
बाँकी बालीमा समेत रोग देखिएपछि उत्पादनमा थप असर पर्ने उनीहरूको चिन्ता छ । जिल्लाको प्रमुख धान उत्पादन क्षेत्र माडी फाँटसँगै पूर्वखोला, कचल, अर्गली, पिपलडाँडा र हुगीँका फाँटमा पनि कालोपोके देखिएको स्थानीयले बताएका छन् ।
माथागढी गाउँपालिका–कसेनीका किसान डिलबहादुर थापामगरका अनुसार पहिले घरमै राखेको स्थानीय बीउ प्रयोग गर्ने चलन थियो । अहिले नयाँ जातका बीउको प्रयोग बढेको र पुराना स्थानीय जात हराउँदै गएको उनी बताउँछन् । नयाँ बीउले कम समयमा बढी उत्पादन दिने अपेक्षा गरिए पनि रोगको जोखिमबारे किसानलाई पर्याप्त जानकारी नहुँदा समस्या बढेको उनको भनाइ छ ।
तानसेन नगरपालिका–अर्गलीका किसान रामप्रसाद न्यौपानेले आफूले लगाएको स्थानीय जातको धानमा यस पटक राते र कालोपोके रोग नदेखिएको बताए । स्थानीय जातको तुलनामा उन्नत जातमा र हाइब्रिड धानमा बढी रोग देखिएको अर्गलीकी विनिता रानाको अनुभव छ । बढी उत्पादनको आशामा महँगो बीउ किनेका किसान अपेक्षित प्रतिफल नपाइने हो कि भन्ने चिन्तामा छन् । माडी फाँटकी किसान बालकुमारी रानाले भारतबाट ल्याइएको बीउ प्रयोग गरेको खेतमा कालोपोके बढी देखिएको बताइन् । तर, बीउकै कारण रोग फैलिएको हो वा अन्य कारणले भन्ने पुष्टि हुन बाँकी छ ।
कृषि ज्ञान केन्द्रकी अमिता पाण्डेका अनुसार यस वर्ष पाल्पामा सात हजार ३९५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । उनले कृषि प्राविधिकले सिफारिस गरेका बीउ प्रयोग गर्न किसानलाई आग्रह गरिन् । उनका अनुसार किसानले आफैँ हाइब्रिड बीउ रोज्ने क्रम बढेको छ ।
स्थानीय बजारमा बिक्री हुने बीउ नेपाल सरकारको सम्बन्धित निकायमा सूचीकृत भए–नभएको यकिन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । किसानले भारतबाट ल्याइएका बीउ प्रयोग गर्ने गरेको बताए पनि ती बीउको वैधानिकता र रोगसँगको सम्बन्धबारे सम्बन्धित निकायबाट थप परीक्षण तथा अनुगमन आवश्यक देखिन्छ ।
बाढीको क्षतिसँगै धानमा देखिएको रोगले किसानको उत्पादन र आम्दानीमा कति असर पार्छ भन्ने यकिन विवरण आउन बाँकी छ ।