Butwal Today

प्रिय रवि, रास्वपा नयाँ कि पुरानैको नयाँ संस्करण ?

१० कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

प्रिय रवि लामिछाने ,
तिमीले पार्टी निर्माण गर्दा धेरै नेपालीले एउटा सपना देखेका थिए– अब देशले मुहार फेर्छ । त्यो सपना केवल तिम्रो व्यक्तिगत लोकप्रियताको सपना थिएन । त्यो वर्षौदेखि पुराना राजनीतिक दल र तिनका नेतृत्वसंगको निराशा हुँदै आएका नागरिकको सपना थियो । राजनीतिमा नयाँ अनुहार चाहने, नयाँ शैली चाहने र पुरानो प्रवृत्तिको विकल्प खाजिरहेका मानिसहरूको आशा थियो । तिमी चितवनको भूमिमा चुनाव लड्दै गर्दा मनमा एक प्रकारको सन्तुष्टी आएकै थियो । १० बर्षको उर्जा समय चितवनमा विताएको मान्छे म बुटवलमा बसेर साथीभाईसंग गफिदै भनेको थिएँ ।

चितवनको माटो र पानी नै फरक छ । त्यहाँका मानिसमा मानवता छ । रवि अवश्य सफल हुन्छन । नभन्दै तिमी सफल पनि भयौ । परिस्थितिले त्यस्तै गरायो, तिमी फेरी मैदानमा होमियौ । मैले फेरि साथीहरूसंग गफिदै भने चितवन फरक छ । हो चितवनले साँच्चै आफूलाई फरक देखायो । तिमीलाई जितायो । फेरि जितायो । तेश्रो पटक पनि तिमीमाथि विश्वास ग¥यो । तर प्रश्न चितवनले तिमीलाई कतिपटक जितायो मात्रै होइन ? प्रश्न यो हो की चितवनले तिमीलाई किन जितायो ? नेपाली जनताले तिमीलाई केवल साँसद बनाउन मत दिएका थिएनन ।

उनीहरूले तिमीभित्र एउटा सम्भावना देखेका थिए । पुरानो राजनीतिक संस्कारसंग रिसाएका जनता तिमीलाई आफ्नो अन्तुष्टिको आवाज बनाएका थिए । पुराना नेताहरूको अकर्मण्यता, अहंकार, भ्रष्टाचार, सत्तामुखी चरित्र र तिनका आसेपासेको दम्भप्रतिको आक्रोशको एउटा ठूलो हिस्सा तिम्रो मतपेटिकामा जम्मा भएको हो ।
तिमीलाई जिताउनु भनेको कतिपयका लागि पुरानो दललाई हराउनु थियो । कतिपयलाई तिमीलाई जिताएर पुराना दललाई सन्देश दिनु थियो र भन्नु थियो जनता सधै एउटै दल बोक्दैनन मत परिर्वतन गर्न पनि जानेका छन । यहि सन्देश दिदै तिमीलाइ जिताए । जनताले केवल तिमीलाई मात्र होइन आफनै आशालाई जिताएका थिए ।

तर प्रिय रवि,

आज त्यही आशाको अगाडी केही गम्भीर प्रश्न उभिएका छन । तिमी नयाँ थियौ कि नयाँ हुने बाचा मात्रै नयाँ थियो ? तिम्रो वरिपरी जम्मा भएका मानिसहरूलाई हेर्दा आज एउटा प्रश्न स्वभाविक रूपमा उठछ । रास्वपा पार्टी साँच्चिकै नयाँ राजनीतिक संस्कारको पार्टी हो कि पुरानो राजनीतिक संस्कार बोकेर आएका मानिसहरूको नयाँ ठेगाना ? राजनीतिमा नयाँ हुनु भनेको नयाँ अनुहार हुनुमात्रै होइन । नयाँ हुन भनेको नयाँ सोच हो । नयाँ हुनु भनेको नयाँ संस्कार हो । नयाँ हुनु भनेको जवाफदेहिता हो । नयाँ हुनु भनेको आलोचना सहन सक्ने क्षमता हुनु हो । नयाँ हुनु भनेको आफुलाई पनि प्रश्न गर्न सक्ने साहस हो ।

तर यदि पुरानो पार्टीमा ठाउँ नपाएको झोकमा, भाग नपाएको झोकमा वा अवसरको खोजिमा मानिसहरूको थुप्रो लाएर नयाँ झण्डामुनि उभिदैमा संगठन त नयाँ देखिन सक्छ तर राजनीतिक संस्कार नयाँ हुन्छ भन्ने ग्यारेन्टी हुदैन । त्यसैले आज प्रश्न तिमीलाई मात्र होइन तिम्रा साँसदहरूलाई पनि हो । साँच्चै नयाँ को हो ? नयाँपनको प्रमाण के हो ? नयाँ हुनु भनेको अरूलाई पुराना भन्नु मात्रै हो त ? अनि अर्को कुरा तिम्रा साँसदहरू संसदमा उभिएर पटक पटक प्रश्न गरेको सुनिन्छ । ३५ बर्षमा के भयो ? प्रश्न गर्न पाईन्छ । प्रश्न गर्नुपर्छ । तर प्रश्न गर्ने जवाफ नसुन्ने चाहि गर्नु हुदैन । जवाफ पनि सुन्नु सक्नुपर्छ । ३५ बर्षमा नेपालमा सबैभन्दा राम्रो भयो भन्ने होइन । धेरै गर्न सकिन्थ्यो गरिएन । धेरै कमजोरी भए ।

भ्रष्टाचार भयो, राजनितिक अस्थिरता भयो, सत्ता र शक्तिको दुरूपयोग गरियो । जनताको अपेक्षा अनुसार विकास हुन सकेन । धेरै सपना अधुरा रहे । तर के साँच्चै केही नभएको हो त ? होइन, भएका छन । आज तिमी संसदमा उभिएर बोल्न पाएका छौ । नागरिकले सरकारको आलोचना गर्न पाएका छन । एउटा सामान्य नागरिक देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, साँसदलाई प्रश्न गर्न पाएका छन । आज दलितले आफ्नो आवाज र अधिकार माग गर्न पाएका छन, अधिकार लिन सक्षम भएका छन । आदिवासी जनजातिले राज्य संचालनमा आफ्नो प्रतिनिधित्वको सवाल उठाउन पाएका छन । महिलाले आफ्नो प्रतिनिधित्व समान सहभागिताको प्रश्नलाई राजनीतिक बहसको केन्द्रमा समावेश गराउन सफल भएका छन ।

हिजोका धेरै सामाजिक कुरीति र विभेदकारी अभ्यासमाथि प्रश्न उठेका छन् । बहुदलीय व्यवस्था, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन अधिकार यी सबै कुरालाई सामान्य ठान्नु इतिहास लाई बिर्सनु हो । हो यी अधिकारहरू अझै पूर्णरूपमा सुरक्षित र पर्याप्त छैनन ्। तर, आज तिमीले नयाँ दल खोल्न पाएका छौ । तिमीले सरकारलाई प्रश्न गर्न पाएका छौ । तिम्रा साँसदहरूले संसदमा भाषण गर्न पाएका छन्। पत्रकारहरूले तिमीलाई प्रश्न गर्न पाएका छन् । नागरिकले तिमीलाई साामजिक सञ्जालमा गाली गर्न र प्रंससा गर्न पाएका छन् ।

यो सबै शुन्यबाट आएको होइन् । यो एक्कसी पानी बर्से जस्तो बर्सेको होइन । यसका लागि पनि धेरै रगत पसिना बगाउनु परेको थियो । त्यसैले इतिहासलाई गाली गरेर भविष्य निर्माण हुदैन । इतिहासका कमजोरी सच्याउनु पर्छ । तर, इतिहासको योगदान मेटाउन खोज्नु मुर्खता हुने छ ।
प्रिय रवि,

तिम्रा सासंदले ३५ बर्षको हिसाव माग गर्दै गर्दा ३५ बर्षको उपलब्धि पढ्न विर्सेकै रहेछन् । ३५ बर्ष के भयो ? भन्ने प्रश्न सुन्दा कहिलेकाहीँ लाग्छ कतै इतिहासलाई एकै रंगमा रंगाउन त खोजिरहेका छैनौ ? हो त्यो ३५ बर्षमा भएका सबै कुरा राम्रा भएका थिएनन् । तर, सवै नराम्रा पनि त थिएनन् । नेपाल बदलिएको छ । समाज बदलिएको छ । नागरिकको चेतना बदलिएको छ । प्रविधिले जीवनशैली बदलिदिएको छ । सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, उर्जा, सूचना प्रविधि, सामाजिक समाबेशिता सहित हरेक क्षेत्रमा विकासको गति र प्रकृति सबै सबै बदलिएको छ ।

तर, भौतिक विकासभन्दा पनि ठूलो परिवर्तन नागरिकको चेतनामा भएको छ । हिजो राज्यसामु टाउको निहँुराउने नागरिक आज राज्यलाई प्रश्न गर्ने ल्याकत राख्छ । हिजो शासकलाई देउता ठान्ने समाज आज सेवक हौ भन्दै हिसाव माग्छ । हिजो महिलाका आवाज घर घरमै दवाइन्थ्यो, आज महिला गर्जनसहित राज्यको नेतृत्व समाल्न सक्ने आँट सहित नेतृत्वको दावी गर्छिन । हिजो दलितले भोगेको विभेद चलिआएको परम्परा भनेर टारिन्थ्यो, आज त्यसविरुद्ध कानुनी र राजनीतिक दायरामा ल्याईएको छ ।
हो त्यो पूर्ण छैन ,तर केही परिवर्तन भएन भनेर भएको परिवर्तन लाई नजर अन्दाज गर्नु पक्कै पनि न्याय होइन ।
प्रिय रवि, अव तिम्रा साँसदलाई एउटा प्रश्न गर्न मन छ ।
तिम्रा साँसदहरू आ आफ्नो सीप दक्षता अनुसार असाध्यै राम्रो काम गरिरहेका होलान् । कोही डाक्टर छन् । कोही किसान ।

कोही सुरक्षा क्षेत्रबाट आएका छन । कोही सञ्चार । कोही व्यवसायी छन त कोही वकिल भने केही अभियन्ता त केही ठेकदार । सबैको आ आफनै अनुभव छ । तर सम्झनु पर्ने कुरा साँसद आफ्नो पेशाको प्रचार गर्न संसदमा पुगेको पक्कै होइन ।
डाक्टर हुनु राम्रो कुरा हो , जस्ले साँसद भए पछि स्वास्थ्य नीतिमा काम गरोस् । किसान हुनु राम्रो कुरा हो, उसले साँसद भए पछि कृषि नीतिमा काम गरोस् । वकिल हुनु राम्रो कुरा हो, उसले कानुन निर्माणका विषयमा काम गरोस् ।

पत्रकार हुनु राम्रो कुरा हो , साँसद भए पछि राज्य सञ्चालनका प्रश्नमा जिम्मेवार विधायिकाको भूमिका निर्वाह गरोस् । पूर्व सुरक्षाकर्मी हुनु राम्रो कुरा हो, साँसद भएपछि सुरक्षा संगठन चलाउने होइन, सुरक्षा नीति सम्बन्धी काम गरोस् । संसद कुनै व्यक्तिगत सीप प्रर्दशन गर्ने मञ्च होइन् । संसद जनताको सार्वभौम अधिकार प्रयोग गर्ने ठाउँ हो । त्यहाँ भाषण भन्दा ठूलो कुरा विधि विधान, ए्ेन, कानुन निर्माण गर्ने हो । जनताका आवाज गुन्जाउने ठाउँ हो । त्यहाँ नारा होइन नीति बोल्नुपर्छ । त्यहाँ भाइरल बन्ने होइन अविरल बग्नुुपर्छ । जस्ले परिणाम दिन सक्नुपर्छ ।

प्रिय रवि , तिमीलाई एउटा सुझाव छ । यदि तिम्रा साँसद आफ्नो पेशा सीप दक्षता प्रदशर््ान गर्न नै संसदमा पुगेका हुन भने आउ एउटा नयाँ प्रयोग गरौं । तिम्रा डाक्टर साँसदबाट रास्वपा अस्पताल, क्लिनिक चलाऔं, किसान साँसदबाट रास्वपा कृषि फार्म चलाऔं, आर्मी प्रहरी पृष्ठभूमिका साँसदबाट रास्वपा सुरक्षा यूनिट बनाऔं । सञ्चार क्षेत्रबाट आएका साँसदबाट रास्वपा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन चलाऔं, सहकारी क्षेत्रबाट आएका साँसदबाट रास्वपा सहकारी चलाऔं । ठेक्कापट्टा अनुभव भएकाबाट रास्वपा ठेक्का कम्पनी चलाऔं, वकिल अनुभव भएकाबाट रास्वपा अदालत चलाऔ, शिक्षकको अनुभव भएकाबाट रास्वपा विद्यालय चलाऔं । जस्को जे अनुभव छ तिनीहरूबाट त्यही क्षेत्रको विस्तार गरौं ।

संघीय संसदमा भएका १८२ सांसदलाइ त्यही अनुसार जिम्मेवारी देउ । किन चाहियो अन्य सरोकारबाला ? किन चाहियो नागरिक समाज ? किन चाहियो लोकतन्त्र ? त्यसपछि त आलोचकहरू सवैको मुख बन्द भै हाल्छ । सायद तिम्रा साँसद, मन्त्रीले चाहेको पनि यहि नै होला । तर प्रिय रवि, त्यसरी देश चल्दैन । लोकतन्त्र त्यसरी चल्दैन, राज्य त्यसरी चल्दैन । सांसदमा सीप होइन, संवैधानिक जिम्मेवारी चाहिन्छ । साँसद हुनु जागिर होइन । साँसद हुनु व्यक्तिगत प्रतिष्ठाको प्रमाणपत्र होइन । साँसद हुनु सामाजिक सञ्जालको लोकप्रिय हुने लाइसेन्स होइन। साँसद हुनु जनताको प्रतिनिधि हुनु हो । जनताले आफ्नो आवाज बोल्न संसदमा पठाएका हुन । त्यसैले साँसदले संसदमा आफ्नो आवाज होइन, जनताको आवाज लिएर जानुपर्छ ।

आफ्नो पेशा छाडेर राजनीति रोज्नुको अर्थ आफ्नो पुरानो सीपलाई त्याग्नु होइन तर आफ्नो नयाँ जिम्मेवारीलाई बुझ्नु हो । एउटा सांसदको त्यो जिम्मेवारी भनेको कानुन बनाउने हो । सरकारलाई जवाफदेही बनाउने हो । बजेटमाथि बहस गर्ने हो । जनताको समस्या सदनमा उठाउने हो । नीति निर्माण गर्ने हो । गलत कामको विरोध गर्ने, राम्रो कामको समर्थन गर्ने हो । सवैभन्दा महत्वपूर्ण कुरा सत्ता आफूले चलाउदा पनि नागरिकको स्वतन्त्रताको रक्षा गर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?